arrow

कांग्रेसको सभापति देउवा कि प्रचण्ड ?

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०७९ असोज १५ शनिबार
rajendra-panthi-article-53.jpg

नेपाली कांग्रेस भित्रको विवाद भुसको आगो जस्तै सल्कदै गएर अब त छरपस्ट नै भएको छ । कांग्रेस भित्रको यस्तो विवाद खासै नौलो त होइन तर विवाद यही तरिकाले लम्बिदै गएर चुनावकै मुखमा पार्टी फुट्ने त होइन भन्ने शंका उब्जन थालेको छ । कांग्रेसमा वर्षौंदेखि गुटैगुटको जमात र लडाइँ छ । 

गुटका बीचमा थुप्रै किसिमका मतभेद र विवादहरू चलिरहेका हुन्छन् । तर अहिले आउँदा विवाद मच्चिएर पार्टी नै फुट्ने हो कि भन्ने अवस्थामा पुगेको देखिन्छ । कांग्रेस पार्टीभित्र सिद्धान्त र विचारको खडेरी पर्दै गएको छ।अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई भन्दा गठबन्धनलाई ज्यादै महत्व दिएको हुनाले नेपाली कांग्रेस सांगठनिक रुपमा अत्यन्तै कमजोर भएर फुट्ने अवस्थामा पुगेको देखिन्छ । 

अहिले नेपाली कांग्रेसमा अलि फराकिलो रुपमा देउवा गुट र शेखर गुटका बीचमा गुटगत द्वन्द्व चर्किएको देखिन्छ । शेखर गुट विभिन्न माग राखी आन्दोलनमा नै उत्रिएको छ । उता देउवाले शेखर गुटलाई सौतेनी व्यवहार गरेको स्पष्ट नै देखिन्छ । अहिले कांग्रेसमा शेरबहादुर देउवा कांग्रेसको सभापति नभएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकर्ता हुन् कि जस्तो पनि देखिन्छ ।

प्रचण्ड र देउवामध्ये कुन माओवादी र कुन कांग्रेसका अध्यक्ष हुन् भनेर छुट्याउन नसकिने अवस्था छ । प्रचण्डले जे भन्छन् देउवा त्यही मान्छन् र पार्टीमा पनि त्यस्तै किसिमको सर्कुलर जारी गर्छन् । अहिले उनीहरूको एउटै मन, पेट र बोली रहेको छ । कांग्रेसले गरेका कतिपय निर्णय र व्यवहारलाई हेर्दा कांग्रेस अध्यक्ष देउवा हो कि प्रचण्ड हो छुट्याउन सकिँदैन । 

कुनै बेला एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले नेकपाको जेट प्लेनका दुई पाइलट हामी हौँ  भनेर भन्थे भने अहिले फेरि नेपाली कांग्रेस, माओवादी र गठबन्धनका पाइलट देउवा र प्रचण्ड बनेर देखा परेका छन्।सभापति देउवाले आफू भिन्न विचार राखेका कांग्रेसका शेखर समूहलाई पाखा लगाई गठबन्धनका हर्ताकर्ता प्रचण्डलाई काखी च्यापेपछि शेखर कोइराला गुट विद्रोह र पार्टी नै फुटको संघारको अवस्थामा पुगेको देखिन्छ । 

अहिले कांग्रेस भित्रको देउवा समूहलाई कांग्रेसको प्रचण्ड समूह नै भन्दा पनि अन्यथा मान्नुपर्छ जस्तो लाग्दैन । आज गठबन्धन भनेको नेपालको कुनै एउटा सिङ्गो पार्टी र प्रचण्ड भनेको त्यसको सभापति वा अध्यक्ष हुन् कि भन्ने पनि देखिन्छ । गठबन्धनका पाँचै दलहरू कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा, राष्ट्रिय जनमोर्चा सबैको नेतृत्व प्रचण्डले गरेको देखिन्छ । 

प्रचण्डको नेतृत्व र केन्द्रीयतामा पाँच गठबन्धन भित्रका दलहरू कांग्रेस, माओवादी, समाजवादी, जसपा र जनमोर्चामा चलेको देखिन्छ । यसले क्षणिक रुपमा पार्टी भित्रका केही गुटलाई फाइदा भए पनि अन्ततः समग्र पार्टीलाई भने हानि पुर्याउँछ । गठबन्धनभित्र विभिन्न पाँच पार्टी सामेल भए पनि माओवादी अध्यक्ष प्रचण्डकै हालीमुहाली भएको देखिन्छ । यसले गर्दा माओवादीलाई केही फाइदा भए पनि अन्य पार्टीलाई सांगठनिक रुपमा फाइदा हुँदैन । 

कांग्रेस सभापति देउवाले पनि आफ्ना कार्यकर्ता र आफ्नो राजनीतिक पृष्ठभूमि बिर्सेर पार्टी र सरकार चलाउने जिम्मा प्रचण्डलाई दिएको जस्तो देखिन्छ । कांग्रेस देउवाको पहिलो कार्यकाल र यो दोस्रो कार्यकालको शुरुआती समय पार्टी  संगठनलाई बलियो बनाउने र पार्टीलाई जिवन्त बनाउने काममा उपलब्धिमूलक बन्न सकेको देखिएन । अहिले त हुँदाहुँदै देउवाको सबैभन्दा नजिकको विश्वासपात्र माओवादी अध्यक्ष प्रचण्ड नै हुन् कि भन्ने अवस्थामा पुगेको देखिन्छ । 

देउवाले कांग्रेसमा आफूभन्दा भिन्न विचार समूहलाई कहिँ कतै स्थान दिएका छैनन् । उनले जति सक्यो आफ्नै समूहलाई मात्र समेट्न खोजेको देखिन्छ । शेखर समूहले आफूहरूलाई अध्यक्ष देउवाले न्यायोचित व्यवहार नभएको आरोप लगाएका छन् र हरेक ठाउँमा न्यायोचित व्यवहार गर्न आग्रह गरेका छन् । यसरी देउवा गठबन्धनको भजनमण्डली नबनी पार्टी संगठन निर्माणमा लागेको भए आगामी निर्वाचनमा एक्लै नै पार्टीको हैसियत धेरै माथि पुग्थ्यो । 

देउवाले नै गोलाकार भित्रको हँसिया हथौडालाई जसरी पनि भोट दिनैपर्छ भनेर हिँड्न थालेपछि कांग्रेसको अवस्था, विचार, सिद्धान्त कहाँ पुग्यो आफैं अनुमान गर्न सकिन्छ । यसले गर्दा आज कांग्रेस प्रचण्डको कोल्टामा पुगेको देखिन्छ ।

२०४६ सालको बहुदलीय प्रजातन्त्र आएपछि अधिकांश समय नेपालको शासनसत्ता नेपाली कांग्रेसले सम्हाल्यो । २०४६ पछिको शासन सत्तामा बाँचुन्जेल अधिकांश समय गिरिजाप्रसाद कोइरालाको एकछत्र नै चल्यो । यही समयमा कांग्रेस सत्तालिप्सा र कुर्सी मोहले निकृष्ट र घृणित राजनीतिक चक्रव्युँहमा नराम्ररी पर्यो । फलस्वरूपः सांसद किनबेच जस्तो क्रियाकलाप कांग्रेसमा देखापर्यो । 

पार्टीका संस्थापक र निष्ठावान नेताहरू पार्टीमा बस्ने अवस्था नदेखी राजनीतिबाट संन्यास लिनुपरेको थियोे । सत्तालिप्साको फोहरी र दुर्गन्धित खेलले ३६–७२ हुँदै पार्टी फुट्नेसम्मको अवस्था पुगी पार्टी फुट्यो । कांग्रेसमा नाम कहलिएका उच्च पदस्थ नेताहरू नै भ्रष्टाचारको आरोपमा परेर जेल सजायसमेत भोगे । तत्कालीन कांग्रेसका केही प्रतिष्ठित नेताले कांग्रेसमा मात्र नभएर नेपाली राजनीतिमा कलङ्कको टीका लगाए । जसले गर्दा कांग्रेसको जुन छवि र विरासत थियो त्यसमा नपुछिने गरी दाग लागिसकेको छ ।

सत्ता पाइन्छ भने जस्तोसुकै मूल्य चुकाउन तयार हुने देउवाको आजको मात्र बानी होइन । गिरिजाको कार्यकालमै देउवाले नेपाली कांग्रेस फुटाएको इतिहास छ । देउवा आज पनि कांग्रेसको सिद्धान्त र विचारलाई एकातिर पन्छ्याएर सत्ताकै लागि आफ्ना केही आसेपासेलाई अगाडि पछाडि राखेर गठबन्धनको भजन गाइरहेका छन् । 

देउवा आफू र आफ्नालाई मात्र सरकारमा लैजान पार्टी भित्रका भिन्न विचार समूहलाई न्यायोचित व्यवहार गर्न सकेका छैनन् । आज कांग्रेस नेताहरुले कांग्रेस नबनेर आफ्ना कार्यकर्तालाई अपमान गरेर माओवादी अध्यक्षलाई बोकेर राजनीति गरिरहेको देखिन्छ । अहिले प्रचण्डले देउवाको ढाडमा टेकेर कांग्रेसलाई तहसनहस पार्न खोजेको देखिन्छ । 

प्रचण्डले कांग्रेसलाई फुटाएर भए पनि देउवालाई पुनः प्रधानमन्त्रीको ललिपप फाली आफ्नो स्वार्थगत राजनीति हात पार्न खोजेको देखिन्छ । पाँच गठबन्धनको मूल आशय  भनेको पुनः जसरी भए पनि देउवा वा प्रचण्ड वा माकुने आलोपालो  सरकारमा जाने भन्ने नै हो । यिनीहरूको राजनीति भनेको सत्तामा कसरी पुग्ने र लुट्ने भन्ने मात्र देखिन्छ । देश कसरी बनाउने, जनतालाई कसरी सुखी बनाउने भन्ने सोच यिनमा छैन ।

कांग्रेस सांगठनिक र वैचारिक रुपमा बलियो हुन नसक्नुको मुख्य कारक तत्व  अध्यक्ष देउवा नै देखिन्छन् । २०७४ को निर्वाचनमा कांग्रेसले शर्मनाक हार हुँदा पनि देउवा चुप्प लाएर बसे । कुनै आत्मालोचना गर्ने, संगठन विस्तार र निर्माणमा लागेनन् । ओली सरकारले पटकपटक स्वेच्छाचारिता र अंहकार देखाउँदा पनि देउवा दुई चार पदमा बिके र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेनन् । 

विगत पाँच वर्षमा कांग्रेस पूरै निद्राको अवस्थामा देखियो । आज विद्रोह र फुटको अवस्थामा पुग्नु नै नेतृत्व तहको विगतको कमजोरीको परिणाम हो । सायद देउवा अघिल्लो निर्वाचनपछि एउटा सशक्त प्रतिपक्ष बनी सम्पूर्ण कार्यकर्तालाई समेटी जनता सामु पुगेको भए आज यसरी चुनावमा कम्युनिष्टको बैशाखी खोज्नु पर्ने थिएन । कुनै पनि पार्टीले आफूलाई जीवन्तता दिन समय समयमा विभिन्न किसिमका वैचारिक र सांगठनिक क्रियाकलापहरू गरिरहनु पर्छ ।

जनताका प्रत्यक्ष सरोकारका सवालमा आवाज उठाउनु पर्छ र जनताको घरदैलोमा पुग्नुपर्छ । प्रजातन्त्रको लागि लडेको र पुरानो पार्टी मात्र भनेर अब पुरानै पाराले पार्टी चल्न सक्दैन । पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई सशक्त रुपमा मौलाउन दिनुपर्छ । कुनै व्यक्तिले हैकम चलाउन खोजेर पार्टी चल्दैन । समयको माग अनुसार नयाँ पुस्तालाई समेट्दै अवसर दिँदै पार्टी चल्नुपर्छ र बल्ल पार्टीले जीवन्तता पाउन सक्छ ।

देउवाले कांग्रेसलाई बचाउन गठबन्धन वा प्रचण्डलाई काखी च्याप्नुको सट्टा आफ्ना कार्यकर्तालाई न्यायोचित व्यवहार गर्नुपर्छ । देउवाले मेरो समूह र उसको समूह भन्ने सोचलाई अन्त्य गर्नुपर्छ । देउवा नेपाली कांग्रेसको अभिभावक बन्न सक्नुपर्छ र उनले कसैलाई काखा र पाखा गर्न पाइँदैन । शेखर कोइराला वा उनको समूह भनेका कांग्रेस हुन् तर प्रचण्ड कांग्रेस होइनन् ।

प्रचण्डलाई बोकेर कांग्रेस बलियो हुन सक्दैन । देउवाले जतिबेला पनि गठबन्धनको भजन गाउँदा आफ्ना तमाम कार्यकर्ताहरू अवसरबाट बन्चित गराउनु हुँदैन । टिकट वितरण प्रणालीमा विभेद गरिएको, कांग्रेसका पकेट निर्वाचन क्षेत्रहरू अन्य दललाई बाँडिएको, नियुक्तिहरूमा आफ्नालाई मात्र दिएको जस्ता थुप्रै आरोपहरू शेखर समूहले लगाएको हुनाले यी सबै कुरालाई देउवाले सम्बोधन गर्नुपर्छ र पार्टी फुट्नबाट रोक्नुपर्छ । 

कांग्रेसको नेतृत्व देउवाले गर्नुपर्छ र देउवाले कांग्रेसलाई साँच्चै कांग्रेस बनाएर हाँक्नु पर्छ । कांग्रेसको राजनीति गर्ने हो भने माओवादीलाई कहिले टाउको र कहिले पुच्छर बनाएर सत्ताको लागि मात्र राजनीति गरिनुको कुनै अर्थ छैन । लोकतन्त्रमा जनताले आफूले रोजेको उम्मेदवारलाई भोट हाल्न पाउनुपर्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ