काठमाडौं । व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन उपसमितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं विश्वविद्यालय केयुको परीक्षामा गरेको हस्तक्षेपबारेको अध्ययन प्रतिवेदन समितिलाई बुझाएको छ ।
अध्ययन गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदन उपसमितिले विहिबार समितिलाई बुझाएको हो । सुशासन तथा अनुगमन समितिको बैठकपछि मात्रै थप विवरण खुल्ने बताइएपनि प्रारम्भिक जानकारीमा अख्तियार र विश्वविद्यालय दुबैलाई दोषी देखिएका सुन्नमा आएको छ ।
समितिले गठन गरेको कार्यदलका संयोजक पदमनारायण चौधरीले उपसमितिलाई आफुहरुले बुझाएको अध्ययन प्रतिवेदन समिति कहाँ पुगेको जानकारी दिए । उनले भने, ‘कसको दोष कति भन्ने कुरा हामीले अहिल्यै भन्न मिल्दैन ।
हामी कार्यदलमा रहेका पाँच जनाले सम्बन्धित पक्षसंग छलफल अध्ययन गरेको प्रतिवेदन बनाएका छौं । साथमा कार्यसम्पादन नियमावली पनि बनाएका छौं । दुई दिन समितिले अध्ययनको समय मागेको छ । आइतबार बैठक हुन्छ ।’ सो बैठकले सो प्रतिवेदन कि सोझै अनुमोदन गर्छ । थपघट गर्न मन लागे केही संशोधन गर्छ ।
चौधरीले फुल समितिमा छलफल भएपछि मात्रै के भएको हो भन्नेबारे जानकारी बाहिर आउने बताए ।यद्यपि, विश्वविद्यालयको नियम कानुनविपरीत अख्तियार दुरुपयोग अनुसन्धान आयोग गएर परीक्षामा हस्तक्षेप गरेको र सो हस्तक्षेप चुपचाप स्वीकारेर विश्वविद्यालय बसेकाले दुबै दोषी भएको प्रतिवेदनले समेटेको बुझिएको छ ।
चौधरी संयोजक रहेको कार्यदलमा जनकराज जोशी, उदय नेपाली श्रेष्ठ, नरसिंह चौधरी र मिलन राजवंशीसहित पाँच जना अध्ययनमा खटिएका थिए । कार्यदलका सदस्य जनकराज जोशीले आइतबार विहान ८ बजे समितिको बैठक छ, यस्तो भयो भन्ने कुरा त्यही बैठकले गर्छ–भने ।
यसअघि सुशासन समिति सभापति मोहन सिंह राठौरले समितिमा छलफलका लागि बोलाउँदा केयुका पदाधिकारीहरुले दुई थरी कुरा गरेका थिए भने, अख्तियार प्रमुख लोकमान सिंह कार्कीले आफु विरामी रहेको भन्दै दुई जना सह–सचिवलाई पठाएका थिए ।
यस्तै, अध्ययन कार्यदलले त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ चिकित्सक गोविन्द केसीको आठौं अनसनका क्रममा चिकित्सा क्षेत्रमा अख्तियारले हस्तक्षेप गरेको विषय जोडिएर आएकोबारे खोजविन गरी प्रतिवेदन बनाएको छ ।
गत जेठ १५ गते हुने भनिएको केयुको प्रवेश परीक्षामा प्रश्नपत्र बिक्री भएको आरोप लगाउँदै अख्तियारले प्रहरीसंगै ‘विशेषज्ञ टोली’ लिएर आफैं प्रश्नपत्र बनाई सीसी क्यामेरा समेत सिज गरी परीक्षा गराएको रहस्य सार्वजनिक भएको थियो । वरिष्ठ चिकित्सक केसीले आफ्नो आठौं सत्याग्रहका बखत विश्वविद्यालयको परीक्षामा अख्तियारले हस्तक्षेप गरेको विषय उठाएका थिए ।