arrow

रोजगारीको कालोदिनः सरकारले वास्ता नगरेपनि व्यवसाय बन्द नगरी बसेका छौं – प्रज्ञान न्यौपाने

logo
प्रकाशित २०७३ भदौ १६ बिहिबार
pragyan-neupane.jpeg
काठमाडौं । रोजगारीका लागि र्इराक पुगेका १२ जना नेपालीको विभत्स हत्या भएको १२ बर्ष पुगेको छ । २०६१ साल भदौ १६ गते ईराकमा भएको हत्याकाण्डपछि आक्रोशित नेपाली र मृतकका आफन्तले राजधानी काठमाडौंमा रहेका मेनपावरमा आक्रमण गरेका थिए । र्इराकमा काम गर्न पुगेका १२ नेपालीलाई सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले विभत्स हत्या गरेको थियो । सोही घटना पछि नेपाल सरकारले र्इराक जान प्रतिवन्ध लगाएको थियो । 
 
भदौ १६ गते ठूलो क्षति भएको भन्दै रोजगार व्यवासायीले निरन्तर १० वर्षसम्म कालो दिवसकै रुपमा मनाउँदै आए । तर दुई वर्षदेखि भने कालोदिवसलाई हटाएर व्यवसायीले व्यवसाय चलाइहेका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष प्रज्ञान न्यौपानेले सरकारले १० वर्षसम्म पनि कुनै चासो नदिएपछि अब व्यवसाय बन्द गरेर हुँदैन भन्दै खोलिरहेको बताए । उनले ०६१ सालको घटनालाई राजनीतिक अस्थिरतासंगै आवेगको परिणाम भन्छन् । राज्यले भने सो समयमा सुरक्षा दिन नसकेकामा दुःख लागेको उनी बताउँछन् । 
 
के भएको थियो त त्यो बेला ? 
 
प्रज्ञान न्यौपाने त्यतिबेला नेपाल वैदेशिक राजगार व्यवसायी संघको केन्द्रीय सदस्य थिए । उनी सम्झन्छन्, ‘१५ गते राति बीबीसीले ईराकमा रहेका १२ नेपालीको विभत्स हत्या भएको जनायो । १६ गते बिहान काठमाडौंमा हल्लीखल्ली भयो । हामी कुनै अप्रिय घटना हुन्छ कि भन्नेमा सचेत भयौं ।’ न्यौपानेले हाम्राकुरासंग अगाडि भन्छन्, ‘तत्कालीन श्रम मन्त्री रघुजी पन्तलाई भेट्न गयौ । हुनसक्ने खतराबारे औल्यायौं । उहाँले हामीलाई तपाईहरु गएर व्यवसाय खोल्नुस् म सुरक्षा दिन्छु भन्नुभयो ।’ 
 
उनी अगाडि भन्छन्, ‘राज्यले हामीलाई सुरक्षा हैन धोका दियो ।’ सुरक्षा दिन नसकेको भन्दै न्यौपाने सरकारप्रति अहिले पनि रुष्ट छन् । १०–११ बजेतिर २–४ ठाउँमा तोडफोड भयो । न्यौपाने अगाडि थप्छन्, ‘अब स्थिति गम्भीर भयो भनेर हामीले कार्यालय बन्द गरेर एकीकृत हुने सोच बनायौं । तर सम्भव भएन सर्वसाधारण त म्यानपावर कम्पनीको खोज्दै हिंडे ।’ 
 
न्यौपाने सम्झन्छन्, ‘३ बजे सरकारले कफ्र्यू नै लगायो । ४ बजेसम्म तोडफोड चल्यो । कुनै पनि मेनपावर कम्पनीहरु बचेनन् । ६ सयको हाराहारीमा मेनपावर थिए । २ अर्व रुपैयाँ बराबरको क्षति भयो ।’ न्यौपाने भन्छन्, ‘बाथरुमको कोमोडसमेत पनि छाडेनन् तोडफोड गरे ।’
 
यतिठूलो क्षति हुँदा पनि पीडितले न्याय पाएनन् । न्यौपाने भन्छन्, ‘त्यतिबेला मेनपावर तोडफोड गरेर सामान लुटियो, पैसा लुटियो ।’ छानबिन गरी क्षतिपूर्ति दिने कुरा पनि भएको थियो । तर केही भएन । न्यौपाने थप्छन्, ‘पूर्व न्यायाधीश टोपबहादुर सिंहको नेतृत्वमा छानबिन समिति पनि बन्यो । त्यो समितिले प्रतिवेदन बाहिर सार्वजनिक गरेन । त्यत्तिकै तुहियो ।’
 
राज्यले अहिलेसम्म पनि मेनपावर कम्पनीलाई सम्मान गर्न नसकेको न्यौपानेको गुनासो छ । ‘विदेशमा राम्रो काममा पठाउने काम मेनवापरको भए पनि ज्यानको ग्यारेन्टी हुने गरी कसरी यहाँ बसेर सक्छ ?,’ न्यौपाने भन्छन्, ‘आतंककारीले कहाँ कसलाई सिध्याउँछ त्यत्रो जिम्मा कसरी लिनु ?’ 
 
अहिले ७५६ मेनपावर कम्पनी छन् । न्यौपाने भन्छन्, ‘असुरक्षित हुने देखेरै ३५० को संख्यामा मेनपावर कम्पनी बन्द भइसकेका छन् । केही कार्वाहीमा परेर त केही भने घाटाको काम भन्दै बन्द भएका छन् । लोकतान्त्रिक फोरमका अध्यक्ष न्यौपानेले राज्यले अहिलेसम्म मेनपावरलाई हेर्ने दृष्टिकोण राम्रो नभएको बताए । सोही दिन आक्रमणमा परेको स्पेश टाइम दैनिक सदाका लागि बन्द भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ