arrow

वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्तावमा महासंघमा चर्को बहस

निर्वाचन स‌घीय स‌ंरचनामा हुने

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ भदौ २० सोमबार
Fncci_50-Years.jpeg
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी महाधिवेशनको लागि विधान संशोधन गर्ने विषयमा चर्काे बहस सुरू भएको छ । महासंघलाई प्रादेशिक संरचनामा लैजाने विषयमा कुनै विवाद नभएपनि वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने भन्ने विषयमा भने पछिल्लो समय मत वाझिन थालेको महासंघ निकट स्रोतले जानकारी दिएको छ । 
 
महासंघको आगामी चैत महिनामा हुने निर्वाचनको लागि विधान संशोधन गर्नको लागि गठित विधान संशोधन समितिले यस विषयमा विभिन्न जिल्लागत उद्योग वाणिज्य संघमा सुझावको लागि समेत पठाईसकेको छ। तर, यस विषयमा सबै जिल्लाबाट आधिकारिक सुझाव प्राप्त नभईसकेको विधान संशोधन समितिका सदस्य नरेन्द्र खड्काले जानकारी दिए । 
 
अहिले विशेषगरी पुरानै संरचनामा निर्वाचन गर्ने या त नयाँ संरचनाबाट निर्वाचन गर्ने भन्ने विषयमा एउटा बहसको विषय चलिरहेको छ भने त्यसमा पुरानो संरचनाबाट भन्दा नयाँ संरचनाबाट निर्वाचन गर्नुपर्नेमा अधिकांश केन्द्रीय सदस्य र जिल्लास्थित उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरू रहेका छन् । तर, वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्तावमा भने मत विभाजन चुलिएको उद्योग वाणिज्य महासंघ स्रोतले जानकारी दिएको छ । 
 
तर, विधान संशोधन समितिका संयोजक चण्डीराज ढकालले भने विवाद चुलिने कुरै नभएको भन्दै यो विषय सर्वसम्मत रूपमा पारित हुने ठोकुवा गरे । उनले महासंघ व्यवसायमुखी भन्दा पनि राजनीतिमुखी बन्न थालेको र सरकार पछिको देशभर सञ्जाल भएको यस्तो महत्वपूर्ण संस्थाले आफ्नो व्यवसायिक मर्यादा भुल्न खोजेको हो कि भन्ने गुनासाहरू समेतलाई चिर्नको लागि पनि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्नु ठीक रहेको तर्क गरे । उनले यो वा त्यो अध्यक्ष बन्छ भनेर तर्क गर्नु भन्दा पनि पद्धति बसेपछि सबैजनाले यो मौका पाउछन् भन्ने तर्फ पनि सोच्ने हो भने उद्योग वाणिज्य महासंघमा नयाँ पद्धतिको विकास हुने तर्कपनि संयोजक ढकालले गरे । 
 
उता, जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधिहरू भने यस्तो प्रक्रियाले आफूहरूको अधिकार पनि कटौंती हुने भन्दै यस्तो व्यवस्था पारित हुन कठिन रहेको तर्क पनि गर्ने गरेका छन् । अहिलेको विधानले १ जना कोषाध्यक्षको व्यवस्था पनि गरेको छ भने प्रादेशिक अध्यक्षहरूलाई आमन्त्रित पदाधिकारीको रूपमा राख्ने प्रस्ताव पनि गरिएको ढकालले जानकारी दिए । विधानलाई आगामी कात्तिक पहिलो साता बस्ने विशेष साधारणसभामा प्रस्तुत गरिनेछ ।
 
जसबाट बहुमतले विधान पारित भएको खण्डमा यस आगामी अध्यक्षको रूपमा अहिलेकी वरिष्ठ उपाध्यक्ष भवानी राणा स्वतः अध्यक्ष हुनेछिन् भनेत्यसपछि भावी अध्यक्ष अर्थात् वरिष्ठ उपाध्यक्षको उम्मेदवारीलाई चासोका साथ हेरिनेछ । अहिलेको उक्त विभान संशोधन समितिमा ढकालको संयोजकत्वमा पदाधिकारीहरूसहित विभिन्न बस्तुगत संघको नेतृत्व पनि रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ