arrow

कांग्रेसले स्थानीय चुनाव उठेकालाई संघ र प्रदेशको टिकट नदिने, यस्ता छन् आधार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १७ सोमबार
congress-flag3.jpg

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार हुने मापदण्ड तयार गरेको छ । कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको मापदण्ड तयार गरेको हो ।

मापदण्डअनुसार गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चुनाव लडेका उम्मेदवारलाई प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार नबनाउने उल्लेख छ । निर्णयको ३ नम्बर बुँदाको क मा ‘उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान, सामाजिक भुमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाइनेछ’ भनिएको छ । 

त्यस्तै बुँदा ३ को ख मा ‘हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फको उम्मेदवार नबनाउने’ उल्लेख छ । 

कांग्रेसको अबको बैठक विजयादशमीको अर्को दिन बिहान ९ बजे बस्नेछ । 

यस्तो छ कांग्रेसका निर्णयहरु समेटिएको प्रेस विज्ञप्ति–

‘असोज १७, २०७९

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा आज बस्यो । महामन्त्री श्री विश्वप्रकाश शर्माले बैठकमा प्रस्तावहरु प्रस्तुत गर्नु भएको थियो । बैठकले सर्वसम्मतिले निम्न प्रस्तावहरु पारित गरेको छ ।

प्रस्तावहरु
(१)     विजया दशमी लगायत हाम्रो घर आगनमा आइपुगेका सबै चाडपर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी दाजुभाइमा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक शुभकामना व्यक्त गर्दछ ।
 
(२)    असोज ३ मा निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीमा संसदीय समिति एवं कार्यसम्पादन समितिले सभापतिलाई अधिकार प्रत्यायोजन गरे बमोजिम सभापतिले नेतृत्व पंक्तिको परामर्श,  सुझाव र सहमतिमा केही नाम हेरफेर गरेर असोज १५ गते बुझाए पश्चात् बसेको यो बैठक प्रतिनिधि सभा एवं प्रदेश सभाको प्रत्यक्ष तर्फको उम्मेदवार चयनमा प्रवेश गर्ने निर्णय गर्दछ । 

(३).     प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फका उम्मेदवारको चयनका लागि देहाय बमोजिमको आधार र मापदण्ड तय गरिएको छ ।
क)     उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिश, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पु-याएको योगदान, सामाजिक भुमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाइनेछ ।
ख)     हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फको उम्मेदवार नबनाउने ।

(४)    स्थानीय निर्वाचन क्रममा अनुशासन उल्लंघन गरेका र कारवाहीको प्रकृयामा रहेका, कुनै पनि कारणवस निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मंसीर ४ को निर्वाचनमा पार्टीमा पूर्ववत सकृय भएर पार्टीको विजय अभियानमा सहभागी हुन यो बैठक अपील गर्दछ । 

आगामी निर्वाचनमा पार्टीका एवं गठबन्धनका उम्मेदवारलाई विजय गराउन ब्यक्तिले निभाउने भूमिकाको आधारमा त्यस्ता सदस्यहरु उपरको कारवाहीको प्रकृयालाई तदनुकुल गर्ने गरि टुंगो गर्ने निर्णय यो बैठक गर्दछ ।

(५) निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउन पार्टीपंक्ति सम्पूर्ण रुपले एकतावद्ध र अनुशासनका साथ दृढ ढंगले परिचालित हुने निर्णय यो बैठक गर्दछ । 

केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक २०७९ असोज २० गते विहान ९ बजे बस्नेछ । 

जय नेपाल !

कृष्णप्रसाद पौडेल 
    मुख्य सचिव’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ