काठमाडौं । ‘नेपाली काँग्रेसका संस्थापक जननायक विश्वेश्वरप्रसाद कोइराला गणतन्त्रवादी नेता नै हुनुहुन्थ्यो । राजाले देशलाई बचाउँछन् र जनताका अधिकार दिन्छन् भनेमात्र उनको समर्थन गर्छौं हैन भने गर्दैनौं भन्नुहुन्थ्यो । अहिले आएको गणतन्त्र वीपीको सोचको उपज नै हो ।’
वरिष्ठ पत्रकार एवं राजनीतिक विष्लेषक पुरूषोत्तम बस्नेतले हाम्राकुरासंग वीपी कोइरालाको १०२ औं जन्मजयन्तीको सन्दर्भ पारेर अगाडि भने, ‘विश्वका जति पनि राजसंस्थाहरु छन् तिनीहरु जनताप्रति क्रुर बन्दै गएको सन्दर्भमा भन्नुभएको थियो कि जापान र बेलायतका राजसंस्था केही समय अझै टिक्नेछन् तर नेपालसहित बाँकी राष्ट्रका राजाहरु आफ्नो अहम् र स्वार्थमा लिप्त भए धेरै टिक्दैनन् ।’
बस्नेत यसै प्रसङ्गमा थप भन्छन्, ‘राजाको बहुलठ्ठीपन, जनताप्रतिको रुखो व्यवहार र अनुत्तरदायी व्यवहारले राजासंस्था सकिन्छ भनी वीपी पटकपटक भन्नुहुन्थ्यो ।’
बस्नेत वीपीका विचारबारे अगाडि भन्छन्, ‘वीपी राजावादी हुन् भनेर लाग्ने गरेका आरोप झुठा हुन् । किनकि २०११ सालदेखि नै राजा त्रिभुवन प्रजातन्त्रप्रति उत्तरदायी नभएपछि त्यतिबेलै काँग्रेसले सत्याग्रह गरेको थियो । त्यसपछि २०१४ सालमा त देशभर सत्याग्रह भयो ।’
राजा महेन्द्रसंग सम्वन्ध राम्रो भएको भन्ने हल्लाको पनि बस्नेत खण्डन गर्छन् । उनी भन्छन्, ‘राजा महेन्द्रले सधै काँग्रेसभित्रै खेल्ने काम गरे, २०१४ सालमा काँग्रेसभित्रैबाट आफूले चाहेको प्रधानमन्त्री बनाउन खोजे ।
२०१५ सालमा निर्वाचित पहिलो प्रधानमन्त्री वीपीलाई २०१७ सालमा हटाएर ‘कू’ गरे । आठ वर्षसम्म वीपी जेल बस्नुप¥यो । भारतमा निर्वासित हुनुप¥यो । एउटा राजाले यत्रो दुःख दिएर राखेको नेतालाई कसरी मन पराउँछ ?’
राजा र राष्ट्रबारे वीपी के भन्थे ?
यसबारे पुरूषोत्तम बस्नेत भन्छन्, ‘वीपीले २०१५ सालअघिदेखि नै राजा स्वार्थी हुँदै गएको सुनाउनु हुन्थ्यो । बनारसमा पनि राजाबारे कुरा गर्नुहुन्थ्यो । उहाँ बाँचुञ्जेल नै राजाको स्वार्थले देश डुब्दै गएको चिन्ता गर्नुहुन्थ्यो ।’
राष्ट्र जोगाउन राजाको पनि स्वार्थ हुनेमा वीपी निश्चिन्त रहेको बस्नेत सुनाउँछन् । उनी अगाडि थप्छन्, ‘वीपी भन्नुहुन्थ्यो कि मुलुक नरहे म त विराटनगर गएर खेती गरेर ज्यान पालौंला तर राजाले के गर्छन् ? भोलि आफ्नो सन्ततिले मुलुकको राज गरोस् भन्ने कामनाले पनि राजाले राष्ट्र बचाउन खोज्छ । तर नेपालका राजा स्वार्थी भए, मुलुक बचाउन खोजेनन्, जनतालाई नर्कमै धकेल्न खोजे भनी वीपी चिन्ता गर्नुहुन्थ्यो ।’
संसदीय व्यवस्था नै उत्तम व्यवस्था
वीपी कोइरालाले सधैभरि संसदीय व्यवस्थाको वकालत गरेको बस्नेत बताउँछन् । उनी यसबारे अगाडि थप्छन्, ‘वीपीले जनताले मताधिकार प्रयोग गर्न पाउने संसदीय व्यवस्था नै उत्तम व्यवस्था भन्नुहुन्थ्यो । उहाँ मताधिकार, प्रेस स्वतन्त्रता र कानुनी स्वतन्त्रताको सुनिश्चितता हुनुपर्नेमा अडिक हुनुहुन्थ्यो ।’
के अहिले मुलुक वीपीकै बाटोमा छ त ?
अहिले मुलुक वीपीकै बाटोमा रहेको बस्नेतको दावी छ । उनी भन्छन्, ‘मुलुकका परिवर्तन स्वभाविक छन् । वीपीलाई पनि यस्तै लाग्थ्यो । १० वर्ष सशस्त्र द्धन्द्धका क्रममा १७००० मानिस मारेको माओवादी पनि संसदीय प्रणाली अन्तर्गत चलिरहेको छ भने पक्कै पनि मुलुक वीपीको सोच अनुसार नै अगाडि बढेको छ ।’
बस्नेत दलहरुप्रतिको बेमेलप्रति भने त्यति सन्तुष्ट छैनन् । उनी भन्छन्, ‘वीपीको मेलमिलापको नीति त्यति चर्चित छ । उहाँ २०३३ सालमा ज्यानको पर्वाह नगरी मेलमिलापको नीति लिएर नेपाल फर्किनु भएको थियो । अहिले नेताहरु यसमा एकजुट हुन सकिरहेका छैनन् । त्यस्तो भएको भए अहिलेसम्म त संविधान कार्यान्वयन भएर पनि मुलुक अगाडि बढिसक्थ्यो ।’
वीपी र बस्नेतको हिमचिम
२०१५ सालभन्दा अगाडि नै पुरूषोत्तम बस्नेत नेपाली काँग्रेसको बालसखा दल (१२ वर्षको उमेरमा) मा आवद्ध थिए । त्यतिबेला उनले वीपीलाई देखे । २०१७ सालमा वीपीलाई प्रधानमन्त्रीबाट हटाएर जेलमा राखिएपछि आठ वर्षसम्म वीपी पत्नी सुशीलालाई सुन्दरीजल जेलसम्म जाने आउने व्यवस्थापनमा उनी खटिएका थिए । कुराकानी भने हुन पाउँथेन ।
वीपीले उनीसहितको टिमलाई जेलभित्रैबाट हात हल्लाउँथे । त्यसपछि वीपी भारत गए । भारतमा उनी पनि पटकपटक गएर भेट्थे । विचार लिएर नेपाल फर्किन्थे । २०२९ सालमा भारतमै गरेको तरुण दलको अधिवेशनमा अझ बढी नजिकिने अवसर पाए । त्यसउप्रान्त वीपीको २०३९ सालमा मृत्यु नहुन्जेल प्रत्यक्ष सम्पर्कमा रहे ।