arrow

एमालेले माओवादीलाई ललिपप देखायो, गठबन्धनभित्र खटपट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
oli-prachanda6.jpg
तस्बिर– फाइल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नेकपा माओवादी केन्द्रलाई फेरि लिपप देखाएको छ । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदै गर्दा पार्टीले जित्ने सम्भावना कमजोर भएपछि एमालेले फेरि एकपटक माओवादीसँग चुनावी एकता गर्न चाहेको हो ।

२०७४ सालमा भएको चुनावी एकता र त्यसपछिको पार्टी एकताका कारण ठूलो झड्का बेहोरेको माओवादीलाई फेरि एकपटक ललिपप देखाएर एमालेले फकाउन खोजेको हो । 

सत्ताधारी पाँच दलीय गठबन्धनले प्रतिनिधि सभाको निर्वाचनमा पनि गठबन्धन गर्ने भएपछि आफ्नो अस्तित्व नै समाप्त हुने चिन्तामा परेको एमालेले गठबन्धनलाई जसरी पनि फुटाउने रणनीति लिएको पाइएको छ । 

एमालेले आन्तरिक रुपमा गरेको आसन्न निर्वाचन सर्वेक्षणमा स्थिति नाजुक पाइएपछि पार्टीले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सँगसँगै लिएर अगाडि बढ्ने योजना बनाएको हो । 

एमालेको मंगलबारदेखि शुरु भएको तीन तहको बैठकको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले आ–आफ्नो क्षेत्रको स्थानीय तहको सर्वेक्षण सार्वजनिक गर्न लागेको एमाले स्रोतले बताएको छ । 

उक्त सर्वेक्षणमा एमालेले एक्लै चुनाव लड्ने हो भने देशभर जम्मा १० देखि १५ सिटमात्र जित्न सक्ने आँकलन भएपछि एमालेको सात्तो गएको हो । त्यसपछि जसरी पनि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई समेटेर जाने रणनीति एमालेले लिएको हो । 

स्रोतका अनुसार एमालेले माओवादीलाई ४५ र समाजवादीलाई ५ प्रतिशितसम्म सिटमा टिकट बाँडफाँट गर्न लचिलो भएको बताइन्छ । स्रोत भन्छ, ‘माहोल हाम्रो पक्षमा देखिएन । २०७४ को मोडलमा अगाडि बढ्न खोजिरहेका छौं । बराबरी सिटसम्म दिन मिल्ने अवस्था आयो ।’

२०७४ सालको निर्वाचनमा ६०–४० को बाँडफाँट भएको थियो । एमाले र माओवादीको बहुमत आएको थियो । पहिलो पटक कम्युनिष्ट पार्टीले बहुमत ल्याएर पाँच वर्षे सरकार चलाउने म्यान्डेट पाएको थियो । तर नेताहरुकै अहम्का कारण उक्त एमाले र माओवादीको मिलनपछि बनेको नेकपा सरकार तीन वर्ष मात्रै टिकेको थियो ।   

यसपटक स्थिति दयनीय भएपछि एमालेले कुनै पनि हालतमा माओवादीलाई राजी गराउन खोजिरहेको हो । त्यसका लागि पहिले सत्ताधारी गठबन्धन फुटाउन एमाले प्रयासरत रहेको छ । गठबन्धन फुटाएर माओवादीलाई जोड्नका लागि एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पहल थालेका हुन् । 

यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली पछाडिका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्धय सुवासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल लगायतका नेताहरु सक्रिय भएका हुन् । 

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले तत्काल कुनै अर्को गठबन्धनको चर्चा नचलेको बताए । उनले सत्ताधारी गठबन्धन नै अहिले चलिरहेको बताए । उनले भने, ‘अर्को विकल्प नहुन्जेल यही गठबन्धन चलिरहन्छ ।’

उनको यो भनाइले पनि एमालेसँग चुनावी गठबन्धनको पहल भइरहेको आँकलन गर्न सकिन्छ । यद्यपि नेता गुरुङले एमालेसँग अहिलेसम्म पहलबारे छलफल नभएको बताए । उनले भने, ‘म कहाँ त यस्तो कुरा आएको छैन । जानकारी छैन ।’

सत्ताधारी गठबन्धनमा खटपट
सत्ताधारी गठबनधनले अहिलेसम्म प्रतिनिधि सभा निर्वाचनमा सिटको बाँडफाँटको टुङ्गो लगाउन सकेको छैन । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित कार्यदललाई सिट बाँडफाँटको म्यान्डेट दिइएको छ । 

तर पटक पटकको छलफलपछि पनि कुनै सहमति बन्न सकेको छैन । माओवादी र नेकपा एसबाट अनपेक्षित दाबी आएपछि सहमति बन्न नसकेको हो । कार्यदलका एक सदस्यका अनुसार माओवादी र नेकपा एसबाट दाबी ठूलो ठूलो आएपछि कार्यदलले टुंगो लगाउन नसक्ने स्थिति आएको हो । 

कार्यदलको बैठक पटक पटक बसिरहेको छ । तर कुनै सहमति बन्ने अवस्था आएको छैन । कार्यदलका एक सदस्यका अनुसार सहमतिको सम्भावना कम भएपछि अब शीर्ष तहमा छलफल गरी टुङ्गो लगाइने भएको छ । 

उनले भने, ‘कार्यदलले मात्र टुङ्गो लगाउन नसकेपछि शीर्ष तहमै छलफल गरेर अगाडि बढ्ने निर्णय गरिएको छ ।’

माओवादी–एसका सदस्यहरुले कांग्रेसलाई ५० प्रतिशत सिट दिनसमेत नसकिने बताउन थालेका छन् । एक कार्यदल सदस्य भन्छन्, ‘पहिले भन्दा अहिले सिट कम दिने चर्चा भइरहेको छ । १६५ मध्ये ५० प्रतिशत सिट पनि दिन नसकिने भनिएसँगै अब सहमतिमा पुग्ने सम्भावना कम रहेको छ ।’

एकातिर एमालेले माओवादी–एसलाई ललिपप दिने र अर्कातिर सत्ताधारी गठबन्धनमा सहमति नबन्दा भने कहिँ न कहिँ माओवादी पनि एमालेको ललिपपमा झुम्मिन थालेको हो कि भनेर बुझ्न सकिन्छ । 

माओवादी केन्द्रका महासचिव गुरुङले सहमतिको प्रयास भइरहेको र सहमति नहुन्जेल वार्ता चलिरहने बताए । तर योभन्दा पनि उनले ‘अर्को विकल्प नहुन्जेल गठबन्धन चलिरहन्छ’ भन्ने भनाइ भनिरहँदा भने चुनावी गठबन्धनको ढोका खुला रहेको बुझ्न सकिन्छ ।  

अर्कातिर नेपाली कांग्रेसको एक पक्षले भने माओवादीप्रति सशंकित हुँदै शुरुआतदेखि नै कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताउँदै आएको छ । 

एमालेले पनि बाहिर बाहिर एक्लै चुनाव लड्ने भनिरहेको छ । पाँच दलीय गठबन्धनले निर्वाचनमा मिलेर जाने भनेपछि एमालेले राप्रपा लगायतका साना दलहरुसँग एकता लगभग टुंगो लगाएको छ । 

तर त्यति गर्दा पनि सीमित सिटमात्र जित्ने आँकलन भएपछि अब माओवादी–एससँग मिल्नुको विकल्प नभएको निष्कर्षतिर पुगेका हुन् । 

यसैबीच सोमबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच चुनावका लागि संयुक्त घोषणापत्र बनाउने र चुनावपछि पार्टी एकता गर्ने निर्णय भएको छ । 

हरेक दिनजसो परिवर्तन हुँदै आएको नेपाली राजनीतिले भोलिका दिनमा कुन मोड दिने हो भन्ने आँकलन गर्न कठिन हुँदै गएको छ । र पनि कम्युनिष्ट गठबन्धनको चर्चा चलिरहँदा एमाले–माओवादी–नेकपा एस एकैठाउँमा भेला भएर चुनावमा नलड्लान् भन्न सकिन्न । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ