arrow

डा सुनील शर्माद्वारा सञ्चालित तीन शिविरबाट एक हजार बिरामी लाभान्वित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ५ बुधबार
Nobel-Health-Camp.jpg

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनील शर्माले मंगलवार मोरङको क्षेत्र नं. ३ का तीन छुट्टा छुट्टै स्थानमा सञ्चालन गराएको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार बिरामी लाभान्वित भएका छन् । डा.शर्माले नोबेल अस्पतालमार्फत बेलवारी वडा नं.१, सुन्दरहरैंचा वडा नं.१ र पथरीशनिश्चरे वडा नं.२ मा शिविर सञ्चालन गराएका हुन् ।

       तीन वटा शिविरबाट ९ सय ६२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालले जनाएको छ । सुन्दरहरैंचा वडा नं.१ मा आयोजित शिविरमा ८५ जनाको इसीजी, २०९ जनाको रक्त परीक्षण र १७५ जनाको भिडियो एक्सरेसहित कुल ४३७ बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । त्यस्तै दाँतमा समस्या भएर शिविरमा आएका २१ जनाको दाँत खोलिएको छ । नोबेलका छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे र स्त्रीरोग विशेषज्ञ प्रा.डा.शान्ति सुवेदीसहितका डाक्टरहरुको टोलीले शिविरमा आएका बिरामीहरुको स्वास्थ्य परीक्षण गरेको थियो ।

       त्यस्तै, ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर बेलवारी वडा नंम्बर १ मा शिविर सञ्चालन गरिएको छ । शिविरमा १५१ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा ८९ जना बिरामीको मुटुको जाँच इको गरिएको छ । नोबेलका मुटुरोग विशेषज्ञ प्रा.डा.राजेश नेपाल नेतृत्वको डाक्टरहरुको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको हो ।

यता, पथरीशनिश्चरे वडा नं.२ मा पनि शिविर सञ्चालन गरी ३७४ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा स्त्रीरोग विशेषज्ञ डा.मुञ्जल यादव नेतृत्वको डाक्टरहरुको टोलीले ९७ जनाको इसीजी, १०२ जनाको रक्त परीक्षण र १०७ जनाको भिडियो एक्सरे गरेको छ । त्यस्तैगरी शिविरमा १६ जनाको दाँत पनि फुकालिएको छ ।

       तीन वटै शिविरबाट थप उपचारका लागि १२३ जना बिरामीलाई नोबेल अस्पताल रेफर गरिएको छ । सुन्दरहरैंचा–१ को शिविरबाट ४२, बेलबारी–१ को शिविरबाट ३७ र पथरीशनिश्चरे–२ को शिविरबाट ४४ जना बिरामीलाई रेफर गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । रेफर भएका बिरामीहरुलाई डा.शर्माले नोबेलकै गाडीमा अस्पताल ल्याउने र उपचार पश्चात घर पुर्र्याउने व्यवस्था मिलाइदिएका छन् ।

       बेलवारी घर भएका डा.शर्माले आफ्नो चुनावी क्षेत्रसमेत रहेको क्षेत्र नं. ३ मा बर्षौ अघिदेखि नोबेल मार्फत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराउँदै आएका छन् । समाजसेवाका माध्यमबाट लोकप्रियता कमाएका डा.शर्मालाई अहिले नेपाली कांग्रेसले सोही क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वार बनाउँन सर्वसम्मत सिफारिस गरेको छ । डा.शर्मा गत प्रतिनिधि सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेद्वार थिए, तर पराजित भए । चुनाव हारेर पनि डा.शर्मा सो क्षेत्रका जनताको सेवामा नियमित लागिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ