arrow

जनतालाई राहत दिन सरकार प्रतिबद्ध : प्रधानमन्त्री दाहाल

logo
प्रकाशित २०७३ भदौ २१ मंगलबार
maobadi-biplap-gyapan.jpeg
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको दैनिक जीवनलाई सहज र सरल बनाउने उद्देश्यका साथ सरकारले नियमित बजार अनुगमन गरिरहेको र त्यसबाट सकारात्मक परिणाम आइरहेको बताएका छन् । 
 
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले बजार अनुगमनलाई नियमित गर्ने र कालोबजारी तथा कमिसनखोरलाई कानुनको दायरामा ल्याउने प्रयास जारी रहेको बताए ।  
 
आमजनताको माग जतिसक्दो धेरै सम्बोधन गर्न तथा राहत दिन सरकार र आफू पूर्णरुपमा प्रतिबद्ध भएर लागेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसमा सकारात्मक सहयोग गर्न माओवादीका नेतालाई आग्रह गरे । 
 
प्रधानमन्त्री दाहालले भने, ‘आमजनताको माग समावेश गरेर ज्ञापनपत्र बुझाउन आउनुभो, यसले आफूलाई काम गर्न सहयोग पुग्ने छ, यसैगरी सकारात्मक सहयोग गर्नुस्, सरकार पूर्णक्षमताका साथ जनतालाई राहत प्रदान गर्न क्रियाशिल छ ।’
 
ज्ञापनपत्रमा दाल, चामललगायत दैनिक उपभोग्य वस्तुमा ५० प्रतिशत सहुलियत दिन माग गरिएको छ । दाल, चामल, तेल, पिठो, दूध, तरकारी, फलफूल, मासु र मसलाको मूल्यमा ५० प्रतिशत सहुलियत दिन माग गरेको माओवादीका नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिए ।  
 
ज्ञापनपत्र बुझाउन पुगेका अर्का माओवादीका नेता सन्तोष बुढा मगरले जनताको दैनिक जीवनसँग जोडिएका विषयमा विशेष ध्यान दिन र जनतालाई राहत प्रदान गर्न आफूहरुले प्रधानमन्त्रीसँग माग राखेको बताए ।  
 
सो अवसरमा प्रधानमन्त्रीले सरकार जनतालाई बढीभन्दा बढी राहत दिन क्रियाशील रहेको र त्यसैलाई ध्यान दिएर बजार अनुगमनलाई गति दिइएको बताएको नेता मगरले जानकारी दिए । 
 
ज्ञापनपत्रमा किसानका सबै उत्पादन राज्यले खरिद गरी सिधै उपभोक्तासम्म पु¥याउने व्यवस्था गर्न, विचौलियाको जालो ध्वस्त पार्न र सो कार्यमा सङ्लग्नलाई कारबाहीको दायरामा ल्याउन, माथिल्लो कर्णाली, अरुण तेस्रो जलविद्युत् आयोजनामा भारतीय कम्पनीसँग गरिएको आयोजना विकास सम्झौता (पिडिए) तत्काल खारेज गरी स्वदेशी पूँजीमा नै निर्माण गर्न आग्रह गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ