arrow

राजतन्त्र जनविश्वासको धरातलमा आउनसक्छ : कमल थापा

संविधान संशोधनमा परामर्श भएको छैन, आँखा चिम्लेर दस्तखत गर्दैनौं

logo
प्रकाशित २०७३ भदौ २५ शनिबार
kamal-thapa-new-surkhet.jpeg
सुर्खेत । राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले राजसंस्था फर्किन सम्भव नभएको बताएका छन् । 
 
मिडिया नेपाल सुर्खेतले शनिबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले जनताले चाहेमा र जनताको विश्वासको धरातलमा आउनसक्ने भएपनि अहिले त्यो सम्भव नभएको बताए । 
 
सम्मेलनमा संचारकर्मीहरुले राजसंस्था फर्किन्छ ? भनेर सोधेका थिए । यस्तै, अध्यक्ष थापोले राप्रपा नेपाल र राप्रपाबीचको पार्टी एकीकरणका सन्दर्भमा खुलेर कुरा गर्दै राप्रपाले पार्टीको सिद्धान्त भन्दा सत्तालाई प्राथमिकता दिएकाले एकीकरणको ढोका बन्द हुन पुगेको सुनाए । 
 
समसामयिक विषयमा कुरा गर्दै अध्यक्ष थापाले दलहरुबीच सहमति जुट्न नसके संविधान कार्यान्वयनमा जटिलता आउने बताए । पछिल्लो समय दलहरुबीच बढेको तीक्तताले संविधान कार्यान्वयन गर्न जटिल भएको उनको भनाई छ । 
 
थापाले भने, ‘नयाँ संविधान जारी भएको एक वर्ष पुग्न लाग्दा पनि नेपाली जनतामा आशाभन्दा निरासा बढेको बढ्यै छ ।  नयाँ संविधानले पनि राजीतिक स्थायित्व, दु्रत विकासको वातावरण गराउन सकेन भने त्यो संविधानको औचित्यमाथि नै प्रश्न उठ्ने छ ।’ 
 
दलहरुबीच सहमति भएन भने संविधान संशोधन समेत हुन नसक्ने बताउँदै अध्यक्ष थापाले आफूहरुको छलफल, परामर्श विना ल्याइने संविधान संशोधनसम्बन्धि प्रस्तावमा आँखा चिम्लेर दस्तखत नगर्ने समेत बताए । 
 
मधेसको समस्या समाधान गर्न राप्रपा नेपाल तयार छ, थापाले भने, ‘मधेसवादी दलले र सरकारले स्पष्ट खाकासहित संशोधन प्रस्ताव नल्याएसम्म हामी सहयोग गर्न सक्दैनौं ।’ 
 
संविधान संशोधनका लागि दुई तिहाई आवश्यक पर्ने र त्यसका लागि प्रतिपक्षी एमालेसहित राप्रपा नेपालको सहमति चाहिने हुँदा सरकारले कुनैपनि दलसंग संविधान संशोधनका लागि पहल नथालेको समेत अध्यक्ष थापाले टिप्पणी गरे । 
 
प्रधानमन्त्री पुष्पकमल दाहाल भारत जानुअघि संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराउने भनिएपनि परामर्श नगरी ल्याइएको प्रस्तावले समस्या झन बढ्ने थापाको भनाई छ । प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा भाग लिन दैलेख जाने क्रममा थापाले सरकारले ल्याउन लागेको संशोधन प्रस्तावबारे अहिलेसम्म प्रतिपक्षी दलसँग परामर्श नगरिएको सुनाएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ