arrow

अस्तव्यस्त बन्यो कलंकी नागढुङ्गा सडक, राजधानीकै बेईज्जत भएपनि खुल्ने पत्तो छैन

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ भदौ १७ शुक्रबार
nagdhunga-2.gif
काठमाडौं। नागढुङ्गा नाका नेपालको राजधानी काठमाडौं प्रवेश गर्ने र राजधानी आएकाहरू बाहिरिने मुख्य नाका हो। देश भन्दा बाहिरबाट आएका पर्यटकहरूसमेत नेपाल आएपछि विभिन्न पर्यटकीय केन्द्र तर्फ जानको लागि प्रयोग गर्ने मुख्य नाका पनि यही हो । तर, बिडम्बना हाम्रो यही व्यस्त नाका यति उदेक लाग्दो बनेको छ कि काठमाडौंबाट बाहिरिने जो कोहीले पनि नौ किलो मिटरको यात्रा गर्न कम्तिमा एक घण्टा लगाउनु पर्नेछ। 
 
यसरी घन्टौंसम्म जाममा पर्नै स्थिती सिर्जना भएपछि काठमाडौंबाट यात्रा गर्नै यात्रुहरूमा भने दिग्दारी सिर्जना हुने गरेको छ । कतिपय अवस्थामा त एम्बुलेन्ससम्म पनि जाममा पर्ने गरेको स्थानीय स्वयं बताउँछन् । त्यो बाटो जाँदा त्रिपुरेश्वर देखि नै जामको सास्या सिर्जना हुने र यो बाहेक पनि काठमाडौंका अधिकांश स्थानमा यस्तै समस्या सिर्जना भएर पनि कलंकी पुगेका यात्रुहरू त्यहाँबाट समेत झमेलामा पर्ने गरेका छन् ।    
 
त्यसो त त्यो बाटो साँघुरो भएर मात्रै पनि यस्तो स्थिती सिर्जना भएको भने पक्कै होईन । सडक विस्तारको लागि भनेर भत्काईएका सडकहरू एकातिर ढल बगेर भदौंको खहरे भेल जस्तै बगिरहेका हुन्छन् भने अर्काेतर्फ बाटोमा उडेको धुलोले गर्दा अघिल्लो सवारी समेत देख्न मुस्किल पर्ने समस्या रहेको छ । यस्तो स्थितीमा पनि मुख्य नाकामा ध्यान दिन न त कुनै जिम्मेवार निकाय भेटियो न त यस्तो समस्यामा परेका स्थानीय नै । बरू यस बाटो निर्माणमा स्थानीयद्वारा नै अवरोध भएको बुझिएको छ । 
 
बाटो बनाउन जाने इन्जिनियर नै असुरक्षित !
सडक विभाग अन्तर्गत्को उपत्यका सडक विस्तार आयोजनाले बनाउन लागेको उक्त सडकमा अहिले ढुक्क भएर कुनैपनि इन्जिनियर तथा ठेकेदारहरू जान सकेका छैनन् । स्थानीयले आफूलाई जग्गाको समेत मुआब्जाको माग गर्दै प्रतिकार गर्न थालेपछि त्यहाँ आफ्नो सुरक्षाको कारण देखाउँदै ठेकेदारहरू समेत त्रसित भएर जाने गरेको आयोजनाका प्रमुख मनोज श्रेष्ठले जानकारी दिए । 
 
उनका अनुसार यस भन्दा अगाडि पनि संघर्ष समितिले विभिन्न स्थानमा सर्भे गर्न नदिएपछि स्थानीय प्रशासनको सहयोगमा सर्भे गरिएको बताए । उनका अनुसार सडकको अहिलेसम्म दायाँ बायाँ वाल लगाउने काम सकिएको भएपनि कतिपय स्थानमा त्यो पनि नसकिएको जानकारी पनि दिए। 
 
अदालतमा मुद्दा परेपछि रोकियो काम
स्थानीय प्रशासन लगाएर बाटो सर्भे गरेपछि स्थानीय अदालतमा पुगे । संघर्ष समितिको नामबाट काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएपछि काठमाडौं जिल्ला अदालतले तत्कालको लागि काम रोक्न अन्तरिम आदेश दिएको छ । यसरी अन्तरिम आदेश पाएपछि अन्तरिम आदेश पाएका सतुंगल, बलम्बू लगायतका क्षेत्रहरूमा काम अगाडि बढ्न नसकेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।
 
२७ महिने आयोजना १३ महिनासम्म ठप्प
यो आयोजना २७ महिना भित्र सम्पन्न गर्ने गरी २०७२ असार ३१ गते सम्झौता भएको थियो । कूल ९ दशमलव ११ किलोमिटर लम्बाईमा रहेको सो बाटोलाई ३ भागमा विभागन गरेर काम सुरू गरिएको थियो । तर, विभिन्न आवरोध भएपनि पहिलो ३ दशमलव ३ किलोमिटर बाटो र दोस्रो ३ किलोमिटर बाटोको काम अघि बढ्न सकिरहेको छैन । तेस्रो खण्डमा भने अहिले पनि मन्द गतिमा काम भईरहेको छ । 
 
पहिलो खण्डको सडकको लागि कूल ३१ करोड ४५ लाख ५९ हजार रूपैयाँ, दोस्रो ३ किलोमिटरको लागि कूल, ३४ करोड ७४ लाख २६ हजार रूपैयाँ र तेस्रो खण्डको लागि कूल ४७ करोड ६४ लाख ४६ हजार रूपैयाँ विनियोजन भएको थियो भने यो सबै काम २७ महिना भित्र सम्पन्न गर्ने भनिएको भएपनि भूकम्प र नाकाबन्दीका कारण भन्दै गत चैत महिनासम्म केही पनि काम सुरू भएन । 
 
त्यसपछि अलिअलि काम सुरू गर्न लाग्दा फेरि पनि स्थानीयको आन्दोलनका कारण काम अघि बढ्न सकेन । जसको मारमा भने काठमाडौं भित्रिने र बाहिरिने यात्रुहरू मारमा परिरहेका छन् । 
 
कहिले बन्छ बाटो ? 
२७ महिनामा सक्ने जिम्मेवारी पाएको आयोजनालाई शुक्रबार अब कहिले बन्छ त बाटो भनेर सोध्दा त्यो आफूले पनि भन्न नसक्ने प्रतिक्रिया आयोजना प्रमुख श्रेष्ठले दिए । ‘अदालतको स्टे अर्डरका कारण काम रोकिएको हो’ उनले भने ‘अदालतले बाटो फकाईदियो भने हामी द्रूत गतिमा काम गर्छौँ ।’ उनले तोकिएकै मितिमा सक्ने गरी काम सुरू गर्न लागिएकाने भएपनि नाकाबन्दीका कारण काममा ढिलाई भएको जानकारी पनि दिए । 
 
अदालतले बाटो खन्नू भन्ने आदेश दिएको खण्डमा आफूहरू प्रशासनको सहयोगमा पनि काम अगाडि बढाउने तयार रहेको भएपनि खदालतले फैसला नगरी कहिले काम अघि बढ्छ भन्ने विषयमा निक्यौल गर्न नसकिएको उनले स्पष्ट पारे । 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ