पोखरा । स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्यको पहुँचमा ठूला र सानाको बिभेद अन्त गर्न लागिपर्ने बताएका छन् । विपी कोइरालाको १०२ औं जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेस कास्कीले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले देशका विशिष्ट व्यक्ति र सर्वसाधारण नेपाली जनताको अधिकार समान भएको बताउँदै विशिष्ट व्यक्तिले सामान्य उपचारका लागि विदेश जान राज्यकोषबाट पैसा पाउने तर दीनदुःखी उपचारै गर्न नसकी मर्ने स्थितिको अन्त्य गर्न आफु लागिपर्ने बताएका हुन् ।
जन्मजयन्तीमा मन्त्री थापाले निर्वाचनका लागि सरकारले विधेयक बनाएर व्यवस्थापिका–संसद्मा पेस गरेको जानकारी गराए । थापाले भने, 'चैत महिनामा स्थानीय तहको निर्वाचन हुने निश्चित रहेको छ' ।
स्थानीय तहमा गाउँपालिका र नगरपालिका ७०० देखि ७५० सम्मको हाराहारीमा बनाउन उपयुक्त हुने धारणा राख्दै मन्त्री थापाले तर यसको निधो गर्न केही समय लाग्ने बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री थापाले अब चुनाव हुन्छ कि हुदैँन भने अलमलमा नपरी तयारी अवस्थामा रहन पार्टी कार्यकर्तालाई आग्रह गरे । सबै नेपालीको घरमा एउटा दुहुनु गाई हुनुपर्नेजस्ता विपीले देख्नुभएको सपनालाई नयाँ पुस्ताले अघि बढाउनुपर्ने मन्त्री थापाको धारणा थियो ।
पूर्व सभामुख तारानाथ रानाभाटले विपीले देखाएको बाटोमा हिँड्न सकिएमा मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि गरेको ठहरिने विचार व्यक्त गरे।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्णबहादुर केसीको अध्यक्षतामा भएको सो कार्यक्रममा काँग्रेस नेताहरु शुक्रराज शर्मा, खेमराज पौडेल र कोषाध्यक्ष लक्ष्मी पाण्डेले विपीले गरेका योगदानका बारेमा चर्चा गरे।
मन्त्री थापाले आजै पोखराको फुलबारीमा रहेको मनिपाल शिक्षण अस्पतालको पनि निरीक्षण गरेका छन् ।