arrow

लेडले बच्चाहरुको आईक्युमा असर गर्छ, सचेत र सजग बनौं : ‘लेडम्यान’ प्रा. टि वेंकटेश (भिडियो)

logo
प्रकाशित २०७३ भदौ २५ शनिबार
Prof.-T.jpeg
काठमाडौं । भारतमा ’लेडम्यान’ नामले परिचित वैज्ञानिक एवं प्राध्यापक डाक्टर टि. वेंकटेस नेपाल आएका छन्। केही समय अगाडि भारतीय चाउचाउ म्यागीमा लेड रहेको तथ्य बाहिर आएपछि भारत लगायत म्यागी प्रयोग हुने देशहरुमा सनसनी मच्चिएको थियो । उक्त कुरा बाहिर ल्याएर जनस्वास्थ्यमा सचेतनाको आवाज फैलाउने प्रमुख अभियन्ता हुन् उनी ।
 
प्रोफेसर वेंकटेस ‘क्वालिटि काउन्सिल अफ इन्डिया’ का प्राध्यापक सल्लाकार हुन् भने उनी विभिन्न ५० मुलुकहरूमा लेड पोइजनिङ विरूद्ध काम गर्ने संघ–संस्थाहरूसँग आवद्ध पनि रहेका छन्। यसका अलावा उनले ‘इन्डियन सोसाइटी फर लेड अवेरनेस एण्ड रिसर्च’ लगायत संस्थाहरूको समेत नेतृत्व गर्दै आएका छन् ।
 
नेपालस्थित बार्योयाड ल्याब्रोटरिजको आव्हानमा स्वास्थ्य प्रयोगशालाको स्तरीयता र व्यवस्थापन सम्बन्धि कार्यक्रममा सहभागी हुनको लागि वेंकटेश नेपाल आएका छन्। पछिल्लो समय वैंकटेसको नेतृत्वमा भएको निरन्तर अभियानका कारण भारतमा उत्पादन हुने विभिन्न सामग्रीमा लेडको प्रयोग न्यून हुँदै गएको छ। उनको यही अभियानको कारणले गर्दा पनि पछिल्लो समय लेड प्रयोग हुनसक्ने कुनैपनि बस्तु आयात गर्दा लेडका मात्राको विषयमा सचेतना अपनाउन थालिएको छ ।
 
विशेषगरी बच्चाले प्रयोग गर्ने खेलौना, पेन्सिल, घर रंग्याउने रंङ, जंकफूडलगायतमा लेडको प्रयोग गरिएको हुन्छ। यसैगरी लिपिस्टिक, आइस्याडोलगायतका अन्य कस्मेटिक सामग्रीमा पनि बढी मात्रामा लेडको प्रयोग हुने गरेको छ । 
 
कस्मेटिक सामग्रीमा २० पीपीएम लेड राख्न अनुमति दिइए पनि विभिन्न ब्रान्डले अत्यधिक मात्रामा यसको प्रयोग गर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएको छ। यसरी बढी मात्रामा प्रयोग गरिएको लेडले विशेषगरी गर्भवती र बालबच्चामा बढी असर पुर्या‍उने गरेको पनि विभिन्न अध्ययनहरूले देखाएको छ । गर्भवतीले यस्ता सामग्रीको प्रयोग गर्दा गर्भनाल र दूध ग्रन्थिमार्फत् प्रवाह हुने र भ्रुण विकासलाई असर गर्ने भएकाले गर्भवती र दूध चुसाउने महिलाका लागि लेड बढी हानिकारक रहेको जानकारहरू बताउँछन् ।
 
लेड एक प्रकारको धातु हो जुन मानव शरीरका लागि अति नै हानिकारक बस्तु हो। लेड मानव शरीरमा प्रवेश गरेपछि यसको सकारात्मक पक्ष केही पनि नरहेको बताइन्छ । यसले मानव स्वास्थ्यमा मात्रै बिषको रुपमा काम गर्ने चिकित्सकहरू बताउँछन्। यसै विषयमा लेडमुक्त समाजको परिकल्पना गरी विश्वव्यापी अभियानमा जुटेका भारतीय प्रोफेसर वेंकटेशसँग हाम्राकुरा डटकमले लिएको अन्तर्वार्ताको मुख्य अंश
 
लेड पोईजनिङ भनेको के हो ?
लेड पोइजनिङ भन्नाले कुनै पनि लेडयुक्त रसायन अथवा लेडकै कारण हुने एक किसिमको पोइजनिङ हो । उदाहरणको लागि ब्याट्री, पेन्ट उद्योगमा काम गर्ने मानिसमा प्रत्यक्ष रुपमै लेड वा लेडयुक्त रसायन देखा पर्छन। जब उनीहरुमा यसको मात्रा देखापर्छ तब त्यो उनीहरूको शरीर प्रणालीमा प्रवेश गर्दछ। लेड प्रणालीमा प्रवेश गर्ने तीनवटा बाटो छन्। एउटा भनेको श्वासप्रश्वास हो, पेट्रोलियम पदार्थमा पनि लेड हुन्छ। जब हामी, विशेषगरी बालबालिकाले श्वास लिन्छन् तब लेड श्वासप्रश्वास प्रणाली माध्यमबाट उनीहरूको फोक्सोमा प्रवेश गर्ने गर्दछ । 
 
लेड प्रवेशको अर्को बाटो भनेको मुख हो। कहिलेकाहीँ हामीले खाने खाना लेडले प्रदुशित भएको हुन्छ। उदाहरणको लागि हामी बेसार प्रयोग गर्छौ। दुर्भाग्यवश बेसारलाई राम्रो रंग दिने बहानामा लेड क्रोमेट प्रयोग गरिन्छ। लेड क्रोमेटले बेसारको रंग राम्रो बनाउनका साथै लामो समयसम्म बिग्रिन दिंदैन्। उक्त लेडयुक्त बेसार हाम्रा अधिकांश खानामा प्रयोग भैरहेका हुन्छन्। भारतको अधिकांश ठाउँमा हरेक खाना परिकारमा बेसारको प्रयोग हुन्छ।
 
हामी सबैलाई थाहा छ जब हामी बुढो हुन्छौं हामीलाई तन्नेरी देखिन मन लाग्छ त्यसैले हामी विभिन्न मेकअप गर्छौ। तर, अधिकांश कस्मेटिक समानहरुमा लेडको प्रयोग भेटिन्छ। कपाल रंगाउन प्रयोग हुने रंगहरुमा लेड मिसाईएको हुन्छ। त्यसैगरी, विवाहित महिलाहरुले प्रयोग गर्ने सिन्दुरमा पनि लेडयुक्त रसायनको प्रयोग हुन्छ। पहिला पहिला सिन्दूर बनाउन प्राकृतिक रंगहरुको प्रयोग हुने गथ्र्याे तर कृतिमतासँगै लेडको मात्रा पनि बढी हुँदै आएको छ। 
 
विभिन्न चार्डपर्वमा हामी रंगहरुको प्रयोग गर्छौँ, जसमा पनि लेडको प्रयोग हुन्छ । भारतमा उत्पादन हुने रंगहरु मध्ये ९९ प्रतिशत पेन्ट्स लेडयुक्त रहेको पाइएको छ। अहिले प्रयोग हुने रंगहरुमा लेडको मात्रा ४५ हजार पीपीएमसम्म पुगेको पाइन्छ जहाँ अमेरिकी स्टान्डर्डस् अनुसार लेडको मात्रा ९० पीपीएम भन्दा माथि हुनुहुन्न भन्ने छ।
 
अधिकांश पेन्ट्सहरु, विशेषगरी पहेलो पेन्ट्स जुन स्कुल बस र खेल मैदानमा प्रयोग गरिन्छ त्यसमा सबैभन्दा बढी लेडको मात्रा हुनेगरेको छ। मलाई थाहा छैन किन बच्चाहरुलाई लेडयुक्त रंगको नजिक राखिन्छ ? पेन्टसले मात्र होइन, पछिल्लो समय ‘च्यवनप्रास’ जस्ता केही पौराणिक आयुर्वेदिक औषधिमा पनि लेड भेटिएका छन्। अहिले त मानिसहरू प्रत्येक दिन लेडसँग नजिक हुने गर्दछन् । कसरी भने पिउने बोतलको पानीमा फ्री प्रोटिन, नो कार्बोहाइड्रेड भनेको हुन्छ तर, काहीँ र कहिलै पनि तिनीहरुले नो–लेड भनेका हुँदैनन्।
 
त्यस्तै, पुरानो पाइपलाइनका कारण आजपनि वासिङ्टनको केही ठाउँमा पिउने पानीमा लेड भेटिएको छ । पुरानो खानेपानीका पाईपहरुमा लेड प्रयोग भएको पाइन्छ। त्यसैले हामीले अहिले के सोच्नुपर्ने अवस्था सिर्जना भएको छ भने ‘के हामीले पिउने पानी सुरक्षित छ ? के बच्चाहरुले खेल्ने माटो सुरक्षित छ ?’ हाम्रो वायूमा समेत लेड मिसिईरहेको छ । हामीले हिँड्ने गरेको सडकछेउमा रहेका ब्याट्री बनाउने वा मर्मत गर्ने ठाउँहरुबाट लेडका कणहरु बातावरणमा मिसिरहेका हुन्छन् । यो सबै हाम्रै कमजोरीको कारणले गर्दा भएको हो । 
 
लेडले मानव शरीरलाई कसरी असर गर्दछ ?
लेडको मानव शरीर वा जनावरमा कुनै जैविक कार्य हुँदैन । १ सय एमएल रगतमा भएको लेडको थोरै माइक्रोग्राम पनि खतरनाक हो। यदि यो एकपटक हाम्रो शरीरमा छिर्यो भने शरीरको सबै ग्रन्थीहरुमा जान्छ । शरीरमा प्रवेश गरेपछि यो मृगौंलामा जम्मा हुन्छ, हड्डीमा जम्मा हुन्छ अनि दिमागमा जान्छ । यदि २ देखि ५ माइकोग्राम लेड १ सय एमएल रगतमा भेटियो भनेपनि यसले डिएनए संरचनामा परिवर्तन ल्याउन सक्छ ।
 
१ सय एमएल रगतमा १० माइक्रोग्राम भन्दा बढी लेड भेटियो भने यसले बच्चाको आईक्यु क्षमता घटाउन सक्छ । मानिसहरु भन्ने गर्छन मेरो पहिलो बच्चा विद्वान छ । तर, दोस्रो बच्चा भने मन्दबुद्दीको, यो भगवानले पनि के दिए । हुनसक्छ उसको दोस्रो बच्चा लेडसँग जोडिएको थियो होला ।
 
सबैभन्दा पहिले महिला र बच्चा लेडबाट बच्नुपर्छ । लेड क्याल्सियमसँग लड्छ । म एउटा मज्जाको कथा सुनाउन चाहन्छु । एकजना महिला हाम्रो अस्पतालमा आइन् । उनी त्यस्तै ३० देखि ३५ वर्षकी थिईन् । उनलाई हड्डीको समस्या थियो । जब उनी बस्थिन् उनलाई पुनः उठ्न गाह्रो हुन्थ्यो । उनलाई डक्टरले ओस्टियोप्रोससको डाइग्नोसिस गरिरहेको थियो जुन रोग प्राय बुढो अवस्थामा लाग्ने गर्दछ । अनुसन्धान पछि मात्रै पत्ता लाग्यो उनको रगतमा लेड बढी रहेको रहेछ ।
 
एउटा लेडले हजारौं काल्सियमसँग लड्न सक्छ । के मानिसहरुलाई थाहा छ उनीहरु लेडसँग बाँच्दैछ भनेर ? आजभोलि बच्चाहरुको बेडरुममा मज्जाले रंग लगाईएको हुन्छ । तर, रंगको धुलो रुपमा कोठामा फैलिँदा बच्चाको शरीरमा असर गर्छ जसले उसको आईक्युमा असर पर्ने गर्दछ । यसले बच्चाको बौद्धिक क्षमतासँगै सिक्ने र सुन्ने क्षमतालाई पनि असर गर्दछ ।
 
आज हामी लेड खुल्ला रुपले प्रयोग गरिरहेका छौं । लेड प्रयोगमा कुनै छेकबार छैन । लेड संसारकै एक नम्बर विषादीयुक्त बस्तु हो । विश्वको कुरा गर्ने हो भने चीनमा उत्पादन हुने केही औंषधिहरुमा हामी अत्याधिक मात्रामा लेडको प्रयोग भएको देख्छौं ।
 
नेपालमा मानिसहरु घरमा युपिएस ब्याट्री प्रयोग गर्छन् । ब्याट्रीलाई कोठाको कुनै कुनामा राखिएको हुन्छ र कोठा सफा गर्दा ब्याट्रीबाट निस्कने लेड अक्साइडको धुलो कोठाभरी फैलिने गर्छ । के मानिसहरु लेड अक्साइड उनीहरुको बच्चामा देखा पर्छ भन्ने कुरामा सचेत छन् ? चीनको ‘बोउबोउसेन’ नामक औंषधि शतप्रतिशत लेडको रुप हो । 
 
मैले यो काठमाडौंमा पनि किनेको छु । म किन यो कुराप्रति चाँसो देखाउँदैछु भने सुरुवाती दिनमा आयुर्वेदिक वा पुराना उत्पादनमा लेडको प्रयोग गरिँदैनथ्यो । मेक्सिको र साउथ अमेरिकी औंषधिहरुमा पनि लेड रहेको हुन्छ । त्यसैले लेड संसारभरका औंषधिमा समेत प्रयोग गरिन्छ भन्न सकिन्छ । तर, मानिसहरु यो कुराप्रति सचेत छैनन् र यसलाई थाहा पाएपनि उनीहरुले वेवास्ता गरिरहेका छन् ।
 
एकपटक ललितपुर सडकमा हिँडिरहँदा बच्चाहरु स्कुल जाँदै थिए । त्यतिकैमा मैले दुईजना बच्चासँग सोधे ‘तिमीहरु पेन्सिलले कसरी लेख्छौं ?’ मैले उनीहरुको पेन्सिल हेर्न मागे । पेन्सिलको एक भाग लेख्नलाई र अर्को भाग चुस्नलाई प्रयोग गरिएको थियो । पेन्सिलको लेख्ने भागमा लेड हुन्न तर पेन्सिलमा रंग हुन्छ जसमा लेड रहेको हुन्छ ।
 
नेपालमा लेडयुक्त पेन्ट्स बन्देजको निर्णयले म धेरै खुशी छु । मलाई थाहा छैन पेन्ट्स नेपालमै उत्पादन हुन्छ वा छिमेकी राष्ट्र भारत र चीनबाट आयात गरिन्छ । तर, जब हामी पेन्ट्स आयात गर्छौ भने के हामीसँग लेड फ्री वा लेडको मात्रा ९० पिपिएम भन्दा तल छ भनेर जाँच्नलाई कुनै संयन्त्र छ ?
 
लेडको अनुपयुक्त प्रयोग बिरुद्ध कसरी लड्न सकिन्छ ?
लेड पोइजनबाट मानिसलाई बचाउँने भनेको शिक्षा हो । त्यसको लागि मिडिया लगायत विभिन्न श्रोत र साधनको प्रयोग हुनुपर्छ । ६० प्रतिशत समस्या शिक्षाबाट हल हुनसक्छ । अर्को भनेको बच्चाहरुलाई स्कुलमा शिक्षा प्रदान गरेर पनि लेड पोईजनबाट सबैलाई बचाउन सकिन्छ ।
 
मलाई खुशी यसमा लागिरहेको छ कि अब ‘सम्यक डाइग्नोष्टिक’ले नेपालमा यसको परीक्षण गर्न शुरु गर्नेछ । सम्यक डाइग्नोष्टिकलाई धन्यवाद दिन चाहान्छु । स्कुलमा गएर विद्यार्थीहरुलाई विभिन्न चित्रहरुको प्रयोगबाट लेडको श्रोतबारे जानकारी दिने । त्यस्तै लेड शरीरमा कसरी प्रवेश गर्छ र प्रवेश पश्चात् यसले के गर्छ भन्ने बारेमा ज्ञान प्रदान गर्नुपर्छ ।
 
लेड पोइजनको उपचार अमेरिकामा एकदमै महंगो छ । बच्चाको एउटा लेड पोइजनको उपचार गर्नलाई लगभग २ हजार अमेरिकी डलर लाग्दछ । यो भनेको विकासशील मुलुकका एक परिवारको एक वर्षको बजेट हो । लेड पोइजनको उपचार महंगो मात्र होइन, यसको उपचार कतिपय राष्ट्रहरुमा उपलब्ध छैन । धेरै लेड पोइजन विषयहरुलाई बेवास्ता गरिँदैछ ।
 
लेड पोइजनबाट टाढा रहन अपनाउनु पर्ने माध्यम भनेको चेतना हो । दोस्रो भनेको हामीलाई केही केन्द्रहरुको आवश्यकता पर्दछ जहाँ गएर कसैले रगतमा लेड छ वा छैन भनेर थाहा पाउन जाँच्ने सुविधा होस् ।
 
तेस्रो भनेको यो मुलुकमा हामीलाई प्रयोगशालाको सुविधा चाहिन्छ । कम्तिमा पनि काठमाडौंमा दुईवटा र अन्य प्रमुख शहरमा एक ठाउँमा मात्रै भएपनि रगतमा लेड जाँच्ने सुविधा हुनुपर्छ । लेड पोइजनिङलाई पुरै रोकथाम गर्न सकिन्छ । अन्य कुनै पनि रोगलाई शतप्रतिशत रोकथाम गर्न सकिँदैन ।
 
सरकार, स्वस्थ्य क्षेत्रका अधिकारी र स्थानीयले संयुक्त रुपमा उपलब्ध भएको सुविधा बारे बुझ्नुपर्छ । केही विदेशी मुलुकमा रहेको ल्याबले एउटा ब्लड लेड जाँच गरेको १ हजार २ सय देखि २ हजार ६ सयसम्म शुल्क लिने गर्दछ । भारतमा ब्लड लेड मात्रा जाँच गरेको शुल्क ३ सय ७० रुपियाँमा झारिएको छ । यदि यसो भएमा ५० प्रतिशत शुल्क सरकार अथवा कुनै गैर–सरकारी संस्थाले घटाए ५० प्रतिशत संक्रमित व्यक्ति आफैले तिर्न सक्छन् ।  
 
नेपालमा धेरै मानिसहरु खुम्बु क्षेत्रदेखि सगरमाथा बेस क्याम्पसम्मको पदयात्रामा जाने गर्छन् । त्यहाँ जानेहरुले धेरै ड्राइ ब्याट्री बोक्ने गर्छन् । के ती ब्याट्रीहरु फर्केर आउँदैछन् वा उतै छोडिदैछन् । यो सबै समस्या हुन् जुनलाई समयमै रोकथाम गर्नुपर्छ । त्यसको लागि राम्रो चेतना चाहिन्छ ।
 
तपार्इँलाई लेड पोईजनिङबारे अनुसन्धान गर्न के कुराले उत्प्रेरित गर्‍यो ?
म यसबारे सबै भन्छु जुन २५ वर्ष अगाडिबाट सुरु भयो । जब म यूएस मेडिकल कलेज बेङ्गोलरमा जीव रसायनको प्रोफेसर थिए, एकजना मान्छे त्यतिबेला अमेरिकाबाट आएका थिए । ती व्यक्तिले मलाई एउटा प्रश्न गरे ‘भारतमा लेड पोइजनिङको मात्रा कति छ ?’ तर त्यो विषयमा मलाई केही थाहा थिएन । उनले पुनः सोधे तिम्रो जनतामा रगतको लेड मात्रा कति छ ? उनले भने–‘के तिमी बच्चा र महिलामा रगतको लेड मात्रा बारे अध्ययन गर्छौ ?’ ‘यदि कसैले अगुवाई लिन्छ भने गर्छु,’ मैले भने । ‘म गर्छु र खर्चको व्यवस्था पनि गर्छु,’ उनले भने । मैले भने, ‘म एउटाले मात्र गर्न सक्दिन, त्यसको लागि बहुकेन्द्र अध्ययनको आवश्यकता पर्छ ।’
 
भारतको सातवटा शहरमा हामीलाई जर्ज फाउण्डेसनका डाक्टर अब्राइम जर्जबाट सुविधा प्रदान गरियो । हामीले लेड फ्री प्रोजेक्ट बनायौं । त्यतिबेला एडमिडल डेसन प्रोजेक्टको अध्यक्ष थिए । हामीले २३ हजार बच्चाहरुको ब्लड लेड लेबल जाँच गर्यौं । ५ सय ३५ बच्चाहरुमा लेडको मात्रा अत्याधिक देखिएको थियो र त्यसपछि हामीले सरकारलाई दबाब दियौं ।
 
अब्राइम जर्ज, एडमिडल डेसन र मेटो वासिङ्टनले विश्व बैंकका अध्यक्षसामु हामी भारत, पाकिस्तान, नेपाल आदि जस्ता विकासशील मुलुकका बच्चाहरुलाई बचाउन चाहान्छौं भन्ने प्रस्ताव राखे । अध्यक्षको किन भन्ने प्रतिप्रश्नको जवाफ दिँदै टोलीले भने ‘सबैले लेडयुक्त पेट्रोल प्रयोग गरिरहेका छन् ।’ त्यसको परिणाम स्वरूप सन् २००० को मार्चमा भारतको सबै ठाउँमा लेडमुक्त पेट्रोल आयो ।
 
सन् २०११ मा म काठमाडौं आएँ । त्यसबेला हामीलाई अलिकति पेट्रोल चाहिएको थियो तर लेडमुक्त पेट्रोल । काठमाडौंको कुनै पेट्रोल पम्पमा लेडमुक्त पेट्रोल पाइएन । सबै लेडयुक्त पेट्रोल थिए । मैले कहाँबाट ल्याउनु हुन्छ पेट्रोल भन्दा उनीहरुले भारतबाट भन्ने जवाफ दिए । भारतले आफ्नो लागि लेडमुक्त पेट्रोल बनाउने र अन्य छिमेकी राष्ट्रलाई लेडयुक्त पेट्रोल सप्लाई गर्यो‍ जुन कुरो आफैमा आश्चार्य चकित पार्ने थियो ।
 
...र अन्तमा
धेरै बच्चाहरू लेड पोइजनिङका कारण मर्ने गरेका छन् । के हामीले यसमा केही गर्न सक्दैनौ ? धेरै मानिसहरू निर्दोष छन्, हामीले तिनीहरूलाई सहयोग गर्नुपर्छ, शिक्षित बनाउनु पर्छ । तर यो एकल व्यक्ति वा संस्थाबाट सम्भव छैन । सबै मानिसहरुले लेड पोइजनिङ बारे बुझ्नुपर्छ ।
 
हाम्रो सर्टको बटम जुन टल्किन्छ त्यसमा पनि लेड रहेको हुन्छ । गरगहना, प्लास्टिक भाडाहरु, प्लास्टिक पाइप सबैमा लेड हुन्छ । यदि हामी बौद्धिक समाज, उपलब्धिमुलक समाज चाहन्छौ भने हामीले लेडसम्बन्धि चेतना जगाउन आवश्यक छ ।
 
यो सम्भव छ । विश्व स्वस्थ्य संगठन सर्वसुलभ मूल्यका साथ उपचार उत्पादन लिएर आउँदैछ । विभिन्न मुलुकमा संयुक्त राष्ट्र संघ, विश्व जल प्राधिकरण, मिनी वाटर प्युरिफाइङ सिस्टमहरु समेत पानीमा हुने लेडसँग सरोकार राख्न थालेका छन् । यसमा हामी पनि लेडमुक्त समाजको परिकल्पनामा जुटौं भन्न चाहन्छु । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ