काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।
ओली दिउँसो स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि ओलीले संचारकर्मीसंग कसैको बहकाव र दबाबमा संविधान संशोधन नहुने बताएका छन् । ओलीले संविधान संशोधनको आधार पेश नगरी कसैले गाउँदैमा प्रक्रिया थलनी हुन नसक्ने बताएका हुन् ।
ओलीले भने, ‘संविधान संशोधन हुनसक्छ । एकपटक संशोधन भई पनि सकेको छ । तर, संविधान संशोधन चाहनेहरुको माग के हो प्रष्ट छैन । माग उचित भए संशोधन हुनसक्छ ।’
अध्यक्ष ओलीले वर्तमान सरकारले पनि संविधान संशोधनका बारे आफ्नो धारण स्पष्ट रुपमा पेश नगरेकोले सरकारबाट ठोस प्रस्ताव आएपछि मात्रै विचार गर्न सकिने बताए । यसअघि ओली नभएका बेला बसेका शीर्ष तीन दलका बैठकमा पनि एमाले नेताहरुले संविधान संशोधनको स्पष्ट खाका मागेका थिए ।
अध्यक्ष ओली उपचारको लागि भदौ ९ गते थाइल्याण्ड जाँदा समेत विमानस्थलमा संविधान संशोधनको औचित्य छैन भनेका थिए । थाइल्याण्डको बैंककस्थित अस्पतालमा ओलीले मृगौला र छालाको चेकजाँच गराएका थिए । ओलीको साथमा धर्मपत्नी राधिका साक्य पनि थाइल्याण्ड गएकी थिइन् ।