काठमाडौं । निल आर्मस्ट्रङसँगै चन्द्रमामा पुगेर मानव पाइला राख्ने अर्का यात्री बज एल्ड्रिन नेपाल आएका छन् । उनी आइतबार राति नेपाल आइपुगेका हुन् ।
पहिलो अन्तरिक्षयान एपोलो ११ मार्फत उनी निल आर्मस्टङसंगै चन्द्रमामा पुगेका थिए । अन्तरिक्ष दलका प्रमुख निल आर्मस्ट्रङले चन्द्र सतहमा ६ घन्टा बिताएपछि मात्र एल्ड्रिन चन्द्र धरातल टेकेका थिए ।
सुनसरीको सितागञ्जस्थित शान्तिवनस्थित एभरेस्ट साइन्स सेन्टरमा मंगलबार आयोजना हुने कार्यक्रममा सहभागी हुन एल्ड्रिन नेपाल आएका हुन् । उनले सेन्टरमा नेपालीलाई आफ्नो चन्द्रमा अनुभव सुनाउने छन् ।
चन्द्रमाको धर्तीमा पुग्दाको अनुभव सुन्न मंगलबार ठूलो संख्यामा विद्यार्थीहरु शान्तिवन पुग्दैछन् ।
एल्ड्रिनले मंगलग्रहमा बस्ती बसाउन सकिने योजनाबारे पनि आफ्नो योजनाबारे प्रस्ट पार्ने छन् । नासाले पनि यस विषयमा निकै खोज अनुसन्धान गरिरहेको छ ।
चन्द्रयात्रीलाई ल्याउन सेन्टरले निकै ठूलो रकम खर्च गरेको छ । हवाई भाडा, चन्द्रयात्रीको परिश्रमिक र अन्यसमेत गरेर ५० लाख रुपैयाँभन्दा धेरै खर्च हुने बताइएको छ । यसअघि साइन्स सेन्टरले चन्द्रमाको पत्थर ल्याएर प्रदर्शनीमा राखेको थियो ।
एल्ड्रिनले बुधबार र बिहीबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने अन्तक्रिर्यामा आफ्ना अनुभव राख्नेछन् ।
सन् १९९६ मा अपोलो ११ अन्तरिक्ष यानमार्फत अमेरिकी नागरिक निल आर्मस्टङको नेतृत्वमा नासाको टोली चन्द्रमामा पुगेको थियो ।
८७ वर्षीय एल्ड्रिन सोमबार लुम्बिनी जाँदैछन् ।