काठमाडौं। राजनीतिमा प्रभाव स्थापित गर्नु र त्यसलाई कायम राख्नु कति महत्वपूर्ण छ भन्ने कुराको प्रमाण काँग्रेसभित्र देखिने गरेको छ। काँग्रेसको महाधिवेशनताका मात्र हैन त्यसपछिको राजनीतिक समिकरणमा एक अर्का विरुद्ध प्रयोग हुँदै आएका सभापति शेर बहादुर देउवा समुह र वरिष्ठ नेता रामचन्द्र पौडेल समुह काठमाडौंमा भने एक ठाउँमा आएका छन्।
नेपाली काँग्रेसको महाधिवेशनको लागि भएको काठमाडौं काँग्रेसको अधिवेशनमा पनि एकै ठाउँमा उभिएका देउवा र पौडेल समुह काठमाडौंको राजनीतिमा भने सधै एकै ठाउँमा देखिने गरेका हुन्। केन्द्रीय राजनीतिमा सधै उत्तर दक्षिण ध्रुव जस्ता देखिने दुई अलग समुहको यो गठजोड काँग्रेसको राजनीतिमा हेर्न लायक छ।
काठमाडौंको राजनीतिमा पौडेल समुहले अर्का नेता प्रकाशमानसिंहमाथि भर पर्ने गर्छ। अर्थात काठमाडौंको राजनीतिलाई पौडेलले सिंहको आँखाबाट हेर्ने गर्छन। सिंहमाथि पुरै भरपर्दा पार्टीको राजनीतिमा सधै प्रतिष्पर्धी रहेका देउवा र पौडेल काठमाडौंमा भने सहयात्री जस्ता देखिन्छन्। यहाँ देउवा पक्ष र पौडेल/कोइराला पक्ष देखिदैन। यहाँ दुवै पक्षमाथि सिंह पक्ष हावी हुने गर्छ।
नेपाली काँग्रेस प्रजातान्त्रिकमा रहँदा देउवाका महामन्त्री रहेका सिंह पछि पार्टी एकिकरणपछि कोइराला समुहसँग नजिक भए भने त्यहि समुहबाट महामन्त्री पनि भए। यो पटकको महाधिवेशनमा पदाधिकारी नभएपनि केन्द्रीय सदस्य मात्र रहेका सिंहको काठमाडौं पार्टीमा भने प्रभावशाली भुमिका रहने गर्दछ। उनको यहि भुमिकाका कारण नै काठमाडौं काँग्रेसको सभापति पनि उनले देउवा समुहकै साथ लिएर जिताए भने तरुण दलमा पनि सिंहले देउवा समुहलाई साथ लिएर आफू निकटलाई अध्यक्षमा जीताए। यसो गर्न उनलाई पहिले आफूसँगै काम गरेर अहिले देउवा समुहमा रहेका कार्यकर्ताहरुको कारण पनि सहज भएको छ। काठमाडौं काँग्रेसको राजनीतिमा धेरै जसो कार्यकर्ता देउवा र सिंहको साझा छन्। देउवा र सिंहको सोझो प्रतिष्पर्धा नभएसम्म त्यहाँ यो समिकरण कायम हुन्छ।
केन्द्रीय राजनीतिमा जतिसुकै जुँगाको लडाई गरेपनि देउवा र पौडेल पनि काठमाडौं काँग्रेसमा सिंहले दिएको क्याप्सुल मात्र खान वाध्य छन्। हालै सम्पन्न तरुण दलको चुनावमा पनि देउवा समुहले अध्यक्ष पाएन। सिंहले भनेको उम्मेद्वार अध्यक्ष भए देउवा समुहको सचिव भए। पौडेल पनि आफ्नो समुहका सिंहले तरुण दलमा अध्यक्ष जिताउँछन भने ठीकै छ भन्दै समर्थन गरे भलै सोझो प्रतिष्पर्धा देउवासँग किन नहोस।
खासमा काठमाडौंको लडाई देउवा र सिंहको छैन। यहाँ पौडेलको उपस्थिति मात्र हो। खासको लडाई काँग्रेस नेता कृष्ण प्रसाद सिटौला निकट भिमसेनदास प्रधान र सिंहकै हो। यो लडाइमा गगन थापा पनि सिंहको अगाडी उभिएका छन्। त्यसैले यहाँको लडाइ सिंह,पौडेल र देउवा एक ठाउँमा उभिएर सिटौला पक्षसँग हुने गर्छ। सिटौला पक्ष काठमाडौंको राजनीतिमा तीन पक्ष एक भएर आउँदा कमजोर हुने भएपनि राजनीतिक खेल भावना देखाएर प्रतिष्पर्धामा उत्रदै आएको छ। तरुण दलकी नेतृ जीवन डंगोलको बुझाइमा यो आफ्नो साख र वर्चस्व वचाइराख्न हुने गरेको अप्राकृतिक गठवन्धन हो। जसरी पनि पार्टीको सत्ता कब्जा गर्नुपर्छ भन्ने मानसिकता मात्र हो। नत्र पार्टीका सबै मुद्धाहरुमा फरक मत राख्नेहरु काठमाडौंको राजनीतिमा मात्र कसरी मिल्न आइपुग्छन उनले आश्र्चर्य प्रकट गरिन।
नेपाल तरुण दलको महाधिवेशन असोज ३ देखि ५ गतेसम्म हुने बताइएको छ। यो महाधिवेशनमा देउवा पक्ष, पौडेल पक्ष र सिटौला पक्षको अलगअलग प्यानल मैदानमा उत्रदै छन्। तीनै समुह आआफ्नो समुहबाट तयारी गरिरहेका छन्। तरुण दलको निर्देशन समितिमा रहेकाहरु पनि गुटगत रुपमा गुटको रक्षार्थ लागिपरेका छन्। तरुण दलमा पनि नेविसंघको झै समुह बनाएर जाने रणनीतिमा देउवा पक्ष छन् भने पौडेल पक्ष सिटौला पक्षसँग नजिक हुन खोजिरहेको छ। सिटौला पक्ष देशभर १५ भन्दा वढी जिल्लामा अध्यक्ष सहित सम्मानजनक अवस्थामा रहेका कारण पनि अलग प्यानल बनाएर चुनावमा जाने रणनीतिमा छ। यो अवस्थामा केन्द्रीय राजनीतिमा काठमाडौं जस्ता जिल्लाहरुको राजनीतिको सोझो प्रभाव हुने चाहि प्रष्ट देखिएको छ।