काठमाडौं । महिला विश्वकप क्रिकेट छनोटका लागि यतिबेला बन्द प्रशिक्षणमा रहेको छ । प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएका राजु बस्नेतका अनुसार ४८ जनाबाट सुरु गरिएको बन्द प्रशिक्षणमा सोमबार (भदौ २०, सेप्टेम्बर ५) २४ जनामा झारेर थालिएको छ । अब आउँदो आइतबार (भदौ २६, सेप्टेम्बर ११) अन्तिम १४ जना छनोट हुनेछन् ।
यही अन्तिम छनोट भएको टिम अर्को महिला हङकङमा हुने विश्वकप छनोटका लागि असोज २१ गते (अक्टोवर ७) हङकङ प्रस्थान गर्नेछ ।
आइसीसीको तालिकाअनुसार नेपालले पहिलो खेल आयोजक हङकङसंग असोज २३ गते (अक्टोवर ९) खेल्नेछ ।
यसपटक दोहोरो लिगका आधारमा असोज २३ देखि २९ गतेसम्म (अक्टोबर ९ देखि १५ तारिखसम्म) हुने छनोट चरणमा नेपाल र हङकङसँगै चीन र थाइल्याण्ड आपसमा खेल्दैछन् ।
समूहको शीर्ष स्थानमा रहने टोलीले महिला विश्वकप क्रिकेटको मुख्य प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।
को को छन् अहिले बन्द प्रशिक्षणमा नेपाली खेलाडीहरु–
–सीता रानामगर
–काजोल श्रेष्ठ
–वर्षा राना
–शोभा आले
–नेरी थापा मगर
–नीरा राजोपाध्याय
–रोशनी बोहरा
–सरस्वती पुन
–लक्ष्मी चौधरी
–संगीता राई
–इन्दू बर्मा
–ज्योती पाण्डे
–ममता थापा
–सुबिना क्षत्री
–सबनम राई
–रीतु कनौजिया
–रश्मी शर्मा चौलागार्इँ
–गीता गोसाईं
–सरस्वती चौधरी
–अनुराधा चौधरी
–ममता चौधरी
–निर्मला शर्मा
–करुणा भण्डारी
र, सरिता मगर
मुख्य प्रशिक्षक राजु बस्नेतलाई प्रशिक्षणमा राष्ट्रिय पुरुष टिमका मुख्य प्रशिक्षक जगत टमाटाले संयोजन गरिरहेका छन् । त्यस्तै राष्ट्रि पुरुष टिमका बलिङ प्रशिक्षक विनोद दासले बलिङमा सघाइरहेका छन् ।
के छ प्रशिक्षणको योजना ?
मुख्य प्रशिक्षक राजु बस्नेतका अनुसार आउँदो आइतबार १४ जनाको नाम छनोट हुनपूर्व आपसमा केही खेल खेल्नेछन् । त्यसकै आधारमा खेलाडीहरु छानिने छ । अन्तिम १४ जनाको नाम सार्वजनिक भएपछि अलि कडा टिमबीच प्रतिस्पर्धा गराउने सोच छ ।
नेपाली राष्ट्रिय पुरुष टिमले पनि मैत्रिपूर्ण खेल खेल्न सक्नेछ ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको अभ्यास पर्याप्त नभए पनि खेलाडीहरुले त्यही नै निरन्तर प्रशिक्षण लिइरहेका छन् ।
नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेका अवस्थामा तीन जनाकै टोलीले खेलाडी छनोटदेखि खाजाको व्यवस्था गर्दै आइरहेको छ ।
यो बन्द प्रशिक्षणलाई राष्ट्रिय खेलकुद परिषदले पनि हेरिरहेको छ ।