काठमाडौं । एमाले निकट कर्मचारीहरूमा महाधिवेशनको रौनकता छाएको छ । निजामती कर्मचारी संगठनको आगामी कात्तिक तेस्रो सातादेखि हुने महाधिवेशनको लागि कर्मचारीहरूमा रौनकता छाएको हो ।
विभिन्न मन्त्रालय र त्यस मातहतका कार्यालयमा विभागीय कार्यसमितिका लागि हुने निर्वाचन र विभिन्न जिल्लागत कार्यसमितिका लागि हुने निर्वाचनको लागि अहिलेदेखि नै कर्मचारीहरू आवश्यक तयारीमा जुट्न थालेका छन् ।
मंसिर २६ गतेदेखि २८ गतेसम्म नेपालगञ्जमा हुने राष्ट्रिय अधिवेशनको लागि अहिलेदेखि नै कर्मचारीहरू आपसी छलफल र तयारीमा जुट्दै आफ्नो मनपरेको नेताको पक्षमा लविईङ समेत गर्न थालिसकेका छन् । अहिले यसको निर्वाचनका लागि गुटगत रूपमा कुनै औपचारिक छलफलहरू नभएको भएपनि मोटामोटी रूपमा नेतृत्वमा कसलाई समर्थन गर्ने भन्ने विषयमा छलफल चल्न थालिसकेको संगठन स्रोतले जानकारी दिएको छ ।
संगठनको राष्ट्रिय अधिवेशन मंसिर अन्तिम साता हुने भएपनि जिल्ला तथा विभागीय कार्यसिमितिको अधिवेशन भने २२ कात्तिकदेखि नै सुरूहुने संगठनका वरिष्ठ उपाध्यक्ष तथा
भावी अध्यक्षका आकांक्षी केदार प्रसाद देवकोटाले जानकारी दिए । उनका अनुसार जिल्ला तथा विभागीय कार्य समितिको अधिवेशन कात्तिक २२ गतेदेखि मंसिर ४ गतेसम्मगर्ने तयारी गरिएको छ ।
यसरी विभागीय कार्यसमितिबाट निर्वाचित भएकाहरूबाट एकजना अध्यक्ष स्वतः केन्द्रीय प्रतिनिधि बन्ने प्रावधान रहेको छ । त्यस्तै, १ जना महिला प्रतिनिधि छनोट गरेर हरेक कार्यसमितिबाट तय गरिनेछ भने हरेक ३०० जना संगठनका सदस्य रहेको विभागबाट १ जना र त्यसभन्दा बढी साधारण सदस्य रहेको समितिबाट हरेक दुईसय जनाबाट एक जनाको दरमा केन्द्रीय प्रतिनिधि चयन गर्ने प्रावधान रहेको छ ।
त्यस्तै संगठनद्वारा सञ्चालित राष्ट्रसेवक सहकारी संस्थाबाट पनि एकएक जनाको दरमा केन्द्रीय प्रतिनिधि छनोट वरिष्ठ उपाध्यक्ष देवकोटाले जानकारी दिए ।