वीरगन्ज। वीरगन्ज उप–महानगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद कोइराला आफ्नै सहकर्मीबाट कुटिएका छन्। कार्यकक्षमा काम गरे बसेका कार्यकारी अधिकृत कोइरालालाई उपमहानगरपालिकाका प्रशासकिय अधिकृत रामदयाल यादवले अपरान्ह १ बजे आसपासमा कुटपिट गरेका हुन्। अधिकृत यादवको कुटाईबाट कार्यकारी अधिकृत कोइरालाको अनुहारमा सामान्य घाउखत लागेको छ।
कार्य अवधी थपको सिफारिस गराउन अधिकृत यादवको कार्यकक्षमा पुगेका वीरगन्ज उप–महानगरपालिकाको वाहन चालक राजेश क्षेत्रीले पहिले अधिकृत यादवलाई हातपात गरेका थिए। पछि सो विषयमा कुरागर्न कार्यकारी अधिकृतको कार्यकक्षमा पुगेका यादवले कोइरालामाथि नै हातपात गरेको कर्मचारीहरुले बताएका छन्। चालकलाई पठाएर कुटन लगाएको आरोप लगाउँदै कार्यकारी अधिकृतको कोठामा पुगेका यादवले कुराकानीकै क्रममा आक्रमण गरेको कर्मचारीहरुको भनाई छ।
कार्यकारी अधिकृत कोइरालाले कार्यकक्षमा बसि काम गरिरहेका बेला यादवले एक्कासी आक्रमण गरेको बताए। उनले के कारणले अधिकृत यादवले आक्रमण गरेकोवारे आफुलाई कुनै जानकारी नभएको बताए। घटना लगतै जिल्ला प्रशासन कर्यालय पर्सामा पुगि वस्तुस्थितीबारे पर्साका प्रमुख जिल्ला अधिकारी र स्थानिय विकास मन्त्रालयलाई जानकारी गराएको कार्यकारी अधिकृत कोइरालाले जानकारी दिए। उनले घटनापछि उप–महानगरपालिकाका सम्पुर्ण कर्मचारी र कर्मचारी युनियनका पदाधिकारीहरुसंग बैठक बसी स्वायत शासन ऐन अन्तर्गत अधिकृत यादवलाई कार्यवाही गर्ने र यसका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा सार्वजनिक अपराध मुद्दा दर्ता गराउने निर्णय गरिएको बताए। अधिकृत यादवले भने कुनै प्रतिकृया दिएनन्।
यसै बीच कार्यकारी अधिकृत कोइराला माथि हातपात गर्ने कार्यमा संलग्न रहेकाहरुलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय पर्साले प्रहरीलाई लिखित आदेश दिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए। उनले घटनामा संलग्न रहेकाहरुलाई पक्राउ गरी प्रहरीले जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएपछि छानविन गरी अभियोग तय गर्ने बताए। घटनापछि अधिकृत यादव फरार रहेको र उनको खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
उप–महानगरपालिकाका कर्मचारी बीचमा भएको कुटाकुटको विषयलाई लिई कर्मचारीले कार्यालयको सेवा बन्द गरेपछि काम लिएर कार्यालय पुगेका सेवाग्रही मारमा परेका छन्। कर्मचारीले कार्यालयको कामकाज अवरुद्ध पारेपछि विभिन्न काम लिई कार्यालय पुगेका सेवाग्रही काम नगराई नै घर फर्किन बाध्य भएका थिए।