पाँचथर। पाँचथर सरदमुकाम फिदिम वजारमा रहेका मासु पसलको आज अनुगमन गरिएको छ । अनुगमनका क्रममा अधिकांश मासु पसलहरु मापदण्ड विपरित संचालन भइरहेको पाइएको अनुगमन समितीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण वस्नेतले वताए ।
वस्नेतले आवश्यक मापदण्ड समेत पालना नगरेका ती मासु पसलहरुलाई एक हप्ता भित्रमा मापदण्ड अनुरुप संचालन गर्न समितीले निर्देशन दिएको जानकारी दिए । पसलहरु नगरपालिका,घरेलु,पशु सेवा कार्यालय, उद्योग वाणिज्य संघ लगायतका सम्वन्धित निकायमा दर्ता हुनुपर्ने प्रावधान रहेपनि अधिकांश पसलहरु विना दर्ता संचालन भइरहेको पाइएको टोलीमा सहभागि जिल्ला पशु सेवा कार्यालय पाँचथरमा प्रमुख डाक्टर मोगल शाहले वताए ।
त्यस्ता पसलहरुलाई यथाशक्य सम्वन्धित निकाय बाट दर्ता गर्न र आवश्यक मापदण्ड पूरा गरेर मात्रै पसल संचालन गर्ने, नभए पसल वन्द गरिदिने चेतावनी दिएको उनले वताए । खुल्ला ठाउँमा भुईमा प्लाष्टिक विच्छ्याएर मासु विक्री गर्दे आएका मासु पसलेहरु पटक पटकको अनुगमन पछि भने केहि सुधार गरेको पाइएको छ । तर पनि पसलमा सरसफाई नदेखिएको,झिँगा भन्किरहेको,लामो समय सम्म विक्री नभएको मासु विक्री गरिरहेको पाइएको हो ।
जिल्लामा अनुगमन गरेपनि त्यो अनुगमन भने प्रभावकारी नभएको उपभोक्ताहरुले गुनासो गर्दे आएका छन् । देखावटी र मौसमी अनुगमनले उपभोक्तालाई केहि पनि राहात नहुने उनीहरुको भनाई छ ।