वीरगन्ज। बाराको छाता पिपरामा रहेको त्रिवेणी फिड इण्डष्ट्रिज उद्योगमा आगालागी भएको छ। गढीमाइ नगरपालिका वडा नम्बर ८ छातापिपरामा रहेको कुखुराको दाना उत्पादन गर्ने उद्योगमा बिहान पौने ६ बजे तिर विद्युत सर्टर भएर आगलागी भएको हो। उद्योगको स्टोर शाखामा भएको आगलागीबाट करिब ६० लाख रुपैया मुल्य बराबरको मेशीनरी सामान जलेर क्षति भएको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय सीमराका प्रहरी निरिक्षक गोविन्द कार्कीले बताए।
आगलागीबाट स्टोर शाखामा रहेको मेशीनरी स्पेयर पार्टस, रबर लगायतका सबै सामान जलेर खरानी भएको प्रहरी निरिक्षक कार्कीले जानकारी दिए। शनीवार उद्योगमा विदाको दिन भएकाले स्टोर किपर नआएका कारण क्षतिको यकिन विवरण भोलि मात्रै थाहा हुने उनले बताए। उद्योगमा लागेको आगो वीरगन्ज र कलैयाबाट गएका दुइ वटा वारुण यन्त्रले आधा घण्टामा निभाएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।