काठमाडौं । प्रसिद्ध भारतीय लीडम्यान प्राध्यापक टि। वेकंटेश नेपाल आउँदैछन् । भारतमा केही समय अगाडि म्यागी चाउचाउमा हानिकारक लीडको मात्रा बढी रहेको भनेर विषयबस्तुको उठान गरेपछि भारत सरकारले समेत सो चाउचाउलाई प्रतिबन्ध लगाएको थियो । पछि उसले आफ्नो उत्पादनमा मापदण्ड भेट्ने गरी लीडको मात्रा मिलाएपछि मात्रै बजारमा चाउचाउ पठाएको थियो ।
त्यतिबेलाको लीडमुक्त अभियानका मुख्य अभियान्त वेकंटेश शुक्रबार नेपाल आउँदैछन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी हुनको लागि शुक्रबार नेपाल आउन लागेका हुन् । यसरी नेपालमा लीडको बारेमा जनचेतना जगाउनको लागि एक अभियान्ता नेपाल आईरहँदा नेपालमा लीडको विषयमा न त सरकारी निकायलाई पत्तो छ न त निजी कुनै स्वास्थ्य संस्थालाई नै ।
पेन्ट्समा लीडको मात्रा बढी भयो भनेर वातावरण मन्त्रालयको एक प्रतिवेदनले पनि पेन्ट्समा अधिक मात्रामा लीड हुने गरेको प्रतिवेदन समर्वजनिक भएपछि केही सञ्चारमाध्यममा यस विषयमा विषय उठान भएको भएपनि खाद्य पदार्थमा लीडको मात्रा परीक्षण गर्ने सरकारी संस्थालाई भने यस विषयमा कुनैपनि जानकारी र चासो समेत रहेको छैन ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस विषयमा खासै परीक्षण गर्ने नगरीएको जानकारी दिएको छ । विभागका सहप्रवक्ता मदन कुमार चापागाईले लीडको मात्राको विषयमा विभागलाई परीक्षण गर्न आवश्यक लागेको बाहेक सबैमा परीक्षण नगर्ने गरीएको जानकारी दिए । नीतिगत रूपमा नै मापदण्डबनाउने बेलामा खाद्य पदार्थमा अनिवार्य लीडको मात्रा परीक्षण गर्नुपर्ने कुरा उल्लेख नगरेकोले पनि आफूहरूले नियमित परीक्षण गर्ने काम नगरिएको जानकारी दिए ।
के छ मापदण्ड ?
मापदण्डले कुन खाद्यपदार्थमा कतिसम्म लीड हुनुपर्ने भनेर स्पष्ट उल्लेख गरेको छ । तर, मापदण्डमा उल्लेखित लीडको मात्रा पूरा छ कि छैन भन्ने विषयमा भने अध्ययन नगर्ने गरेको विभागले स्वीकार गरेको छ । मापदण्डका अनुसार हल्का पेय पदार्थमा बढीमा ०.५५ पीपीएम, जुसमा १ पीपीएम, हल्का पेय पदार्थ बनाउन प्रयोग गरिने झोल पदार्थमा बढीमा दुई पीपीएम, ब्रेकिङ पाउडरमा बढीमा १० पीपीएमसम्म, बेसारमा बढीमा १० पीपीएमसम्म र शिशुको आहारामा ०.२ पीपीएमबन्दा बढी लीडको मात्रा हुनु नहुने भनेर मापदण्डले उल्लेख गरेको छ । तर, बजारमा पाईने खाद्य सामग्रीमा लीडको अवस्था कस्तो छ भनेर हेर्ने सरकारी निकाय भने यस विषयमा मौन रहेको छ ।
यही परिस्थितीमा लीडमुक्त समाजको लागि अभियान सञ्चालन गरेका अभियान्ता नेपाल आउँदैगर्दा यस्तो बेवास्तालाई कसरी विश्लेषण गर्छन् भन्ने कुरा हेर्न अझै केही दिन कुर्नुपर्ने हुन्छ ।