काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण नजिकिइसकेपनि भ्रमण टोलीको अन्तिम खाका अझै तयार भएको छैन । विहिबारको नियमित मन्त्रिपरिषद् बैठकमा भ्रमणबारेको प्रस्ताव पेश हुने भनिएपनि तयारी भइरहेकाले पेश हुन सकेन ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीको भारत भ्रमणबारेको प्रस्ताव पेश गर्ने भनिएको थियो के भयो मलाई थाहा छैन । परराष्ट्रमन्त्री प्रकाशशरण महतले तयारी भइरहेकाले विहिबारको मन्त्रिपरिषद्मा प्रस्ताव जान नसकेको बताए ।
हाम्राकुरासंग मन्त्री महतले भने, ‘तयारी भइरहेको छ । खाकाले अन्तिम रुप पाएको छैन ।’ अर्को बैठकमा पेश हुन्छ की ? प्रधानमन्त्रीको भ्रमण तिथि आउन अब जम्मा ६ दिन बाँकी छ ।
सिंहदरबारमा विहिबार बसेको मन्त्रिपरिषद् बैठकले भाषा आयोगको अध्यक्षमा लवदेव अवस्थीलाई नियुक्त गरेको छ । यद्यपि, आयोगका अन्य सदस्यको टुंगो भने लागेको छैन । लामोसमयसम्म शिक्षा मन्त्रालयमा कार्यरत अवस्थी केही समयअघि मात्रै सचिवमा बढुवा भएका थिए ।
मुलुक संघीयतामा गएपछि प्रत्येक प्रदेशमा सरकारी भाषाको रुपमा कुन भाषालाई प्रयोग गर्ने भन्ने निक्र्यौल भाषा आयोगले गर्नेछ । नयाँ संविधानले संविधान जारी भएको एकवर्ष भित्र भाषा आयोग गठन गर्नु पर्ने भनेकामा अन्तिम समयमा आएर गठन भएको हो ।
यस्तै, मन्त्रिपरिषद्ले आगामी असोज १ र २ गते भेनेजुएलामा हुने असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागि हुने निर्णय समेत गरेको छ ।