arrow

प्रेस स्वतन्त्रता र नागरिक अधिकार रक्षाका लागि गठबन्धन दलहरुको प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ८ मंगलबार
deuba-prakash-ajay.jpg

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता बिना लोकतन्त्रको कल्पना गर्न नसकिने बताएका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिले दीपावली, नेपाल सम्बत् तथा छठ पर्वका अवसरमा मंगलबार काठमाडौंमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले लोकतन्त्रको विकास र सुदृढीकरणका लागि स्वतन्त्र र निष्पक्ष सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहने बताए ।

देउवाले प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि गठबन्धन दलहरु पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै आवधिक निर्वाचनले जनतालाई राज्य शक्तिको केन्द्रमा पुर्‍याउने उल्लेख गरे । उनले आगामी मङ्सिर ४ गते हुने निर्वाचनपछि देश आर्थिक विकास र समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले सुशासन, स्थिरता र संविधानको रक्षाका लागि सत्तारुढ दलहरुको गठबन्धन बनेको बताए ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले आगामी निर्वाचनले संविधानको चिरहरण गर्ने प्रतिगामीहरुलाई अग्रगामी शक्तिहरुले पाखा लगाउने दाबी गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष हरिहर विरही, नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोखरेल, वर्तमान अध्यक्ष शिव लम्साल, नागरिकका हक र अधिकार रक्षाका लागि प्रेस स्वतन्त्रता अनिवार्य रहेकोमा जोड दिंदै आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिको जित आवश्यक रहेको औंल्याए । उनीहरुले लोकतन्त्र र संविधानको रक्षाका पक्षमा कलम चलाउन संचारकर्मीहरुलाई आग्रह गरे । 

कार्यक्रममा युनियनका उपाध्यक्ष नकुल अर्याल र युनियनका महासचिव दिलिप पौडेलले आफ्नो भनाइ राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ