काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शनिबार स्वदेश फर्किएका छन् । पूर्वप्रधानमन्त्री देउवा शनिबार थाई एयरलाइन्सको उडानबाट अपराह्न फर्किएका हुन् ।
पेटको पाचनसम्बन्धी समस्याबाट पीडित देउवा स्वास्थ्योपचारका सिलसिलामा यही भदौ १० गते सिङ्गापुर गएका थिए । देउवाले स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै सभापति देउवाले संविधानप्रति सबैको अपनत्व होस् र कार्यान्वयन गर्न थप सहजता होस् भन्नाका लागि नै संशोधन हुन लागेको हो भने ।
देउवाले भने “संविधान संशोधन जस्तो महत्वपूर्ण विषय राजनीतिक सहमतिमा खोजिनुपर्छ, यसतर्फ वर्तमान सरकारले ध्यान दिएको हुनुपर्छ ।”
पार्टी सभापतिमा निर्वाचित भएपछि देउवा पहिलोपटक विदेश गएका हुन् । “म नितान्त स्वास्थ्य उपचारमा गएको हुँ, मैले त्यहाँ रहँदा कसैसँग राजनीतिक भेटघाट गरिन” सञ्चारकर्मीको जिज्ञासमा सभापति देउवाले भने।
तपाईहरु प्रतिपक्षमा रहँदा भूकम्पपीडितलाई एकमुस्ट रु दुई लाख दिन तत्कालीन सरकारसँग भएको सहमतिलाई किन वर्तमान सरकारले कार्यान्वयन नगरेको ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने “अब यो निर्णय तत्काल कार्यान्वयन हुन्छ, यस विषयमा सरकारले के गरिरहेको छ , म प्रधानमन्त्रीसँग कुराकानी गर्छु ।”
पार्टीका नेता तथा कार्यकर्ताबीच सरसल्लाह गरी पार्टीलाई अगाडि बढाउने जानकारी दिँदै सभापति देउवाले पार्टी पदाधिकारी छिट्टै मनोनयन गर्ने जानकारी दिए ।
हाल सभापतिले पार्टी पदाधिकारीमा गर्ने मनोनयन पद रिक्त रहेको छ । सभापति देउवालाई पार्टीका कोषाध्यक्ष सीतादेवी यादव, नेकाका तर्फबाट सरकारमा सहभागी भएका मन्त्री, सांसद तथा पार्टीका केन्द्रीय सदस्य तथा कार्यकर्ताले विमानस्थलमा स्वागत गरेका थिए ।