डा. केसीलाई काठमाडौं ल्याउने सरकारको प्रयास, जबरजस्ती गरे अपहरण मान्ने केसीको भनाइ
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ४ मंगलबार
1.6k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । नौ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याएर थप उपचार गर्न सरकार प्रयासरत रहेको छ । डा. केसी धनगढीमा आमरण अनसनरत छन् । उनी केही दिनदेखि त्यहाँको अस्पतालमा रहेर उपचाररत छन् ।
काठमार्डौं ल्याउने भनिएपछि नेपाली सेनाको हेलिकोप्टर धनगढी एयरपोर्टमा पुगिसकेको छ । तर उनी भने काठमाडौं आउन राजी छैनन् । उनका सहयोगीहरुका अनुसार केसीले भोलि साँझ आफै काठमाडौं आउने तर आज भने कुनै पनि हालतमा नआउने बताएका छन् ।
यदि जबरजस्ती गरेमा यसलाई अपहरण मान्ने भन्दै डा. केसीले त्यसविरुद्ध लड्ने बताएका छन् ।
उनको स्वास्थ्य भने बिग्रदो छ । यता सरकार र डा. केसीका प्रतिनिधिबीच छलछल जारी छ । डा. केसी सहज स्वास्थ्य शिक्षाका लागि बीसौं पटक आमरण अनसनमा बसेका हुन्।