काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन सर्ने निश्चितप्रायः भएको छ । यद्यपि,
सार्नेबारेको अन्तिम निर्णय पार्टी सभापति शेरबहादुर देउवाको स्वीकृतीले निर्धारण गर्ने छ ।
देउवा एक साता लामो सिंगापुर बसाईपछि शनिबार मात्रै काठमाडौं आइपुगेका छन् । तरुण दलका पूर्व अध्यक्ष एवं रक्षा मन्त्री बालकृण्ण खाँणको नेतृत्वमा गठित सात सदस्यीय निर्देशन समिति सदस्य सरिता प्रसाँईले हाम्राकुरासंग भनिन्, ‘अधिवेशन सार्ने विषयको अन्तिम निर्णयका लागि हामीले सभापतिको निर्देशन पर्खिरहेका थियौं । उहाँ आउनु भएको छलफल गरेर तत्काल अघि बढ्छौं ।’
साढे चार वर्षदेखि तदर्थवादमा चलिरहेको निर्वाचन समितिका पदाधिकारीले समेत चौथो महाधिवेशनमा उम्मेदवारी दिन पाउनु पर्ने आवाज उठेसंगै महाधिवेशन अन्योलमा परेको हो । हालसम्म ५६ जिल्लाको अधिवेशन भइसकेको र भदौ २४ भित्र थप ९ जिल्लाको अधिवेशन सकिने बताइएपनि सभापति बाहिर गएको बेला अनेक विवाद सिर्जना भएका छन् । २४ गतेदेखि पोखरामा हुने भनिएको महाधिवेशन समयमै गर्न देउवाले प्रयत्न गर्ने बताइएको छ ।
साढे ४ वर्षअघि तत्कालीन पार्टी सभापति सुशील कोइरालाले ६ महिनाभित्र निर्वाचन गर्नेगरी तदर्थ समिति बनाएका थिए । त्यतिबेला तदर्थसमितिमा रहेकाहरु कसैले पनि उम्मेदवारी दिन नपाइने नियम लगाइएको थियो ।
खाँणको नेतृत्वको निर्देशन समिति भदौ २० सम्म थप ९ जिल्लाका अधिवेशन सम्पन्न हुने भएकाले महाधिवेशन रोक्न नहुने पक्षमा छ । तर, तरुण दलका केन्द्रीय अध्यक्ष उदयशमसेर राणाले केन्द्रीय अधिवेशन केही पर सार्न निर्देशन समिति समक्ष माग गरेका छन् । सवै जिल्लाका अधिवेशन सकेर मात्रै महाधिवेशन गर्नुपर्ने माग राणाको छ ।
राणाले यसअघि हाम्राकुरासंग कुरा गर्दै कुनै पनि जिल्लामा विवाद नरहेको र समयमा महाधिवेशन हुने बताएका थिए । उनले केही कारणले रोकिएका जिल्ला अधिवेशनमा केन्द्रबाट जाने प्रतिनिधिले सहजिकरण गर्ने समेत सुनाएका थिए । विवाद लम्बिरहे तरुण दल विघटन हुने समेत बताउँदै आएका छन् ।