arrow

प्रधानमन्त्री देउवा भन्छन् – तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १७ शुक्रबार
pm-deuba-shankardev.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तालाबन्दी र हड्तालले विश्वविद्यालयको समस्या समाधान नहुने बताएका छन् । शुक्रबार शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले तालाबन्दी र हड्तालले विश्वविद्यालयको समस्या समाधान नहुने भन्दै राजनीतिक पूर्वाग्रह त्याग्न आग्रह गरे । 

त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि नेविसंघले तालाबन्दी गरेको छ भने यस विषयलाई लिएर सडक र सदनसम्म आवाज उठिरहेको छ । 

राजनीतिक आग्रह र पूर्वाग्रह त्यागेर विश्वविद्यालयका समस्या पहिचान गर्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले विभिन्न चुनौतीबाट गुज्रिएको विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।  

विश्वविद्यालयको समस्या समाधान गर्न र शिक्षा क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेका उनले बताए । 

शङ्करदेव क्याम्पसको पूर्वाधार विकासमा थप जग्गाको व्यवस्था गरिने
देउवाले व्यवस्थापन सङ्कायमा त्रिभुवन विश्वविद्यालयकै उत्कृष्ट  बनेको शङ्करदेव क्याम्पसको पूर्वाधार विकासमा थप जग्गाको व्यवस्था गरिदिने प्रतिबद्धता जनाएका छन् । 

भूकम्पले क्षतिग्रस्त बनाएको  क्याम्पसको पुनः निर्मित भवन उद्घाटन गर्दै उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्सँग सल्लाह गरेर क्याम्पसअघि रहेको जग्गा उपलब्ध गराउन सहयोग गर्ने बताएका हुन् । 

“त्रिभुवन विश्वविद्यालयमा रहेको समस्या संवादका माध्यमबाट समाधान गरिनुपर्छ, तालाबन्दीले समस्या समाधान हुँदैन, विश्वविद्यालयमा राजनीतिक आग्रह र पूर्वाग्रह नराखौँ”, प्रधानमन्त्री देउवाले भने । 

 दक्ष जनशक्ति निर्माणका लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेको उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक पूर्वाधार विकासमा पनि सरकारले सहयोग गर्ने बताए । नवनिर्मित भवनले विद्यार्थीको चाप थेग्न सहयोग गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भवन पुनःनिर्मााणका लागि पूर्वविद्यार्थी समाजले गरेको सहयोगको प्रशंसा पनि गरे । 
 
क्याम्पसबाट उत्पादित जनशक्तिले अहिले पनि उद्योग र वाणिज्य प्रशासनका साथै राजनीतिक क्षेत्रमा पनि योगदान पुर्याएका छन् भन्दै  उनले थप गुणस्तरीय जनशक्ति निर्माणका लागि क्याम्पसले पहल गरेमा आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ