जुम्ला । जुम्लामा एक पछि अर्को गर्दै हात हतियार फेला पर्न थालेको छ । ५ दिन अघि मात्रै अत्याधुनिक चाइनिज पेस्तोल र एसएमजी फेला परेकामा आइतबार एसएलआर र सोमबार फेरि एसएलआरमै लाग्ने म्याग्जिन एक थान र १५ राउण्ड गोली फेला परेको छ ।
जुम्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक विष्णुहरी कोइरालालले हाम्रा कुरासंग भने, ‘हामीले आधारमा अस्ति पक्राउ परेकैहरुले लुकाएर राखेको विशेष सुराकी पाएपछि खोज तलास गर्दा हतियार फेला पारेका हौं । यो डाका समूहले नै लुकाएको हाम्रो अनुमान हो ।’ कुनै राजनीतिक संगठन वा भूमिगत संगठनको संलग्नता रहेकोबारे चाँचबुझ गर्नु भएको छ ? जवाफमा उनले भने, ‘त्यतातिर नजाऔं होला । यो डाँका समूहले नै राखेको हो भन्ने हामीलाई विवरण प्राप्त भएको छ ।’
आइतबारमात्रै जुम्लाको शनिगाउँ –४ सिंजा जाने बाटोमा पर्ने जलजला जंगलबाट प्रहरीले अत्याधुनिक हतियार एसएलआर भेट्टायो । कोइरालाका अनुसार अचम्म त के भने सदरमुकामबाट १२ घण्टा पैदल लाग्ने जलजलामा एसएलआर भेटिँदा त्यसको चालवाला पुर्जा, म्याग्जिन र २५ राउण्ड गोली भने फेरि १० देखि १२ घण्टा लाग्ने धापा –६ घोडेङ्गास्थित स्याउ बारीमा झोलामा लुकाइ राखेको अवस्थामा फेला भेटिए ।
यस्तै, सोमबार फेरि सोही स्याउबारीमा लुकाएर राखेको अस्थामा एसएलआरमा लाग्ने म्याग्जिन एक थान र १५ राउण्ड गोली फेला पारेको कोइरालाले बताए । गएको विहिबार मात्रै जुम्ला प्रहरीले बुम्रमाडिचौर–३ नेउरीघाटबाट अत्याधुनिक हतियारसहित ५ जनालाई पक्राउ गरेको थियो । ती ५ संगै अर्का एक जना पनि पक्राउ परेका छन् ।
डकैतीमा संलग्न भनिएका उनीहरुले साउन र भदौ महिनामा विशेष गरी यार्सागुम्बा टिप्न आएका संकलक, व्यापारी र चीनबाट आउने व्यापारीहरुलाई लक्षित गरी लुटपाट गर्ने गरेको प्रहरीको भनाई छ । जुम्लामा लुटपाट र डकैतीका घटना बढेपछि प्रहरीले निगरानी निकै बढाएको छ ।
डकैती, लुटपाट गर्ने योजनाका साथ बसिरहेकै समयमा विहिबार नेउरीघाटबाट पक्राउ परेका जुम्ला गज्याङ्गकोट–२ बस्ने ३० वर्षीय धिरबहादुर परियार, मालिकाठाटा–४ का ३२ वर्षीय मानबहादुर बोहोरा, जुम्ला धापा–६ बस्ने ३३ वर्षीय अशोक तिरुवा, मुगुको जिना–३ बस्ने २५ वर्षीय २५ गोविन्द टमाटा र कोटवाडा–८ बस्ने ३१ वर्षीय दलबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
उनीहरुबाट बरामद एक थान चाइनिज पेस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोली, एक थान आधुनिक एसएमजी, एउटा म्यागजिन, ७ राउण्ड गोली, ७० हजार नगद रुपैयाँ समेत प्रहरीले सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रनाउ कोइरालाका अनुसार पछिल्लो ४–५ वर्ष यता यार्सा टिप्ने समय र यो समयमा धेरै लुटपाटका घटनाहरु हुने गरेका छन् । यो जडिबुटी खरिद बिक्री गर्ने समय भएकाले पनि चोरी डकैतीका घटना बढेका उनले बताएका छन् ।