arrow

डा सुनील शर्माले दुई दिनमा गरे छ वटा निःशुल्क स्वास्थ्य शिविर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २९ बुधबार
Swasthya-Sibir-Photo.jpg

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनील शर्माले दुई दिनको अवधिमा ६ वटा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका छन् । अस्पतालमार्फत दैनिकजसो निः शुल्क स्वास्थ्य शिविर गर्दै आएका डा. शर्माले यसपटक स्थानीयको स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेका छन् । 

सोमबार तीन ठाउँमा निः शुल्क शिविर गरेका डा. शर्माले मंगलबार मोरङको क्षेत्र नं. ३ का तीन छुट्टा छुट्टै स्थानमा सञ्चालन गराएको निःशुल्क स्वास्थ्य शिविरबाट आठ सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । 

डा. शर्माले नोबेल अस्पतालमार्फत बेलवारी वडा नं.२, बेलबारी वडा नं.११ र पथरीशनिश्चरे वडा नं.३ मा शिविर सञ्चालन गराएका हुन् । तीन वटा शिविरबाट ८ सय ४ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालले जनाएको छ । 

बेलवारी वडा नं.२ मा आयोजित शिविरमा ७५ जनाको इसीजी, ८९ जनाको रक्त परीक्षण र १०७ जनाको भिडियो एक्सरेसहित कुल २९२ बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । नोबेलका छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे नेतृत्वको डाक्टरहरुको टोलीले शिविरमा आएका बिरामीहरुको स्वास्थ्य परीक्षण गरेको थियो ।
    
त्यस्तै, ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर बेलबारी वडा नं.११ मा शिविर सञ्चालन गरिएको छ । शिविरमा १६५ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १३१ जना बिरामीको मुटुको जाँच इको गरिएको छ । नोबेलका मुटुरोग बिशेषज्ञ प्रा.डा.राजेश नेपाल नेतृत्वको डाक्टरहरुको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको हो । यता, पथरीशनिश्चरे वडा नं.३ मा पनि शिविर सञ्चालन गरी ३४७ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा स्त्रीरोग बिशेषज्ञ डा.तृप्ती यादव नेतृत्वको डाक्टरहरुको टोलीले ८७ जनाको ईसीजी, ९१ जनाको रक्त परीक्षण र १२१ जनाको भिडियो एक्सरे गरेको छ ।
    
तीन वटै शिविरबाट थप उपचारका लागि १२५ जना बिरामीलाई नोबेल अस्पताल रेफर गरिएको छ । बेलवारी २ को शिविरबाट ४२, बेलबारी–११ को शिविरबाट ५२ र पथरीशनिश्चरे–३ को शिविरबाट ३१ जना विरामीलाई रेफर गरिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । 

रेफर भएका बिरामीहरुलाई डा.शर्माले नोबेलकै गाडीमा अस्पताल ल्याउने र उपचार पश्चात घर पुर्र्याउने व्यवस्था मिलाइदिएका छन् ।
    
बेलवारी घर भएका डा.शर्माले आफ्नो चुनावी क्षेत्रसमेत रहेको क्षेत्र नं. ३ मा वर्षौ अघिदेखि नोबेल मार्फत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराउँदै आएका छन् । 

समाजसेवाका माध्यमबाट लोकप्रियता कमाएका डा. शर्मालाई अहिले नेपाली कांग्रेसले सोही क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वार बनाउन सर्वसम्मत सिफारिस गरेको छ । 

डा. शर्मा गत प्रतिनिधि सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेद्वार थिए, तर पराजित भए । चुनाव हारेर पनि डा.शर्मा सो क्षेत्रका जनताको सेवामा नियमित लागिरहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ