arrow

असहाय बालबालिकाकी अभिभावक ‘कमला’

logo
रासस
प्रकाशित २०७९ भदौ २८ मंगलबार
kamala sapkota.jpg

स्याङ्जा । सडकमा हिंँड्दै गरेका सहाराविहीन बालबालिका देख्दा कमलाको मन छोयो । अभिभावक कोही भएको भए त अरु बालबालिका जस्तै घरमै बस्थे होलान्, पढ्थे होलान्, आमा बुवाको काखमा रमाउँथे होलान् भन्ने कुराले मनमा चसक्क घोच्यो । 

दुई÷तीन यस्ता असहाय बालबालिकाको अभिभावक बन्छु भन्ने त उनलाई भयो तर आफूले दुई/तीनको अभिभावकत्व लिँदैमा समाजमा थप अरु असहाय बालबालिकाको अभिभावक को बन्छ त ? उनलाई यही कुराले बारम्बार झकभकाइ रहयो । 

दुई/तीन जनाको अभिभावक बनेर साहारा दिन्छु भन्ने सोच मनैबाट पलाए पनि आफ्ना आफन्तहरु र यस विषयका जानकारहरुसँगै बुझ्दा व्यक्तिगतभन्दा पनि संस्थागत तरिकाले अगाडि बढ्दा राम्रो हुने सुझाव पाएपछि संस्था दर्ता गरेर असहाय बालबालिकाको अभिभावक बन्ने अभियान थालिन् ।

दश वर्षे द्वन्द्वका समयमा अभिभावक गुमाएका, अङ्गभङ्ग भएका परिवारका बालबालिका हाल समाजमा विभिन्न कारणबाट अभिभावकविहीन बन्न पुगेका बालबालिकालाई आश्रय दिनेगरी अमोर सेवा नेपाल संस्था स्थापना भयो । कमला पराजुलीको अध्यक्षतामा स्याङ्जाको फेदीखोला गाउँपालिका १ मा कार्यालय रहने गरी विसं २०६८ मा संस्था स्थापना भएको हो ।

‘विसं २०६८ मा संस्था स्थापना भए पनि विसं २०७२ मा सात जना अभिभावकविहीन बालबालिका राखेर काम अभियान थालिएको हो’, उनले भनिन् । बालगृहमा अहिले ३० जना बालबालिका बस्दै आएका छन् । अभिभावकविहीन, घर परिवारबाट त्यागिएका, अपाङ्गता वा घाइते भई पालनपोषण गर्न नसक्ने परिवारका रुकुम, मुगु, पर्वत र स्याङ्जाका बालबालिका बालगृहमा राखेर अभिभावकत्व प्रदान गरिएको पराजुली बताउछिन् ।

बालगृहमा तीन वर्षदेखि १७ वर्ष उमेर समूहका २० बालक र १० बालिका छन् । अभिभावकविहीन बालबालिकालाई अभिभावकत्व प्रदान गर्दै उनीहरुको लुगाफाटो, खानपिन, बसोबास तथा अध्ययनको व्यवस्थापन कमलाले मिलाउँदै आएकी छन् । “बालगृह सञ्चालनका लागि आम्दानीको स्रोत भने केही छैन”,उनले भनिन्, “मुख्य स्रोत भनेकै मुठीदानसहित जन्मदिन, वार्षिक पुण्यतिथिमा गरिने कार्य, धार्मिक कार्य, विभिन्न सङ्घसंस्थाले खाद्यान्न, लत्ताकपडालगायत नगद तथा जिन्सीका रुपमा प्राप्त हुने सहयोग नै हो ।”

असहाय बालबालिकाको अभिभावकको रुपमा स्थापित भएको बालगृहमा स्थानीय तहले हालसम्म कुनै पनि किसिमको सहयोग गरेका छैन । बालगृहले हालसम्म सञ्चालनका लागि कुनै पनि विदेशी सहयोग नलिएको उनले बताइन् ।

बालगृहमा बस्दै आएका २८ बालबालिका दामगाडे माध्यमिक विद्यालयमा र २ जना सिद्धार्थ माध्यमिक विद्यालयमा अध्ययनगर्दै आएका छन् । बालगृहमा आश्रित रहेका बालबालिकालाई अध्यक्ष कमला, बुवाआमा र २ जना सहयोगीहरु निरन्तर खट्दै आएकी छन् । बालगृह सञ्चालनका लागि मासिक रुपमा करिब रु दुई लाख ५० हजार खर्च हुने गरेको उनले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ