arrow

अन्तिम पटक निर्वाचन लड्दै छु, पार्टीले मेरो मूल्याङ्कन पक्कै गर्नेछ : थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
Bindu Kumar Thapa.jpg

पोखरा । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले आफूले अन्तिम पटक चुनाव लड्न लागेको स्पष्ट पारेका छन् । गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नं. २ (ख) बाट कांग्रेसको केन्द्रीय समितिमा सिफारिस भएका उनले आशन्न निर्वाचन आफ्ना लागि अन्तिम हुने बताए । 

प्रदेशसभा सदस्य र प्रदेशको मन्त्रीको हैसियतमा प्राप्त गरेको सेवा सुविधा सामाजिक सेवामा खर्च गरेको विवरण सार्वजनिक कार्यक्रममा मन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले अन्तिम पटक निर्वाचन लडेर जनताका थप सेवा गर्ने रहर रहेको बताए । उनले भने, ‘विगतमा केही कमि-कमजोरी नभएका होइनन्, त्यसलाई शिक्षाकारुपमा लिएर प्रदेश सरकारलाई थप चुस्त-दुरुस्त बनाउन प्रयत्न गर्नेछु ।’

निकै प्रतिकूल अवस्थामा र बागी उम्मेद्वार रहँदा पनि आफूले २०७४ सालको निर्वाचन जतेको उल्लेख गर्दै आगामी निर्वाचन पनि निर्वाचन जितेरै छाड्ने अठोट गरे । 

तपाइँ पनि मुख्यमन्त्रीको दौडमा हो ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘पार्टीले मूल्याङ्कन गरेर दिएको जिम्मेवारी पनि पूरा गर्नेछु । मुख्यमन्त्रीका लागि म योग्य छु जस्तो लाग्छ ।’ प्रदेशसभा सदस्य पदमा आफू पनि सिफारिस भएको भन्दै उनले पार्टीले आफ्नो भूमिकाको मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरे । 

उनले थपे, ‘पार्टीमा प्रदेशसभा सदस्य पदमा म र कुमार खड्काजीसहित ६ जनाको नाम सिफारिस भएको छ । पार्टीले जसलाई टिकट दिएपनि मेरो विमत्ति हुँदैन । तर पार्टीले उचित मूल्याङ्कन पक्कै गर्नेछ ।’

मन्त्री थापा २०७४ को निर्वाचनमा कास्की क्षेत्र नं. २ प्रदेशसभा (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले वाम गठबन्धनका साझा उम्मेद्वार माओवादी कास्कीका इन्चार्जसमेत रहेका राजकाजी गुरुङलाई ८०२ मतान्तरले पराजित गरेका थिए । सो निर्वाचनमा थापाले १० हजार ७२६ मत पाउँदा गुरुङले ९ हजार ९२४ मत पाएका थिए ।

थापा २०७८ साउन ८ गते गण्डकी प्रदेशको मन्त्रीमा नियुक्त भएका हुन् । उनलाई गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई अर्कै मन्त्रालय दिन निर्देशन दिएको दावी गर्दै सभापतिको निर्देशनसमेत कार्यान्वयन नहुँदा दुःख लागेको उनले बताए । प्रदेशसभा र सरकारमासमेत निर्वाचित सांसद भन्दा समानुपातिक सांसद हावी हुँदा सोचेअनुरुप काम गर्न नपाएको उनको गुनासो छ । प्रदेशको नामाकरण र राजधानी तोक्ने सवालमा विवाद जारी रहँदा सांसद थापाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

मन्त्री थापाले प्रदेशसभा र प्रदेश तहको सरकारको यो पहिलो कार्यकाल भएको बताए । ‘बलियो घर निर्माणका लागीबलियो जगको अति महत्व हुन्छ । घरको संरचना त्यही जगमा उभिएको हुन्छ’, उनले भने, सोही अनुरुप पहिलो कार्यकाल भएकाले पनि प्रदेशले संघीयताको मर्म, भावना अनुरुप कार्य सम्पादनका लागि विभिन्न कानून तथा आधारभूत संरचना निर्माणका लागि अधिकतम् ध्यान र मेहेनत गरेको हो ।’

प्रदेशका कतिपय गतिविधि र क्रियाकलापहरु अझ स्पष्ट रुपमा आम जनमानसमा भिज्न नसकेता पनि यस अवधिमा भएका कानून निर्माण र अन्य गतिविधिले अर्को पटकको प्रदेशसभा सञ्चालन र सरकारको चुस्त दुरुस्त कार्यका लागि बाटो तय गरेको उनले बताए । संघीयताको असल अभ्यास अर्काे पटक अझ स्पष्ट देखिनेछ भन्ने उनको विश्वास छ । 

मन्त्री थापाले प्रदेशको समृद्धि र विकासका लागि सरकारको एक जिम्मेवार सदस्यकोरुपमा काम गर्न पाउँदा खुशी लागेको बताए । उनले आफू राजनीतिमा नितान्त सेवा गर्ने उद्देश्यनुरुप आएको उल्लेख स्पष्ट पारे । ‘राजनीति मेरा लागि पेशा कदापि होइन् । व्यापार, व्यवसाय र अन्य आर्थिक श्रोतले मेरो जीविकोपार्जनमा समस्या छैन । राजनीतिमा नितान्त सेवाका लागि आएको हुँ’, उनले भने ।

‘प्रदेश सांसद हुँदादेखि बहालवालामन्त्रीका रुपमा मैैले प्राप्तगर्ने सबै आर्थिक सुविधाविकास निर्माण र सामाजिक कार्यमा लगाएको छु । प्रदेश सरकारबाट प्राप्त निवासको सुविधा पनि लिएको छैन । जुन विषय यहाँहरुलाई अवगत् नै छ’, उनले भने, ‘सामाजिक कार्य अन्तर्गत क्यान्सर पीडित, दलित बस्तीमा खानेपानीलगायतमा खर्च गर्दा आफूलाई आत्मसन्तुष्टि हुने गरेको छ ।’ उनले राजनीति आफ्ना लागि पेशा होइन सेवा भएको जिकिर गरे ।

थापाको तलव भत्ता र खर्च

मन्त्री थापाले पाँच वर्षमा बैठक भत्ता र पारिश्रमिकवापत ४० लाख ७१ हजार २४९ रुपैयाँ प्राप्त भएको र त्यसमा थप गरी ५८ लाख २९ हजार ६६ रुपैयाँ विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेको बताए । 

मन्त्री थापाले सांसद निर्वाचित हुनुअघि नै राज्यबाट पाउने सेवा सुविधा सामाजिक सेवामा खर्च गर्ने प्रण गरेका थिए । उनले २०७४ माघदेखि हालसम्मको उक्त समयमा राज्यबाट उनको बैंक खातामा ४० लाख ७१ हजार २४९ रुपियाँ ३९ पैसा जम्मा भएको थियो भने उनले सोही अवधिमा व्यक्तिगत रकमसमेत थप गरी ५८ लाख २९ हजार ६६ रुपियाँ ५२ पैसा बराबरको विकास खर्च र सामाजिक कार्य गरेको जानकारी दिए ।

मन्त्री थापाको बैंक खातामा २०७४ सालमा निर्वाचित भएको पहिलो वर्षदेखि हालसम्म क्रमशः सात लाख नौ हजार १३५, छ लाख १० हजार ६३९, आठ लाख ५९ हजार ८६८, १३ लाख ६६ हजार ३६० र पाँच लाख २५ हजार २४७ रुपैयाँ जम्मा भएको विज्ञप्तिमा उल्लेख छ । 

बैठकभत्ता देखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधासमेतको हो । निर्वाचित भएदेखि हालसम्म विकास निर्माण र सामाजिक कार्यमा पहिलो वर्षदेखि क्रमशः १० लाख ५४ हजार ६५५, नौ लाख तीन हजार ७०१, १२ लाख ४७ हजार ४०, १४ लाख ८६ हजार ९७० र ११ लाख ३६ हजार ७०० खर्च गरेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ