arrow

पर्सामा मौलायो अवैध गुटखाको धन्दा, सरकारी अधिकारीहरुको मोलमोलाई

logo
बिजय चौहान।
प्रकाशित २०७३ भदौ १८ शनिबार
parsa-gutkha.jpeg
वीरगञ्ज। सरकारको नेतृत्व र मन्त्री बदलिएसँगै सरुवा हुने तयारीमा रहेका पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे र सहायक प्रमुख जिल्ला अधिकार अनुज भण्डारीमाथि अहिले अवैध कारोवारमा रकम उठाउन लागेको आरोप लागेको छ। लामो समयदेखि पर्साको बागडोर सम्हालेका पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरे र सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीलाई प्रहरीले बरामद गरेको गुटखा र नक्कली मोविल विक्री गर्ने संजय खम्का अग्रवाललाई उन्मुक्ती दिएको आरोप लागेको हो। 
 
गत साउन १९ गते वीरगन्जको इनर्वाबाट करिब दुई करोडको मोविल लगायका विभिन्न सामान सहित पक्राउ परेका वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ७ रेशम कोठी निवासी सन्जय खम्का अग्रवाललाई पर्साका प्रमख जिल्ला अधिकारीले मोलाहिजामा परि कार्वाहीको नाममा एक लाख ६० हजार रुपैयाँ धरौटिमा रिहा गरेको आरोप लागेको छ। वीरगञ्जको विभिन्न स्थानबाट प्रहरीले बरामद गरेको ३७ लाख मुल्यको एक सय ६ बोरा गुटखा सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले नष्ट गर्ने भन्दै व्यापारीकै जिम्मा लगाएपछि अझ चर्चा पाएको छ।
 
अग्रवालको इनर्वा स्थित गोदाममा प्रहरीले छापा मार्दा एक सय ३० ड्रम सेल एण्ड फिच नामक भारतीय कम्पनीको २७ हजार तीन सय लिटर मोबिल, टाटा र किर्लोस्कर कम्पनीको गाडीको फिल्टर एक सय आठ वटा, फिलिट गार्ड कम्पनीको ५० वटा फिल्टर र २९ बाल्टिन ग्रिज बरामद गरेको थियो।
 
प्रहरीले बरामद सामानसंगै नक्कली मोविल उत्पादन गर्ने अग्रवामाथि कालो बजारी ऐन २०३३ अनुसार ९२ लाख रुपैयाँ विगो राखी जिल्ला प्रशासन कार्यालय पर्सामा मुद्दा बुझाए पछि वीरगञ्ज उपमहानगरपालिका कार्यालय नजिकै बस्ने क्याल थरका एक व्यापारी मार्फत प्रजिअ घिमिरेलाई प्रभावमा पारेर खेम्कालाई मात्र एक लाख ६० हजार रुपैयाँ धरौटिमा रिहा गरेको श्रोतले बताएको छ।
 
श्रोतका अनुसार विगो बराबरकै धरौटि राखिने सामान्यतया चलन भएपनि प्रजिअले पदको दुरुपयोग गरी खेम्कालाई उन्मुक्ती दिने काम गरेको व्यवसायीहरुमा समेत चर्चा छ। उनले हाल व्यापारी खेम्कालाई उन्मुक्ती दिने र पछि विस्तारै गोदामको सामान समेत दिलाउने सहमती गरेको श्रोतले दावी छ।
 
त्यसै गत साउन ३१ गते वीरगन्ज उपमहानगरपालिकाको वडा नम्बर ११मा रहेको बैष्णवी इन्टरप्राइजेजबाट ७९ बोरा, वीरगन्ज–७ स्थित चावासति मार्केटिङ्गबाट१६ बोरा, वीरगन्ज–८मा रहेको कृष्णा जनरल स्टोरबाट २ बोरा र कन्चन किराना पसलबाट ८ बोरा गरी जम्मा एक सय ६ बोरा गुटखा बरामद गरिएको थियो।
 
प्रहरीले गुटखाको प्याकेटमा उत्पादन मिति नभएको, प्राणघात चिन्ह नभएको, भएपनि स्पस्ट र मापदण्ड बमोजिम नभएको भेटिएपछि चार वटै स्थानबाट एक सय ६ बोरा गुटखा नियन्त्रणमा लिएको थियो। प्रहरीले बरामद गरेको गुटखा मध्ये २८ बारो गुटखा कुहिएको थियो। बरामद गरिएको गुटखालाई आवश्यक कार्वाहीका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय पर्सामा बुझाएपछि सह प्रजिअ भण्डारीले गुटखा व्यपारीलाई नै जिम्मा लगाएको कार्यालय श्रोतको भनाई छ।
 
यस विषयमा सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीसंग बुझ्दा उनले नक्कली मोविल व्यपारी खम्कालाई मुद्दाबाट उन्मुक्ती नदिइ जमानतमा मात्र रिहा गरेको दावी गरे। उनले प्रहरीले बुझाएको गुटखा नष्ट गरिएको दावी गरेपनि सो वारे कुनै जानकारी नभएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए। बुझाएको गुटखा नष्ट गर्दा प्रहरी कार्यालयलाई जानकारी गराउनु पर्ने भएपनि आफुहरुलाई कुनै जानकारी नगराइएको उपरिक्षक श्रेष्ठले बताए।
 
मोविल र गुटखा प्रकरणले गर्दा जिल्ला प्रशासन कार्यालयका कर्मचारी बीच नै मुनमुटावको स्थिती सिर्जना भएको छ। बाडिचुँड खाने परिपाटीलाई लत्याई प्रजिअ र सह प्रजिअले एकला एकलै रकम खाएपनि अन्य कर्मचारी रुस्ट भएका छन्।
 
एकातिर मोविल र गुटखा प्रकरणमा पर्साका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीले देखाएको गतिविधीले अधिकारीहरुको कारण सिमाक्षेत्रमा अपराधिक गतिसविधी समेत बढाउने सम्भावनालाई बल दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ