arrow

मदिराका ठूला घरानियाँले भित्र्याए विश्वका दुई चर्चित ब्राण्डका भोड्का

जावलाखेलले स्काई भोड्का र नेपाल लिकर्सले स्मिर्नअफ भोड्का भित्र्यायो नेपालमा मात्रै उत्पादन गर्ने गरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ११ शनिबार
jawalakhel-nepal-liquors.png

काठमाडौं । नेपालमै उत्पादन गर्ने गरी दुई विश्व विख्यात मदिरा ब्राण्ड नेपाल भित्रिएका छन् । नेपालका प्रख्यात मादक पेय पदार्थका निर्माता र वितरक जावलाखेल ग्रुप अफ कम्पनिज र नेपाल लिकर्सले एक एक नयाँ विदेशी मदिरा ब्राण्ड नेपाल भित्र्याएका हुन् ।

जावलाखेल ग्रुप अफ कम्पनिज अन्तर्गतको विजय डिस्टिलरीले चर्चित अमेरिकी भोड्का ब्राण्ड स्काई भोड्का (Skyy Vodka) लाई नेपालमै उत्पादन गर्ने गरी नेपाल भित्र्याएको हो । स्काई भोड्का इटालीको क्याम्पारी समूहको क्याम्पारी अमेरिका डिभिजनले उत्पादन गर्दै आएको छ।

यस्तै नेपाल लिकर्सले बेलायती कम्पनी डियाजो (Diageo) को स्वामित्वमा रहेको विख्यात ब्राण्ड स्मिर्नअफ भोड्का (smirnoff vodka) नेपाल भित्र्याएको हो। नेपाल लिकर्सले नेपालमा मात्रै उत्पादन गर्ने गरी स्मिर्नअफ नेपाल भित्र्याएको हो ।

दुवैले प्रक्रिया पुर्याएर अनुमति लिएरै भोड्का भित्रिएका हुन् । दुवै विदेशका अब्बल ब्राण्ड मानिन्छन् । 

कस्तो छ स्काई भोड्का ?

जावलाखेल ग्रुप अफ कम्पनिज अन्तर्गतको विजय डिस्टिलरीले सन् १९९२ मा शुरु भएको चर्चित अमेरिकन स्काई भोड्का नेपाल भित्र्याएको हो ।

मौरिस कानबारले संस्थापना गरेको स्काई भोड्का अहिले विश्वभर प्रख्यात छ । स्काई भोड्कालाई नेपालमा विजय शाहले स्थापना गरेको विजय डिस्टिलरीले उत्पादन गर्न लागेको हो ।

स्काई भोड्काको ट्रेडमार्क लाइसेन्स ल्याएर चाँडै नै नेपालमा उत्पादन गर्ने लागेको जावलाखेल ग्रुप अफ कम्पनिजका प्रमुख कानूनी अधिकाृत गुरु अधिकारीले बताएका छन् ।

उनले भनेका छन्, 'टेक्नोलोजी ट्रान्सफर अन्तर्गत ट्रेडमार्क लाइसेन्स गरेको हो । यो फ्रेन्चाइज हो । बाँकी सबै प्रकृया सकिइसक्यो सामानहरु आइसकेपछि उत्पादन शुरु हुन्छ ।' 

स्काई भोड्काको उत्पादन छिट्टै शुरु हुने उनले बताए । अधिकारीले अघि भने, 'फ्रेन्चाइजिङ भइसक्या छ । उत्पादन छिट्टै शुरु हुने तयारीमा छ ।'

जावलाखेल ग्रुप अफ कम्पनिज अन्तर्गतको विजय डिस्टिलरी

जावलाखेल ग्रप अफ कम्पनिज अन्तर्गतको विजय डिस्टिलरीले आफ्नो उच्चस्तरीय प्रक्रिया, सुविधा र प्रणालीका लागि विभिन्न सरकारी र गैरसरकारी संस्थाहरूबाट अन्तर्राष्ट्रिय मान्यता र प्रमाणीकरणहरू प्राप्त गरेको छ।

यस उद्योगले आईएसओ प्रमाणित गुणस्तर व्यवस्थापन प्रणाली आईएसओ ९००१ः २०१५, खाद्य सुरक्षा व्यवस्थापन प्रणाली आईएसओ २२०००ः २०१८, वातावरण व्यवस्थापन प्रणाली आईएसओ १४००१: २०१५, व्यावसायिक स्वास्थ्य र सुरक्षा व्यवस्थापन प्रणाली आईएसओ ४५००१ः २०१५, ऊर्जा व्यवस्थापन प्रणाली आईएसओ ५००१ः २०१८ र डीएनभी, जीएल प्रमाणीकरण निकाय भारतबाट राम्रो उत्पादनको प्रमाणपत्र हासिल गरेको छ।

यस बाहेक विजय डिस्टिलरी नेपालको पहिलो र एकमात्र मिश्रित माल्ट स्कच ह्विस्की मास्टर सेलेक्सन समूहको प्रमुख ब्राण्ड रुस्लान भोड्काको उत्पादन समेत गर्दै आएको छ ।

यसबाहेक नेपालको पहिलो अल्ट्राप्रिमियम भोड्का रुस्लान, नेपालको पहिलो खान मिल्ने सुनइन्फ्युज्ड ह्विस्की, रुस्लान गोल्ड रिजर्व भोड्का, हिमालयन ब्राण्डी, ग्रान्ड मास्टर एक्सएक्सएक्स रम र रातो रूसी ककटेलको उत्पादन गर्दै आएको छ।

नवलपरासी जिल्लाको रामग्राममा अवस्थित विजय डिस्टिलरी विज्ञहरूको टोलीद्वारा व्यवस्थापन गरिएको पूर्ण स्वचालित मेसिनरीसहितको उन्नत प्रविधि प्रयोग गरिएको उद्योग हो । यसै उद्योगमा अब स्काई भोड्का उत्पादन हुन लागेको हो ।

नेपाल लिकर्सले भित्र्याएको अर्काे ब्राण्ड स्मिर्नअफ

यस्तै नेपाल भित्रिएको अर्काे विश्व विख्यात ब्राण्ड स्मिर्नअफ भोड्का नेपाल लिकर्स प्रालिले उत्पादन गर्न लागेको हो । यो सन् १८६० मा स्थापित कम्पनी हो। अमेरिका, क्यानडा, ब्रिटेन, इटाली, अष्ट्रेलिया, जमैका, ब्रजिल, अर्जेन्टिना, भारत, इन्डोनेसिया र केन्यामा उत्पादन हुँदै आएको स्मिर्नअफ भोड्का अब नेपालमा पनि उत्पादन हुने भएको हो ।

के भन्छ कम्पनी ?

नेपाल लिकर्सका कर्पाेरेट जेनरल म्यानेजर कमल सिटौलाले चाँडै नै मोरङस्थित उद्योगबाट उत्पादन गर्न लागेको बताएका छन् । उनले भने, 'स्मिर्नअफको फ्रेन्चाइजी नेपाल भित्रिएको हो । निकट भविष्यमा उत्पादन शुरु हुँदैछ ।'

विश्वभर चर्चित रेड लेबल, ब्ल्याक लेबल, ब्लु लेबल लगायतका ब्राण्ड उत्पादन गर्दै आएको डियाजो कम्पनीले नै यसलाई नेपालमा पनि प्रवेश गराएको सिटौलाले बताए । उनले अघि भने, 'डियाजोकै फ्रेन्चाइजी नेपाल भित्रिएको हो । निकट भविष्यमै उत्पादन शुरु गर्दैछौं ।'

३५ देखि ५० प्रतिशतसम्म अल्कोहलको मात्रा रहने स्मिर्नअफको वितरण १३० देशमा हुँदै आएको छ। विभिन्न स्वादहरुमा उपलब्ध स्मिर्नअफ  सन् २०१४ मा विश्वको सबैभन्दा धेरै बिक्री हुने भोड्काका रुपमा स्थान बनाएको थियो । 

कम्पनीले स्मिर्नअफ नं २१ भोड्कालाई विश्व नं १ भोड्का भनेको छ भने याे तीन चोटी डिस्टाइल्ड र १० चोटी फिल्टर गरिएको भोड्का रहेको कम्पनीले जनाएको छ ।

स्मिर्नअफ भोड्का नेपालमा उत्पादन थालेको नेपाल लिकर्स कम्पनीले एन्टिक्विटी ब्लु ह्विस्की, सिग्नेचर प्रिमियर ह्विस्की, सिग्नेचर रेयर ह्विस्की, म्याकडोवेल्स नम्बर १ ह्विस्की, रोयल च्यालेन्ज फाइनेस्ट प्रिमियम ह्विस्की, म्याकडोवेलको नम्बर १ सेलिब्रेसन रम, म्याकडोवेल कार, गोल्डन कार एक्सएक्सएक्स लगायतका विभिन्न ब्राण्डका १४ वटा उत्पादन गर्दै आएको छ। राजेशवीर सिंह तुलाधर यस कम्पनीका कार्यकारी प्रमुख हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ