arrow

सेनाको ढाडस राष्ट्रपतिलाई बुष्टर डोज, राजीनामा नदिने संकेत 

logo
बाबु नेपाली,
प्रकाशित २०७९ भदौ ९ बिहिबार
vidya-devi-bhandari-2079.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पछिल्ला केही हप्तादेखि निकै दबाबमा रहँदै आएकी छिन् । उनले आफ्नो कार्यकाल तीन महिना बाँकी छँदै राजीनामा दिनेसम्मको परामर्श गरेकी छिन् । नेकपा एमालेकी पूर्व उपाध्यक्षसमेत रहेकी भण्डारीलाई एमाले पंक्तिले पनि राजीनामा दिन नै सुझाएको थियो । 

एमालेले विभिन्न माध्यमबाट गरेको सर्वेको रिपोर्टलाईसमेतको आधारमा राष्ट्रपतिले राजीनामा दिनु नै उपयुक्त हुने बताइएको थियो । सर्वेको रिपोर्ट बाहिर नल्याइए पनि राष्ट्रपतिले कतिपय पत्रकार, आफन्त, विज्ञहरुसँग गरेको छलफलबाट राजीनामा दिने मनस्थितिमा पुगेकी थिइन् । 

त्यसको प्रमुख कारण थियो संसदका दुवै सदनबाट पारित भएर आएको नागरिकता विधेयक । यो विधेयकमा नेकपा एमालेको असहमति थियो । तर त्यही विधेयक एमालेले अध्यादेशमार्फत ल्याएको थियो र राष्ट्रपतिले लाहाछाप लगाएकी थिइन् । 

अहिले आएर भने राष्ट्रपति कुनै दलको एजेन्डा बोकेजसरी नै पछि हटिन् । उनले पहिलो पटक आएको नागरिकता विधेयकलाई १५ दिन समय सकाएर सुझावसहित फिर्ता पठाइदिइन् । तर उनका सुझाव भने विधेयकमा हुँदै नभएका बुँदाहरुसमेत रहेका थिए । 

प्रतिनिधि सभाले उनले पठाएको विधेयकमा कुनै परामर्श नै नगरी हुबहु जस्ताको तस्तै पारित गर्यो । अहिले यो राष्ट्रिय सभामा पुगेको छ । 

तर राष्ट्रिय सभाका अध्यक्ष एवं एमालेका पूर्व नेता गणेशप्रसाद तिमिल्सिनाले समय ढिप्काउने नियतले राष्ट्रपतिसँगको परामर्शमै पाँच दिन पछाडि धकेलेको आरोप छ । राष्ट्रिय सभा आइतबार बस्दैछ । 

यसरी समय ‘किल’ गर्दै अगाडि बढ्ने उद्धेश्य लिएकै बखत केही सीप नलागे राजीनामा दिने मनस्थिति बनाएकी राष्ट्रपति भण्डारीलाई बुधबार नेपाली सेनाका अधिकारीहरुसँगको छलफलपछि एकाएक बुष्टर जोड प्राप्त भएको छ । 

जबकि एमालेले पनि पहिले राजीनामा दिन सुझाएको थियो । अर्कातर्फ केही दिनअघिसम्म एमालेले राष्ट्रपतिलाई राजीनामा दिने सूचना चुहाउन बोलाइएका मिडियाकर्मीमार्फत भनिएको थियो । 

एमालेका निकटका शीतल निवासमा पुगेका नेताहरुले राष्ट्रपतिको राजीनामाको विषय चुहाएका थिए । शितल निवास निकट एमालेका एक केन्द्रीय सदस्यले भने, ‘राष्ट्रपति ९० प्रतिशत राजीनामा दिने मुडमा पुग्नु भएको छ । राष्ट्रवादको मुद्दा बोकेर चुनावमा जाँदा एमालेलाई फाइदा छ भन्ने निष्कर्ष थियो ।’

अहिले राष्ट्रपति भण्डारी ‘यू–टर्न’ भएकी छिन् । उनले अगाडि भने, ‘अहिले भने परिस्थिति बदलिएको छ । अब राष्ट्रिय सभामा केही समय अल्झाउने, अनि राष्ट्रपति कार्यालयले लालमोहर लगाउन अड्काएर राख्दा त्यसलाई राजनीतिक मुद्दा बनाउन पाइने । त्यसबाट चुनावमा लाभ लिन पाइने निष्कर्षपछि परिस्थितिले नयाँ मोड लिएको छ ।’

यसैको पृष्ठभूमिमा सैन्य अधिकारीहरुको बैठकलाई हेरिएको छ । पहिले आफू निरीह भएर बस्नुभन्दा राजीनामासमेत दिन सक्ने स्वयं राष्ट्रपतिबाट मिडियाकर्मीमार्फत चुहाइएको थियो । तर त्यसलाई नै उनले सैन्य अधिकारीसँगको बैठकमा भने खण्डित गरेकी छिन् । उनले आफूले राजीनामा नदिएर कानूनी विकल्प खोज्ने बताएकी छिन् । 

सहभागी एक पूर्व सैन्य अधिकारीले भने, ‘उहाँले हामीसँग ठ्याक्कै यही वाक्य नै बोल्नु भएको त हैन । तर सार त्यही थियो । सापहरुले कुनै पनि हालतमा छाड्नु हुन्न भन्नुभयो । उहाँले त्यस्तो केही हुन्न । नआत्तिनुस् भन्नुभयो ।’

राष्ट्रपतिको राजीनामा प्रसङ्गले मर्माहत भएर शितल निवास पुगेका बहालवाला र पूर्व सैन्य अधिकारीहरुलाई उनले ढाडस दिने वातावरण बनाइएको थियो । सेनाकी परमाधिपति भएका नाताले सेनाको ‘सेन्टिमेन्ट’ राष्ट्रपतिलाई जान्छ । त्यही सेन्टिमेन्टको उनले फाइदा उठाएको बुझिन्छ । 

बुधबार दिँउसो डाकेर बेलुकी डिनर नै खुवाएर पठाएकी उनी निश्चिन्त देखिएकी छिन् । एक पूर्व सैन्य अधिकारीले भने, ‘पहिले गम्भीर मुद्राजस्तो पनि देखिन्थ्यो । बनावटी हाँसो पनि देखिन्थ्यो । तर अन्तिमसम्म आइपुग्दा उहाँ प्रफुल्लित हुनुभयो । हामीले दिने सुझाव सल्लाह हो । निर्णय त उहाँको हो नि ।’

पूर्व सैन्य अधिकारीहरुको साथबाट बुष्टर डोज लगाएको झैं गरेकी उनले आफ्नो क्षेत्राधिकार बिर्सेकी थिइन् । संविधानले राष्ट्रपतिलाई कति अधिकार दिएको छ भन्नेबारेसमेत हेक्का नगरी उनले कार्यकारी जस्तै गरेर उनीहरुलाई ढाडस दिएकी थिइन् । 

पूर्व सैन्य अधिकारीहरुले संविधान विपरीत दिएको सुझावले राष्ट्रपतिको क्षेत्राधिकार मिच्ने महत्वाकांक्षामा आगोमा घ्यू थप्ने काममात्र गरेको छ । पूर्व अधिकारीहरुले नागरिकता विधेयकमा राष्ट्रपतिले लिएको अडान प्रशंसायोग्य रहेको भन्दै कुनै पनि हालतमा प्रमाणीकरण नगर्न सुझाव दिएका थिए । 

दक्षिणपन्थी सोचबाट मुक्त हुन नसकेका उनीहरुले दलहरुले संसदमा जथाभावी काम गरेको आरोप लगाउँदै यसलाई रोक्नका लागि अगाडि बढ्न राष्ट्रपति भण्डारीलाई उक्साएका थिए । 

एक सहभागी अधिकारीले भने, ‘सुझाव र आग्रह गर्ने क्रममा सबैले खुलेर बोले । राजनीतिक मुद्दामा बोल्न पाएपछि हाम्रा अधिकारीहरु पनि कम्ती छैनन् भन्ने यसले देखायो ।’

उनले अगाडि भने, ‘घुमाउरो पाराले सर्वाधिकार लिएर दलहरुलाई ठेगान लगाउने सम्मको सुझाव पनि आयो । सापहरु अलि विगत सम्झेर आक्रामक भएकोसम्म पनि पाइयो । तर यो त्यति उपयुक्त नहोला कि !’

उनले एकातिर आफ्नो कार्यकाल छोटो रहेको भन्दै धन्यवाद दिने बहानामा आफू निकटकालाई शीतल निवासमा बोलाएर भोज खुवाउँदै आएकी छिन् भने सोही क्रममा भेला भएका सात दर्जन बढी सेनाका बहालवाला (प्रधानसेनापतिसहित केही सेना) र पूर्व अधिकांश अधिकारीहरुलाई बोलाएर रात्रिभोज नै गरेकी छिन् । 

यसले पूर्व सैन्य अधिकारीहरु पनि उक्साहटमा आएका छन् भने राष्ट्रपति भण्डारीलाई बुष्टर डोज दिएर फर्केका छन् । यही बुष्टर डोजको बलले राष्ट्रपति भण्डारी राजीनामा नदिने संकेततिर लम्केकी छिन् । 

मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदै गर्दा चुनावी माहोल बढ्दो छ । यही मेसोमा आएर अड्किएको नागरिकता विधेयकलाई नै राजनीतिक मुद्दा बनाएर चुनावमा जाने एमालेको दाउ छ । 

त्यही दाउलाई जतिसक्यो ‘क्यास’ गर्न राष्ट्रपति लागिरहेको पाइएको छ । दोस्रो कार्यकाल पूरा गरेर मंसिरमै कार्यकाल सकिँदै गरेकी भण्डारीको इच्छा आगामी कार्यकाल एमालेको अध्यक्ष हुने रहेको बुझिन्छ । 

यसअघि नै उनले पार्टी अध्यक्ष हुने इच्छा रहेको बताएकी थिइन् । उनको इच्छाका लागि एमालेका नेताहरुले कस्तो कदम चाल्लान् भन्ने चासो बढ्दो त छ नै आफैले पटक पटक संविधान उल्लंघन गर्ने अनि अहिले आएर फेरि पनि संविधानकै उल्लंघन गरेर अगाडि बढ्न खोजेको चिन्ता जनमानसमा बढ्दो क्रममा छ । 

एकथरि त उनले सेनालाई पनि राजनीतिमा धकेल्न खोजेको आरोप लगाउन थालेका छन् । राजनीतिकर्मीहरु सेनालाई राजनीतिमा मुछ्न नहुने बताउँछन् । 
कसको सल्लाहमा राजीनामाको मनस्थितिमा पुगिन् राष्ट्रपति भण्डारी ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ