arrow

बिरुडा भिजाएसँगै गौरा पर्व शुरु

logo
राम धामी, 
प्रकाशित २०७९ भदौ १६ बिहिबार
gauraparba-2079-05-16.jpg

डडेल्धुरा । व्रतालु महिलाहरुले पञ्च अन्नको बिरुडा भिजाएसँगै बिहीबारदेखि सुदूरपश्चिम प्रदेशमा मौलिक लोक पर्व गौरा औपचारिक रुपमा शुरु भएको छ । 

सुदूरपश्चिममा मुख्य पर्वका रुपमा लिइने गौरा पौराणिक कालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरेर भगवान् शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ । 

बिरुडा पञ्चमी रुपमा मानिने पञ्चमी तिथिको दिन ब्रतालु महिलाहरुले घर–घरमा तामा वा पित्तलको भाडामा पाँच प्रकारका अन्न (बिरुडा) भिजाएर पर्वको शुरुआत गर्ने प्रचलन छ । ब्रतालु महिलाहरुले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामूहिक रुपमा बिरुडा भिजाउने गर्छन् ।

गौरा पर्वको पहिलो दिन बिरुडा अर्थात् पाँच प्रकारको अन्न गहुँ, केराउ, गहत, मास र गुराँस मिसाई भिजाएर गौराको फाग गाएर पर्वको थालनी गरिन्छ । 

बिहीबार बिरुडा भिजाएर ब्रतालु महिलाहरुले गौरा पर्वको औपचारिक शुभारम्भ गरेका छन । गौरा देवीको पूजनका लागि भिजाइएका बिरुडा गौरापूजन पश्चात प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन रहेको ज्योतिष पण्डित कालीप्रसाद जोशीले बताए ।

षष्ठी तिथिका दिन बिहान गाउँटोलबाट सँगै गाउँको पँधेरा, नाउला तथा पानीका मुहान जलाशयमा गएर बिधिवत रुपमा बिरुडा धोइपखाली धानको खेतबाट अपामार्ग, सोम लगायतका वनस्पति ल्याएर गौरा देवीको प्रतिस्थापन गर्ने प्रचलन रहेको उनले जानकारी दिए । यसरी प्रतिस्थपना गरिएको गौरा देवीको सप्तमी तिथीको दिन गौरा घरमा पूजाअर्चना गरिन्छ । 

सप्तमी तिथिको दिन ब्रतालु महिलाहरुले सातवटा धागो बुनेर बनाइएको सप्तमी धागो धारण गर्ने परम्परा रहेको लोक संस्कृतिका जानकार कैलाशकुमार पाण्डेयले जानकारी दिए । 

गौरा पर्वको महत्वपुर्ण दिन मानिने गौराष्टमी अर्थात् दुर्बाष्ठमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा विधिपूर्वक पूजाआजा गर्छन् । 

साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितहरुको भनाइ छ । सोही दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ ।

गौरा पर्वको प्रमुख आकर्षणका रुपमा रहेको डेउडासँगै पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थबाट उद्धृत फाग, चैत र धमारी गाउने प्रचलन छ । त्यतिमात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि डेउडाका माध्यमले तीखो व्यङ्ग्य गर्ने गरिन्छ । महिलाले यस अवसरमा आफ्ना सुख–दुःखका प्रसंग र पुरुषहरुले बिर पुरुषहरुका गाथामा आधारित चैत धुमारी गाउने गर्छन् ।

सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटीका बासिन्दाले दशैँभन्दा पनि बढी महत्वका साथ मनाउने गौरा पर्वको आगमनले यतिबेला सुदूरपश्चिममा चहलपहल बढेको छ ।  

गौरा विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरु उमेर समुह अनुसार छुट्टाछुट्टै रुपमा गोलबद्ध भइ स्थानीय लोक भाषामा डेउडा, चैत, धमारी ढुस्को आदि खेल खेलेर आनन्द लिने गर्छन् ।

बिरुडा भिजाएसँगै गौरापर्वको औपचारिक रुपमा शुरुवात भएको डडेल्धुरा सदरमुकाम निवासी पार्वती जोशीले बताइन् । 

स्थानीयहरु आ–आफ्नो टोलको मुख्य एक स्थानमा जम्मा भएर पूजाआजा र डेउडा खेल्दै गौरा पर्वको समापन गर्ने गर्छन् । 

गौरा पर्वका अवशरमा मिठो मसिनो खाने र नयाँ लुगा लगाउने प्रचलन छ । गौरा पर्व मनाउन कामको लागि विदेशिएका र घरबाहिर रहेका सर्वसधारणहरु गाउँ फर्किने गर्छन् । 

गौरा पर्वका कारण ग्रामीण क्षेत्रमा रौनकता बढ्न थालेको र पछिल्लो समय सहरी क्षेत्रमा पनि गौरा धुमधामसहित मनाइन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ