arrow

तनहुँको मानहुँ डाँडामा पुनः बस्ती विस्तार

logo
रासस
प्रकाशित २०७९ भदौ १९ आइतबार
Manahunkot.jpg

तनहुँ । तनहुँको सदरमुकाम दमौलीमाथिको गाउँ हो, मानहुँ डाँडा । तल दमौली बजार छ, त्योभन्दा माथि मानहुँ डाँडाको फेदीमा मादी र सेती नदीको सङ्गमस्थल छ । उक्त नदीको सङ्गमस्थलको दायाँबायाँ व्यास गुफा र पराशर गुफा पर्छ । सोही गुफाको शीरमा करिब एक हजार सय मिटर उचाइमा रहेको गाउँ हो मानहुँडाँडा । झण्डै एक वर्षअघि मानहुँ डाँडाबाट देखिने कुहिरोका कारण टिकटकमा भाइरल हुँदै आएकाले पोखरा र काठमाडौं जाने आन्तरिक तथा बाह्य पर्यटकको अग्रणी गन्तव्यस्थल बनेको छ मानहुँ डाँडा । 

हामीले यसलाई पर्यटकीयस्थलको रुपमा विकास गरेका छौँ । “व्यास नगरपालिका वडा नं. ५ का अध्यक्ष हिमाल श्रेष्ठ भन्छन्, “चापाघाटदेखि मानहुँ डाँडामा पुग्न सवारीसाधानबाट करिब १५ मिनेट लाग्छ ।” सदरमुकाम दमौलीबाट करिब सात किलोमिटर दूरीमा रहेको उक्त  डाँडामा खानेपानीको समस्याका कारण बसाइसराइले गाउँ नै रित्तिदै गएको थियो । अहिले विकास निर्माणले गति लिन थालेसँगै पुनःबस्ती विस्तार हुन थालेको छ । स्थानीय रेवती थापामगर र शुकराम मगर त्यस क्षेत्रका पुराना रैथाने व्यक्ति हुन् । अन्य स्थानीयवासीले सुविधाको लोभमा बसाइसराइ गरे पनि उनीहरुले आफ्नो थलो छाडेनन् ।

विकासको गतिले फड्को मार्न थालेपछि पाँच घर परिवार पुनःगाउँ फर्किएर बस्न थालेको स्थानीय शुकराम मगर बताउछन् । मानहुँ डाँडामा पर्यटन प्रवर्द्धन गर्नका लागि विकासका पूर्वाधारलाई प्राथामिकता दिएपछि अन्य स्थानीय बासिन्दा पनि गाउँ फर्किने योजनामा रहेको उनको भनाइ छ । व्यास नगरपालिकाले मानहुँ डाँडामा पुनःबस्ती बसाउने उद्देश्यले खानेपानी, सडक, विद्युत् र भौतिक संरचना निर्माणलगायत कार्य गर्दै आएको छ । 

मानहुँ डाँडामा यतिबेला बस्तीसँगै होटल व्यवसाय फस्टाउँदै गएको होटल भ्यू टावरका सञ्चालक चुडामणि दाहाल उल्लेख गर्छन् । उक्त डाँडामा दमौलीका चुडामणि दाहाल र प्रेम राउतले झण्डै रु डेढ करोड लगानी गरी होटल सञ्चालन गर्दै आएका छन् । करिब एक रोपनी जग्गा खरिद गरेर आर्कषण होटल निर्माण गरिएको छ । उक्त होटल कम्तीमा ४० जनासम्म बस्न मिल्ने क्षमताको छ । 

स्थानीयस्तरमा उत्पादित वस्तुलाई प्राथामिकतामा राखिएको छ । दिनमा एक सयभन्दा बढी पर्यटक मानहुँ डाँडामा घुम्न आउने गरेको अर्का होटल सञ्चालक प्रेम राउत बताउछन् । उक्त स्थानमा रहेको भ्यू टावरबाट सूर्योदयको मनोरम दृश्यका साथै हरियाली डाँडाकाँडा र स्थानीय खानाका परिकारले पर्यटकलाई आर्कषण गर्दै आएको छ ।

साना र ठूला गरी झण्डै डेढ दर्जनको हाराहारीमा मानहुँकोटमा होटल खुलिसकेका छन् । पर्यटन प्रवर्द्धन गर्नका लागि नगरपालिकाले मानहुकोटमा भ्यू टावर निर्माण गरेको छ । रु ४० लाखको लागतमा निर्माण गरिएको उक्त टावरबाट सूर्योदयका साथै गोरखा, लमजुङ, कास्कीलगायत विभिन्न जिल्लाका अग्ला र हरियाली डाँडा सजिलै देख्न सकिन्छ । खानेपानीको चर्को समस्या रहेको यस स्थानमा पानीको पहुँच पुर्याउन सङ्घीय सरकारबाट रु दुई करोड बजेट विनियोज भइसकेको नगरप्रमुख बैकुण्ठ न्यौपाने बताउछन् । 

उजाडिएको बस्तीमा पुनःबस्ती बसाउने र ऐतिहासिक यस डाँडाको संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्यले खानेपानी र सडकलाई प्राथमिकतामा राखेर काम गर्दै आइएको उनको भनाइ छ । मानहुँ डाँडामा सिद्धबाबाको मन्दिर निर्माण गर्न सङ्घीय सरकारबाट रु २५ लाख र गण्डकी प्रदेश सरकारबाट रु पाँच लाख बजेट विनियोजन भइसकेको छ । 

विकासको सुरुवातसँगै बस्ती विस्तार हुन थाले पनि मानहुँकोटको मुहार फेरिनेमा आफू विश्वास्त रहेको नगरप्रमुख न्यौपाने जोड दिन्छन् । सङ्घीय सरकारको रु १० करोड करोडको  लगानीमा सडक विस्तारका साथै कालोपत्र  पनि गरिएको छ । चालु आवमा रु ७० लाख बजेट विनियोजन गरी सडक विस्तारका कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ