ललितपुर। परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको परराष्ट्र नीतिको आधार हाम्रो आफ्नो राष्ट्रिय स्वार्थ र राष्ट्रिय एकता हुनुपर्ने धारणा राखेका छन्। नेपाल विश्व सम्बन्ध परिषदद्वारा मङ्गलबार आयोजित अन्तरक्रियामा उनले भने -जुनसुकै सरकार आएपनि हाम्रो परराष्ट्र नीति राष्ट्रिय स्वार्थका आधारमा अगाडि बढ्नुपर्छ।
मन्त्री डा महतले नेपालजस्तो मुलुकले छिमेकीसँगको सम्बन्ध बलियो र विश्वासमा आधारित सम्बन्धको विकास गर्नुपर्ने बताए। उनले छिमेकी वा विदेश सम्बन्धका लागि कुनै विशेषण दिनु आवश्यक नभएको र सम्बन्धित देशसँगको अन्तरसम्बन्ध जति धेरै छ त्यति नै मात्रामा सम्बन्ध पनि सघन हुदै जाने धारणा राखे।
प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको प्रसंगमा उनले भने –एउटै भ्रमणबाट सबैखाले मुद्दा टुंगो लाग्दैन र यसका लागि निरन्तर रुपमा विभिन्न तहमा कार्य गर्नुपर्छ। उनले भ्रमणका क्रममा थप प्रस्तावमा जोड दिनुभन्दा पनि भएका आयोजना र विषयवस्तुलाई कार्यान्वयनमा लैजाने काममा जोड दिनुपर्ने बताए। उनले भारत भ्रमणका एजेण्डाहरुमा काम भइरहेको जानाकारी पनि दिए।
नेपालमा आयात र निर्यातबीचका खाडल निकै ठूलो भइसकेको र हामीले निर्यातको तुलनामा निकै नै धेरै आयात गरिरहेकोले यसको भ्रमणले लगानीका बाटोहरु तथा व्यापार प्रवर्धनका उपायहरु खोज्ने कामगर्ने उनले बताए। मन्त्री डा. महतले आफू परराष्ट्रमन्त्री भएपछि नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेको रेमिट्यान्समा ठूलो योगदान पुर्याइरहेको लाखौँ लाख नेपाली कामदार रहेका खाडी क्षेत्रका कामदारहरुको सुरक्षा र हितलाई प्राथमिकतामा राखेको बताए।
यसै क्रममा थोरै भए पनि मलेसियालगायतका धेरै नेपाली वैदेशिक रोजगारीमा रहेका देशमा नयाँ राहादानी बनाउनका लागि यसअघि लाग्दै आएको ८० अमेरिकी डलर दस्तुरलाई घटाएर ५० डलर कायम गर्ने काम परराष्ट्र मन्त्रालयले गरेको जानकारी दिए।
परराष्ट्रमन्त्री डा. महतसँग बृटिश गोरखाको माग
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बेलायती सेनामा कार्यरत ब्रिटीस गोरखा नेपालीको सेवा सुविधा समानताका आधारमा बेलायती नागरिक सरह नै हुनुपर्ने विषयमा बेलायत सरकारसँग कुरागर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बेलायती सेनामा कार्यरत बृटिश गोरखा नेपालीले पनि बेलायती सरह नै सुविधा, पेन्सन, औषधोपचार लगायतको अधिकार समानताको सिद्धान्तका आधारमा हुनुपर्ने विषयमा बेलायतसँगका द्विपक्षीय बैठकहरुमा उठाउने प्रतिबद्धता मन्त्री डा महतले राखे।
ब्रिटीस गोरखा सत्याग्रह संघर्ष समितिको प्रतिनिधिमण्डलले मङ्गलबार मन्त्री डा महतसँग उनको कार्यकक्ष सिंहदरबारमा भेटी सो सम्बन्धी माग राखेको र त्यसका लागि बेलायत सरकारसँग तत्कालै पहल गरिदिन माग गरेको थियो। उक्त प्रतिनिधिमण्डलसँग मन्त्री डा महतले यस विषयलाई आफूले गम्भीरताका साथ लिएको र जतिसक्यो चाँडै बेलायत सरकारसँग कुराकानी गरेर यस समस्या टुंग्याउने बारेमा पहल गर्ने बताए। बेलायती सेनामा कार्यरत बृटिश गोरखा नेपाली र सवानिवृत्तहरुले विगत करिब २६ वर्षदेखि यो माग राखेर संघर्ष गर्दै आएका छन्। उनीहरुले यदि यो समस्या समाधान नगरेमा आगामी नोभेम्बर ७ तारिखदेखि आमरण अनशन गर्ने घोषणा यसअघि नै गरिसकेको जानकारी पनि सो भेटका क्रममा मन्त्री डा महतलाई जानकारी गराएका थिए।