arrow

सञ्चारसम्बन्धी विभिन्न कानून टुङ्गोमा पुर्‍याउन पहल गर्न प्रधानमन्त्रीसँग पत्रकार महासङ्घको आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
deuba-fnj.jpg

काठमाडौं । नेपाल पत्रकार महासङ्घले प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल सकिनै लाग्दासमेत सञ्चारसम्बन्धी विभिन्न कानूनहरू टुङ्गोमा पुग्न नसकेकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएको छ ।

महासङ्घका पदाधिकारीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई भेटेर मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानून चालु अधिवेशनमा नै टुङ्गोमा पुर्याउनका लागि पहल गर्न आग्रह गरेको हो । भेटमा हाल मस्यौदाका रूपमा विचाराधीन सञ्चारसम्बन्धी ती कानून प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्नेमा पनि महासङ्घले जोड दिएको छ ।

अहिले सञ्चारसम्बन्धी कानून नहुँदा विद्युतीय कारोबार ऐनलगायतका विभिन्न कानूनहरू आकर्षित गरी पत्रकारलाई दुःख दिने काम गरिएको भन्दै महासङ्घले चिन्ता प्रकट गरेको छ । सो अवसरमा प्रधानमन्त्री देउवाले महासङ्घले उठाएका र राखेका मागहरूलाई सकारात्मकरूपमा लिई तत्काल टुङ्गोमा पुर्याउनका लागि पहल गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई टेलिफोनमार्फत निर्देशन दिएका थिए । 

भेटमा महासङ्घका तर्फबाट अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी सहभागी थिए । महासङ्घले प्रतिनिधिसभा अवधि समाप्त हुनुअगावै सञ्चारसम्बन्धी कानुनका विषयलाई टुङ्गोमा पुर्याउन सभामुख अग्निप्रसाद सापकोटालाई पनि भेटेर ध्यानाकर्षण गराउने जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ