काठमाडौं। भारतीय च्यानल स्टार प्लसबाट प्रसारण हुने प्रतिक्षित डान्स रियालिटी सो अन्तर्गत डान्स प्लस सिजन-२ मा नेपाली टिम वाइल्ड रिपर्ज क्रुले यतिखेर धमाका मच्चाइरहेको छ ।
अडिसन राउण्ड मार्फत हजारौं प्रतिस्पर्धीलाई पाखाँ लगाउँदै शिर्ष ३० मा अटाउन सफल वाइल्ड रिपर्ज क्रुले एक पछि अर्को सफलता चुम्दै सिजनको शिर्ष ७ मा आइपुगेको हो । वाइल्ड रिपर्ज यतिखेर सिजनको शिर्ष ६ मा पर्न रेसमा छ ।
रेसमा सफल हुन आफ्नो प्रस्तुतिले मात्र नभ्याउने भन्दै वाइल्ड रिपर्ज क्रुले सबैलाई भोट गर्नका लागि आग्रह गरेको छ । क्रुले विशेषगरि नेपालीमाझँ सो आग्रह गरेको छ । भोटिङका लागि मिसकल गरे पुन्ने व्यवस्था छ । त्यसका लागि नेपाली टिमको कोड न: १८००८३३३४९ रहेको छ ।
हिपहप डान्स ग्रुप नामले पनि चिनिने वाइल्ड रिपर्ज क्रुले डेल डान्स कम्पिटिसन २०१२, अल नेपाल उर्बन स्ट्रिट डान्स कम्पिटिसन २०१३ लगायत थुप्रै उपाधि हात पारेको छ । अवसरको ठूलो मञ्चको खोजीमा भारतको मुम्बाई छिरेको वाइल्ड रिपर्ज क्रुले त्यहाँ पनि विभिन्न उपाधि जितेको छ ।
दुई वर्षबीचमा क्रुले अल इन्डिया भि फेष्ट २०१५, युडिएमएस मुम्बाई च्याम्पियन्सिप २०१४ र इन्डिया वेस्ट डान्स क्रु २०१६ जस्ता महत्वपूर्ण उपाधि जितेको छ ।
डान्स प्लस सिजन २ को उपाधि रेसमा नेपाली टिम वाइल्ड रिपर्ज क्रुलाई प्रमुख दावेदारीको रुपमा हेरिएको छ ।
क्रु टिममा जम्मा ९ जना सदस्य छन् । र सबै सदस्य काठमाडौं, धनगडी र बुटवल गरी तीन सहरबाट रहेका छन् । क्रु टिममा बुद्ध लामा, रोन सिंह, किरण थापा, सुरेन राई र सन्तोष दर्जी छन् । यसैगरि साउल जेम्स बोडी, सागर राई, सुमन तामाङ र सुरज थापा मगर पनि क्रु टिममा छन् ।
भारतको प्रतिक्षित डान्स रियालिटी सो मानिने डान्स प्लस सिजन-२, भारतीय च्यानल स्टार प्लसमा हरेक शनिबार र आइतबार नेपाली समय अनुसार ८:१५ देखि ९:१५ सम्म प्रशारण हुने गर्दछ ।