काठमाडौं । सरकारले निजामती सेवा नियमावली संशोधन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारी सरूवाको समय असोज १५ गतेसम्म हुने नियमावली संशोधन गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय निकट स्रोतले जानकारी दिएको छ । तर, मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री राम कार्कीले भने यो विषय निर्णयमा सुनाएका थिएनन् ।
यसरी संशोधन भएको नियमावलीमा सामान्य प्रशासन मन्त्रालयले भाद्र मसान्तसम्म र अन्य मन्त्रालय र विभागले असोज १५ गतेसम्म सरूवा गर्न पाउने व्यवस्था गरिएको छ । यस अघि रहेको साउन महिनामात्रै कर्मचारीको सरूवागर्न पाउने व्यवस्थालाई परिमार्जन गर्दै यस्तो व्यवस्था गरिएको हो ।
उता, नियमावली संशोधन भएपछि कर्मचारीका नेताहरू भने दुई भागमा विभाजित भएका छन् । काँग्रेस निकट कर्मचारीहरू र माओबादी केन्द्र निकट कर्मचारीहरूले यो निर्णयको स्वागत गरेका छन् भने एमाले निकट कर्मचारीहरूले भने यो निर्णयमा असन्तुष्टि व्यक्त गरेका छन् ।
आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले साउनमा गर्नुपर्ने कर्मचारी सरूवाको काम असोजसम्म पु¥याउँदा यो काम विवादित हुन्छ कि जस्तो भान भएको बताएका छन् । अब कर्मचारी सरूवा गर्दा पुरानो निवेदनको आधारमा सरूवागर्ने कि नयाँ निवेदन आह्वान गर्ने भन्ने विषयमा पनि स्पष्ट नभएको भन्दै अध्यक्ष ढकालले निजामती सेवा ऐन तथा नियमावली संशोधन गर्दा आधिकारिक ट्रेड युनियनको संलग्नता अनिवार्य हुनुपर्ने भएपनि अहिले ट्रेड युनियनलाई सामेल नगराईएकोमा पनि असन्तुष्टि व्यक्त गरे ।
समग्रमा अहिलेको काम सरकारले विवादित गरेको उनको आरोप थियो । उनले भने ‘साउन महिनामा किन सरूवाको काम गरिएन ? त्यो बेलामा पनि त मन्त्री नियुक्त नभएपनि प्रधानमन्त्रीले काम त गरिरहनुभएकै थियो । अरू कामको लागि मन्त्रीको आवश्यकता नपर्ने सरूवाको लागि समय थप गर्न मात्रै मन्त्रीको आवश्यकता पर्ने रु’
उता, नेपाल निजामती कर्मचारी युनियन(संघ)का महासचिव जीत बहादुर मडैले सरकारको यो निर्णय सकारात्मक रहेको भन्दै मन्त्रीहरू नियुक्त नभएको अवस्थामा ढिला गरेरै भएपनि कर्मचारीको न्यायोचित सरूवाको लागि समय थप गर्न आवश्यक रहेको प्रतिक्रिया दिए । उनले भने ‘वर्षैदेखि एकै ठाउँमा रहेकाहरूलाई फेरि एक वर्ष सोही ठाउँमै राख्दा उनीहरूमा पनि नकारात्मक मानसिकता पैदा हुनसक्छ, त्यसैले समय थप गरेरै भएपनि सरूवागर्ने व्यवस्था मिलाउनु सकारात्मक हो ।’