काठमाडौं। नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा सिंगापुरमा उपचार गरेर फर्किए लगत्तै केहि निर्णय गर्ने तयारीमा रहेका छन् भने केहि निर्णय फिर्ता लिएका छन्। पार्टीका नेताहरुसँग परामर्शै समेत नगरि तरुण दलको निर्देशन समिति खुसुक्क विस्तार गरेर सिंगापुर गएका देउवाले सिंगापुरबाट फर्किने वित्तिकै आफ्नो निर्णय सच्याएका हुन्। एकातिर पार्टीका पदाधिकारीहरु थप्ने तयारीमा रहेका सभापति देउवाले तरुण दलमा आफैले गरेका निर्णयले समस्यामा परेका थिए। निर्देशन समिति विस्तार गर्ने उनको निर्णयले तरुण दलको महाधिवेशन निर्देशन समितिको वैठक नै अवरुद्ध भएपछि उनी नेपाल नफर्किएसम्म समितिको वैठक बस्न पनि सकेको थिएन। देउवाले सिंगापुर जानु अघी काँग्रेस केन्द्रीय सदस्यद्धय विश्वप्रकाश शर्मा र महेन्द्र यादवलाई समितिमा थपेका थिए।
देउवाले थपेका सदस्यहरु निर्देशन समितिको वैठकमा देखिएपछि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र नेता कृष्ण प्रसाद सिटौला पक्षले त्यसको प्रतिवाद गरेका थिए। वैठकमा सहभागि हुन पुगेका पौडेल पक्षका हृदयराम थानी र सिटौला पक्षका उमाकान्त चौधरीले थपिएका सदस्यहरु सहभागि हुने हो भने वैठक वहिष्कार गर्ने भनेर वैठकबाट निस्कन थालेपछि सभापति देउवा नेपाल नआइन्जेल वैठक नबस्ने सहमति भएको थियो। सभापति देउवाले नेपाल आएर परिस्थितिको जानकारी लिएपछि लगत्तै शर्मा र यादवलाई त्यस समितिमा राख्ने आफ्नो पुरानो निर्णयलाई सच्याउँदै उनीहरुलाई त्यस समितिबाट फिर्ता लिएका थिए। २ जना सदस्य फिर्ता भएपछि सात जनाको समितिको वैठक आइतवार बसेको थियो।
निर्देशन समितिमा भनाभन
तरुण दलको महाधिवेशनको तयारीका लागि पार्टीले बनाएको निर्देशन समितिको वैठक आइतवार बस्यो। वैठकमा अधिवेशन हुन वाँकी रहेका जिल्लाहरुको अधिवेशन सकाउँदा महाधिवेशन समयमा हुन नसक्ने भन्दै केहि दिन पछाडी सार्ने प्रस्ताव भयो। जस अनुसार असोजको पहिलो हप्ता महाधिवेशन गर्ने सहमति भयो। तर महाधिवेशन कहाँ गर्ने भन्नेमा भने सदस्यहरुबीच तनावको स्थित सिर्जना भयो।
निर्देशन समितिका दुई जना सदस्यहरु दर्उवा पक्षीय सुरेन्द्र पाण्डे र सिटौला पक्षीय उमाकान्त चौधरीबीच निकै चर्का चर्की भयो। उनीहरुबीच महाधिवेशन गर्ने स्थानका बारेमा निकै चर्चाचर्की भयो। पाण्डेले पोखरामा गर्ने प्रस्ताव गरे भने चौधरीले काठमाडौंमै गर्न सुझाए। पाण्डेले तरुण दलले पोखरामा महाधिवेशन गर्ने सबै तयारी गरिरहेकोले त्यहाँ गर्न सुझाए भने चौधरीले त्यसमा असहमति जनाए। चौधरीले महिला संघको महाधिवेशन काठमाडौंबाट सकेर जाँदा पोखरामा धेरै ध्यान दिन नसकिने बताए। उनले विवादहरु भएको अवस्थामा सहमति खोज्नुपर्ने अवस्थामा नेताहरुसँग समन्वय गर्न पनि काठमाडौंमा सहज हुने चौधरीको तर्क थियो। तर पाण्डेले पोखरामा सबै तयारी भएका कारण स्थान परिवर्तन गर्न नहुने भन्दै अडानमा रहेपछि दुबैबीच तनाव भएको थियो। तनावकै बीच पार्टी नेताहरुसँगको समन्वयमा महाधिवेशनस्थलको टुङगो लगाउने वैठकमा सहमति भयो।
वैठकले कार्यसमितिका सदस्यहरुले महाधिवेशनमा उम्मेद्वार बन्न पाउने नपाउने निर्णय पनि गर्न सकेन। यसबारे निर्णय गर्ने जिम्मा पनि वैठकले नेताहरुलाई दिने भएको छ। पार्टीको केन्द्रीय समितिले रोक लगाएको कारण केन्द्रीय समितिले नै खुल्ला गर्नुपर्ने भएकोले यो बारेमा पार्टीको कार्यसमितिले निर्ण लिनुपर्ने वैठकमा सहमति भएको छ। असोज ३ देखि ५ सम्म महाधिवेशन गर्ने नयाँ तिथी प्रस्तावित गरिएको छ।