- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बागलुङ । बलेवा कालभैरवको प्रचारप्रसार र प्रवर्द्धनका लागि हरेलो मेला लाग्ने भएको छ । पहिलो पटक बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका-१२ अमलाचौरस्थित भैरवको मन्दिर परिसरमा भदौको पहिलो मङ्गलबार हरेलो मेला लाग्ने भएको हो ।
हरेलो मेला व्यवस्थापनका लागि स्थानीयको भेलाले राजु हमालको अध्यक्षतामा हरेलो मेला व्यवस्थापन समिति गठन गरेको छ । बलेवा क्षेत्रमा पर्ने छ वडाका सर्वसाधारणको भेलामा उपस्थिति थियो । आउँदो भदौ ६ र ७ गते मेला गर्ने तय भएको समितिका अध्यक्ष हमालले बताए ।
“पहिलो पटक हामीले मेला आयोजना गर्दैछौँ । यसअघि भदौ पहिलो साता भैरवस्थानमा परम्परागत पूजाआजा मात्रै हुने गरेको थियो”, उनले भने । मेलामा भजन प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, तीज गीत प्रतियोगिता र विभिन्न झाँकी तथा कलाकारको प्रस्तुति रहने अध्यक्ष हमालले बताए ।
मेला व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको छ । “यो ऐतिहासिक मेला हो, हरेलो मेलालले भैरवस्थानको प्रचार-प्रसार र धार्मिक पर्यटन विकासमा ठूलो अर्थ राख्ने छ”, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भने, “मेलालाई निरन्तरता दिनुपर्छ ।”
मेला व्यवस्थापनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको छ । भैरवस्थान मन्दिर हरेक मङ्गलबार र शनिबारमात्रै खुल्छ । बाइसे-चौबीसे राजाका पालादेखि बलेवा कोटअन्तर्गतका सबै क्षेत्रमा भदौको पहिलो मङ्गलबार हरेलो पर्व मनाउने चलन छ । खेतीपाती सकेपछि कीरा-फट्याङ्ग्रा र बाढीपहिरो नलागोस् भनेर यो पर्व मनाउने चलन रहेको बलेवा, पैँयुपाटाका भवानीप्रसाद रिजालले बताए ।
यो पर्वकाअवसरमा कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । दशैँको नवमीको दिन पनि कालभैरवमा भीड लाग्ने गरेको बागलुङ-१२ अमलाचौरका वडाध्यक्ष कोपिलामणि शर्माले बताए ।
बलेवा कालभैरव साविकको पश्चिमाञ्चलकै प्रसिद्ध तीर्थस्थल हो । कालभैरवलाई पशुबलिसँगै नरिवल र फलफूल चढाउने चलन छ । कालभैरवमा बलि दिँदा घरपरिवारको दुःख नाश हुने र सुखशान्ति प्राप्त हुने विश्वासले आउने गरेको म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरकी नानु बुढाथोकीले बताए । पछिल्लो समय पशुबलिको तुलनामा फलफूल चढाउने संस्कृति विकास हुँदै गएको छ। पशुबलि दिने चलन पनि अन्त्य भइनसकेको स्थानीय नन्दप्रसाद घिमिरेले बताए ।
कालभैरवमा पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, नवलपुर, कास्की, तनहुँ, लमजुङ, गुल्मी, प्यूठान, अर्घाखाँची, काठमाडौँ, चितवनलगायत जिल्लाबाट दर्शनार्थी आउने गरेका छन् ।