arrow

शेखर र रामचन्द्रको सिफारिसमा दुई साझा नाम, संयोग वा सल्लाह  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३१ मंगलबार
shekhar-ramchandra-2079.jpg

काठमाडौं । आफू सभापतिमा दोस्रो पटक निर्वाचित भएको नौ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका छन् । 

देउवाले अझै पनि केन्द्रीय कार्यसमितिलाई पूर्णता भने दिएका छैनन् । यसपालि देउवाले १० जना महिला नेतृहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

देउवाले मंगलबार मनोनयन गरेकामा चार जना आफ्नो पक्षका पारेका छन् । त्यस्तै डा. शेखर कोइराला पक्ष र रामचन्द्र पौडेल पक्षका दुई तथा कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा र प्रकाशमान सिंहले सिफारिस गरेका एक एक जना परेका छन् । 

जसमा किरण यादव (महोत्तरी) – शेखर कोइराला/रामचन्द्र पौडेल, राधा घले (काठमाडौं) – शेरबहादुर देउवा, धना खतिवडा (ललितपुर) – कृष्णप्रसाद सिटौला, उर्मिला थपलिया (धादिङ) – डा. शशांक कोइराला, रुक्मिणी कोइराला (मोरङ) – डा.शेखर कोइराला/रामचन्द्र पौडेल, कल्याणी रिजाल (काठमाडौं) – प्रकाशमान सिंह, गोमा भट्टराई (झापा) – विश्वप्रकाश शर्मा, गंगा शाही (रुपन्देही)– शेरबहादुर देउवा, लक्ष्मी खतिवडा (सुनसरी) – शेरबहादुर देउवा र सीता देवकोटा (नवलपुर) – शेरबहादुर देउवा समूहकी रहेकी छिन् । 

देउवाले दलभित्रका सबै पक्षलाई समेट्न खोजेको देखिएको छ । अहिले आएर केन्द्रीय सदस्यमा चुनावको मुखमा सबैलाई समेट्न खोजेको सन्देश दिन खोजे पनि भ्रातृ संस्थामा एकलौटी गरेपछि देउवामाथि आलोचना भएको थियो । 

त्यसपछि उनले कार्यसम्पादन समितिको बैठकमा यो निर्णय गर्ने थाहा पाएसँगै महामन्त्री गगनकुमार थापा बैठकमै गएनन् । त्यसको भोलिपल्ट देउवाले इतर पक्षलाई पनि साथमा लगेको देखाउन डा. शेखर कोइरालालाई भेट्न बालुवाटारमा बोलाएका थिए । 

चुनावको बेलामा असन्तुष्टमात्र पोखेर भन्दा सहमतिमै अगाडि बढ्नुपर्छ भन्ने बुद्धिमत्ता देखाउँदै कोइरालाले देउवालाई गठबन्धन भन्दा कांग्रेसलाई एकीकृत गर्न सुझाव दिएका थिए । 

त्यसपछि देउवाले केन्द्रीय सदस्यमा आठ जना महिलालाई मनोनित गर्ने भन्दै नेताहरुसँग नाम मागेका थिए । उनले शेखरसँग तीन जनाको नाम मागेका थिए । त्यस्तै रामचन्द्र पौडेलसँग पनि नाम मागेका थिए । सिटौला, सिंह र डा. शशांकसँग पनि एक एक जनाको नाम मागे । 

देउवाले आठ जनाको मनोनयन गर्ने भने पनि १० जनालाई मनोनित गर्न सफल भए । उनले आफू पक्षका पाँच जना राखे । 

सिटौला, डा. शशांक र प्रकाशमानले सिफारिस गरेका सबै परे । उनले शेखरसँग ३ जनाको नाम मागे पनि दुई जनालाई मात्र मनोनित गरे । उनले सिफारिस गरेकी रत्ना शेरचनलाई भने देउवाले मनोनित गरेनन् । 

त्यस्तै रामचन्द्र पौडेलले पनि तीन जनाको नाम दिए । जसमा कमला पन्त भने मनोनित भइनन् । पौडेलले आफूले गर्नुपर्ने सिफारिसमा पूर्व मन्त्रीसमेत रहेकी पन्तलाई सिफारिस गर्दै आएका छन् । पन्तलाई उनले नै राष्ट्रिय सभाका लागि सिफारिस गरेसँगै अहिले राष्ट्रिय सभा सांसद छिन् । 

मनोनयनमा परेका किरण यादव र रुक्मिणी कोइरालाको नाम शेखर कोइराला र रामचन्द्र पौडेल दुवैले सिफारिस गरेका नाम हुन् । 

देउवाले बाठो भएर दुवै जनालाई सन्तुलनमा राख्ने गरी दुई साझा नाम मनोनित गरे । यदि दुईमध्ये एक नेताले फरक नाम दिएका भए देउवाले आफ्नो पक्षका दुई नाम हटाउनु पर्ने थियो । तर पौडेल र कोइरालाले दिएका दुई नाम जुधेसँगै देउवाले त्यसको भरपूर फाइदा लिए । 

अब प्रश्न यहाँनेर आउँछ कि कोइराला र पौडेलले दिएका दुई साझा नाम संयोगले मिल्न गएको हो वा सल्लाहले । 

यही प्रश्न यतिबेला कांग्रेसभित्र चर्चाको विषय बनेको छ । गत मंसिरमा सम्पन्न पार्टीको १४ औं महाधिवेशनमा शेखर कोइराला र रामचन्द्र पौडेल एकै खेमाका थिए । तर अचानक पौडेलले आफू सभापतिको उम्मेदवार बन्न नपाएपछि एकाएक मौन बसे । 

तर डा. शेखरले अडान लिएर सभापतिको उम्मेदवार बने । एउटै खेमाका भएका प्रकाशमान सिंह पनि उम्मेदवार बने । तर दोस्रो चरणमा प्रकाशमानले शेरबहादुर देउवालाई साथ दिए । बलियो प्रतिस्पर्धी बनेर डा. शेखर पराजित भए । 

त्यसयता पौडेल कुनै समूहमा नभइ शेरबहादुर देउवाकै सल्लाहमा चलेको बुझिन्छ । उनले पनि फाट्फुट भाग पाउने गरेका छन् । 

स्थानीय तहको निर्वाचनका लागि उनलाई देउवाले पाँच दलीय गठबन्धनको कार्यदलको संयोजक बनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ