arrow

वीपी कोइरालाको १०२ औं जन्मजयन्तीः वीपी राजनीतिमा व्यवहारवादी र साहित्यमा अराजक

logo
प्रकाशित २०७३ भदौ २४ शुक्रबार
bp-koirala.jpeg
काठमाडौं । जननायक विश्वेश्वरप्रसाद कोइरालाको १०२ औं जन्मजयन्ती विविध कार्यक्रम गरी विश्वभर छरिएर रहेका नेपालीले मनाउँदै छन् । विशेषत वीपी कोइराला क्रान्तिद्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी मानिन्छन् । उनलाई राजनीतिमा व्यवहारवादी भनी परिभाषित गरिन्छ भने साहित्यमा अराजक कहलिन्छन् । 
 
 र नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०२ औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ ।
 
१९७१ साल भदौ २४ गते जन्मिएका कोइरालाले नेपालमा प्रजातन्त्र अनिवार्य भएको एकमात्र सर्त सेस्र्याएर २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए । २००६ सालमा आइपुग्दा त्यो नेपाली काँग्रेस भएको थियो । 
 
राणा शासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गरेका वीपी कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वाचित पहिलो प्रधानमन्त्रीसमेत बन्न सफल भए । 
 
कोइरालालाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागू गरे पनि महेन्द्रले सबैभन्दा बढी मान्ने कुनै नेता थिए भने तिनी वीपी नै हुन् । 
 
लामो समयसम्म जेल जीवन बिताएका वीपी पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर संघर्ष गरे पनि देशको राष्ट्रियता कमजोर बन्दै गएका बेला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर भारतको प्रवासी जीवन त्यागेर ज्यानको बाजी थाप्दै स्वदेश फर्किएका थिए ।
 
राजनीतिमा वीपीलाई काँग्रेसलेमात्र होइन कट्टर कम्यूनिष्टहरु पनि मान्छन् । उनको नीतिको चर्चा प्रायः हुनेगर्छ । विशेषगरी दलहरुबीच एकता आवश्यक भएका बेलामा सम्झिइने एकमात्र पात्र वीपी नै हुन् । 
 
तर काँग्रेससमेत आन्तरिक खिचातानीमा अल्झिएका बेलामा उनका आदर्श पार्टी कार्यालयको एक कुनामा थन्क्याएर त्यही कार्यालयबाटै वीपीको आदर्श विरुद्ध कुर्लने गर्छन् । 
 
वीपी साहित्यिकी क्षेत्रमा पनि त्यत्तिकै सफल मानिन्छन् । कोइरालाका आत्मकथा, जेल जीवन, दोषी चस्मा, यहूदी र हिटलर, सुम्निमा, मोदी आइन्, तीन घुम्ती, नरेन्द्र दाईलगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् । 
 
उनका साहित्यमा यौनवादी सोच हावी छ । उनको यौनमनोविश्लेषणात्मक लेखन नेपाली साहित्यमा सबैभन्दा अब्बल मानिन्छ । 
 
नेपाली साहित्य र राजनीतिलाई धेरै दिन बाँकी छँदाछँदै उनलाई घाँटीको क्यान्सरले २०३९ साल साउन ६ गते सदाका लागि लगेको थियो । 
 
वीपी जयन्तीका सन्दर्भमा विविध कार्यक्रम भइरहेका छन् । तर यी कार्यक्रमले वीपीको आदर्शलाई आत्मसात् गर्न भने अझै सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ