arrow

सम्पादकीयः मार्क्सवादीलाई मार्क्सवाद पढाउने एक समाजवादी चिन्तक गिरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
pradip-giri-died-2079-05-04.jpg

नेपाली राजनीतिका एक समाजवादी चिन्तक प्रदीप गिरी हामीमाझ रहेनन् । घाँटीको क्यान्सरसँग लामो समयदेखि जुधिरहेका गिरीले अन्ततः शनिबार राति ७७ वर्षको उमेरमा प्राण त्यागेका हुन् । २००२ सालमा सिराहाको बस्तीपुरमा जन्मिएका गिरीले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । 

उनले आफ्नो अध्ययनबाट सिकेको ज्ञान नेपाली राजनीतिलाई दिएका छन् । अध्ययनशील र समाजवादी चिन्तक गिरीले बौद्धिक नेताको छवि बनाए । नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाका सहयात्रीसमेत रहेका गिरी वीपीकै संगतबाट अध्ययनशील भएका हुन् । 

उनी चार पटक सांसद भए । उनलाई मन्त्री हुने इच्छा कहिल्यै जागेन । अध्ययन, अनुसन्धान र लेखनमा रुची राख्ने उनले एक दर्जनभन्दा बढी पुस्तक लेखका छन् । समाजवादी चिन्तक भएर पनि उनले लेनिनको जीवनी, मार्क्सवाद लगायत पुस्तक लेखे । अर्थात् नेपाली राजनीतिका मार्क्सवादी भन्नेहरुलाई उनले मार्क्सवाद सिकाए ।

उनी नेपाली राजनीतिका एक विश्वविद्यालय नै हुन् । उनले आफ्नो विश्वविद्यालयमा समाजवाददेखि मार्क्सवाद, अर्थशास्त्र, चिन्तन सबै पढाउँथे । गान्धीवादी नेता गिरी तर्कको राजनीति गर्थे । त्यसैले त कहिल्यै भड्किलो भाषण गरेनन् । गलतलाई गलत र सहीलाई सही भन्ने हिम्मत उनमा थियो । 

उनी त्यस्ता सांसद हुन् जसले आफ्नै पार्टीको सरकार हुँदासमेत संसदबाट गलत कार्यको तीखो आलोचना गर्थे । उनले संसदमा जहिले पनि प्रतिपक्षकै भूमिका खेले । उनको विचार अकाट्य हुन्थ्यो । किनकि उनी गहन अध्ययन र अनुसन्धान बिना बोल्दैनथे । उनी सधै युवाहरुकै केन्द्रबिन्दुमा रहे । उनी युवाहरुका प्राध्यापक भए । समाजमा घुमेर समाजशास्त्रको अध्ययन गर्नु अनि मार्क्सवाद आत्मसात् गरेर नेपालका थुप्रै मार्क्सवादीहरूलाई मार्क्सवाद पढाउनु कम्ती चुनौतीको विषय थिएन । त्यसैले त उनी राजनीति गर्ने सबैका लागि प्रिय थिए । 

लोभ र मोहबाट टाढा रहेका कारण उनको जीवन अव्यवस्थित भएको भन्नेहरु पनि छन् । तर जसलाई जीवनमा ठूलो आकांक्षा छैन र भिन्न देखिएरै बाँच्न चाहन्छ उसको जीवन यस्तै हुन्छ । एक दार्शनिकले आफू स्वतन्त्र भएर बाँचेको हेर्छ । बस् गिरीले त्यही छाप छाडेर गएका छन् । 

नेपाली राजनीतिमा निष्पक्ष र निष्कलंक भएर बाहिरिन गार्हो छ । तर गिरीले आफ्नो आत्मसम्मानलाई कहिल्यै झुक्न दिएनन् । उनी निष्पक्ष र निष्कलंक रहे । विवादमा परेनन् । उनको विचार र बाटो मन नपराउनेले उठाउने औंला र गलत प्रवृत्ति फरक हुन् । उनले चालेको यात्रा सधै स्पष्टै थियो । कुनै दाग थिएन । 

जसरी वीपी कोइराला ज्यानको बाजी राखेर मेलमिलापको नीति लिएर नेपाल फर्कदै सबैलाई एक भएर अगाडि बढ्न प्रेरित गरे त्यसरी नै गिरी वीपीपछिका समाजवादी र बौद्धिक व्यक्तित्वका रुपमा चिनिन्छन् । उनी राजनीतिका महान चिन्तक र दार्शनिक हुन् । सिङ्गो विश्वविद्यालय हुन् । उनको शरीर हामीमाझ छैन । तर उनका विचार सधै जीवित रहने छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ