arrow

६ वर्षदेखि महानगरको विभागभित्रै हरायो ७० लाखको पत्र

logo
प्रकाशित २०७३ भदौ २३ बिहिबार
Metropolitan_Office_KTM.jpg.jpeg.jpeg
काठमाडौं । काठमाडौं महानगरपालिकामा पछिल्लो समय ७० लाखको पत्रले हंगामा मच्चिएको छ । महानगर मातहतमा रहेका २२ वटा जनस्वास्थ्य क्लिनिकहरू मार्फत् २०५५ सालदेखि २०६६ सालसम्म सेवाग्राहीबाट उठाएको रकमको विषयमा पछिल्लो समय महानगरभित्र हंगामा मच्चिने अवस्था सिर्जना भएको छ । 
 
झण्डै एकदशकसम्म काठमाडौं महानगरपालिका भित्र सञ्चालनमा आएका २२ वटा जनस्वास्थ्य क्लिनिकबाट उठेको पैसा महानगरको जनस्वास्थ्य महाशाखा मार्फत् राजश्व विभागमा बुझाउनु पर्ने भएपनि त्यो रकम अझैसम्म पनि काठमाडौं महानगरपालिकाको केन्द्रीय खातामा पुगेको छैन । 
 
यस विषयमा कुरा गर्दा राजश्व विभागका प्रमुख राज्यप्रकाश प्रधानाङ्गले क्लिनिकबाट आउने रकम केन्द्रीय खातामा जम्मा नभएको स्वीकार गरे । उनले आफूहरूले पटकपटक ताकेता गर्दापनी जनस्वास्थ्य क्लिनिकको बाँकी रहेको रकम केन्द्रीय दातामा दाखिला नभएको जानकारी पनि दिए । 
 
प्रक्रियाको कुरा गर्ने हो भने यसरी उठेको रकम महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले राजश्व विभागमा दाखिला गरेर आवश्यक रकम माग गर्नुपर्ने हो । तर, महाशाखाले अझैसम्म पनि सो बापतको रकम दाखिला नगरेको राजश्व विभागको आरोप छ । 
 
तर, महाशाखा भने आफूले रकम केन्द्रीय खातामा जम्मा गर्न पत्र पठाईसकेको दाबी गर्छ । महाशाखा प्रमुख हरि कुमार श्रेष्ठले राजश्व विभागलाई सो बापतको ७० लाख भन्दा बढी रकम केन्द्रीय खातामा जम्मा गर्न पत्र पठाईसकेको जानकारी दिए । उनले २०६६ सालमा नै यस्तो पत्र पठाईएको जानकारी आफूले पाएको पनि हाम्राकुरासँग बताए । 
 
सो पत्रको विषयमा कुराकानी गर्दा राजश्व विभाग अन्तर्गत राजश्व महाशाखाका अधिकारीहरु महेश कुमार काफ्ले तथा ध्रुव कुमार काफ्लेले अहिलेसम्म सो पत्र आफूहरूले प्राप्त नगरेको स्पष्ट पारे । ‘हामीले सो पत्र अहिलेसम्म प्राप्त गरेका छैनौं’ काफ्लेले भने ‘महाशाखाले पठाएको हो भने राजश्व विभागमा नआई बीचैबाट गायव हुनु आश्चर्यको कुरा हो ।’
 
२०५५ सालदेखि २०६६ सालसम्म टिकट र अन्य शीर्षकमा महानगरबासीसँग जनस्वास्थ्य क्लिनिकहरूले केही रकम उठाउने गरेको थियो । त्यो पैसा केन्द्रीय खातामा जम्मा गरेर आवश्यक पर्ने खर्च केन्द्रीय खाताबाट विनियोजन गर्नुपर्ने प्रावधान रहेको भएपनि सो समयदेखि नै जनस्वास्थ्य क्लिनिकका कर्मचारीहरूले व्यक्तिगत नाममा खाता खोली रकम खर्च गरेका थिए । 
 
तर, अहिले आएर सो खर्चको विवरण राजश्व विभागले माग गरेपछि जनस्वास्थ्य क्लिनिकका कर्मचारीहरू समेत तनावमा रहेको महानगर स्रोतले जानकारी दिएको छ । 
यो रकम यति नै छ भन्ने यकिन छैन । तर महाशाखाले भने ७० लाख भन्दा बढी रकम केन्द्रीय खातामा लैजान भन्दै पत्र काटेको जनाएको भएपनि सो पत्र बीचैमा कता हरायो भन्ने कुरा गम्भीर बनेको छ र यो खोजीको विषय पनि बनेको छ । 
 
जनस्वास्थ्य क्लिनिकले ६६ साल भन्दा यता रकम असुली गर्न छाडिसकेका छन् भने अहिले २७ वटा जनस्वास्थ्य क्लिनिक काठमाडौं महानगरपालिका भित्र रहेको महानगरले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ