- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विगत ६ वर्षदेखि नेपालका कम्युनिष्टहरूलाई एकताबद्ध बनाउने अभियानमा लागेको चीनलाई पटक-पटक धक्का लाग्ने गरेको छ। २०७४ मा नेपालका दुई ठूला कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याएपछि आफ्नो सफलता ठानेको चीनको खुशी तीन वर्ष पनि टिक्न सकेन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चीनले जोडेर बनाइदिएको नेपाल कम्युनिष्ट पार्टी छोडेर आफ्नो पुरानै घर फर्किए । जसरी उनीहरू एक ठाउँमा आएका थिए त्यही रफ्तारमा उनीहरूबीच फाटो आयो र २०७७ फागुन २३ मा अलग-अलग भए।
त्यसबीचमा पनि नेकपालाई जोगाउन निकै ठूलो कसरत गर्यो । तर सफल हुन सकेन । नेपालमा एमसीसीलाई संसद्ले अनुमोदन गरेपछि पनि चीनले नेपालका कम्युनिष्टहरूलाई एक ठाउँमा ल्याउनै पर्ने आवश्यकता महसुस गरेको देखिन्छ । जसको परिणाम चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमण गरे । उनको नेपाल भ्रमणका क्रममा नेपालका कम्युनिस्टसँगको भेटमा कम्युनिष्टहरू बलियो भएको अवस्थामा मात्र मुलुक समृद्ध हुने बताएका थिए ।
चीनले स्थानीय निर्वाचनअघि नै कम्युनिष्टलाई एक ठाउँमा ल्याउने ठूलो प्रयास गर्यो । तर सम्भव भएन। स्थानीय तहको निर्वाचनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि ओली बाहेकका कम्युनिष्टहरू एक ठाउँमा आउने बेला भएको बताएका थिए । अर्कोतर्फ नेकपा एमालेमा रहेका घनश्याम भुषाल र योगेश भट्टराईहरूले पनि देशभरका कम्युनिस्टहरूबीचको एकताको विकल्प नभएको तर्क गरिरहेका थिए ।
यसबीचमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले चीन पनि पुगे। तर ठोस उपलब्धि हुन सकेन। सबै कम्युनिष्टहरु नभए पनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावअघि नै पार्टी एकता गर्ने तयारी पनि गरे। ललितपुरको सातदोबाटोस्थित एक घरमा भएको तत्कालीन नेकपाका पाँच जना सचिवालय सदस्यहरू माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा हालै नेकपा एकता राष्ट्रिय अभियान खोलेर त्यसको संयोजक बनेका वामदेव गौमतबीच छलफल पनि भएको थियो ।
उक्त भेटमा चुनावअघि दुई पार्टीको एकता गर्ने विषयमा गम्भीर छलफल भएको माओवादी केन्द्रका नेताहरूले बताएका थिए । वामपन्थी शक्तिहरू कमजोर हुँदा राष्ट्रियता धरापमा परेको निष्कर्ष निकाल्दै चीनलाई देखाउनका लागि विभिन्न चरणमा छलफल पनि गरे । तर परिणाम सकारात्मक आउन सकेन । अहिले उनीहरूलाई कांग्रेसको साथ चाहिएकाले चुनावअघि पार्टी एकता हुन नसक्ने निष्कर्षमा अहिले फेरि वाम दलहरू पुगेका छन् ।
यद्यपि उनीहरूले एमालेसँग भने कम्तीमा यस वर्ष हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन या एकता दुवै नहुने निचोड निकालेका छन् । पछिल्लो समय दुवै पार्टीले चुनावपछि पार्टी एकता गर्नका लागि संयोजन समिति बनाउने निर्णय पनि गरेका छन्।
माओवादी केन्द्रका महासचिव देव गुरुङले चुनावअघि पार्टी एकता सम्भव नभएको र यसमा कुनै शक्ति राष्ट्रले हस्तक्षेप गर्न नसक्ने बताएका छन् ।
चीनतर्फ सङ्केत गर्दै उनले विगतको नेकपामा विभिन्न शक्ति राष्ट्रहरूले खेल्दा एकतालाई तार्किक निष्कर्षमा पुर्याउन नसकिएको उनले बताएका हुन् ।