काठमाडौँ । एमाले उपाध्यक्ष भीम रावलले संविधान सर्वस्वीकृत संविधान हुन नसक्ने बताएका छन् ।
काठमाडौँ–वाग्मती अञ्चल सम्पर्क कमिटीले गरेको ‘विशेष महिला भेला तथा प्रशिक्षण कार्यक्रम’मा बोल्दै नेता रावलले भने, ‘सर्वस्वीकृत संशोधन भए कार्यान्वयन हुने हो भने संसद्मा राजतन्त्र चाहियो, सङ्घीयता नचाहिने शक्ति पनि छन् । उनीहरुको मागलाई कसरी सम्बोधन गर्ने रु त्यसैले सर्वस्वीकृत संशोधन हुन सक्दैन ।’
सर्वस्वीकृत भएपछि मात्र संविधान कार्यान्वयन हुन्छ भनेर भ्रम फैलाएको बताउँदै रावलले सर्वस्वीकृत भन्नु कार्यान्वयन नहुनु हो –भने ।
रावलले प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मार्फत ल्याइएका नयाँ योजना संविधानको नियमविपरीत ल्याएको सुनाए । ‘प्रधानमन्त्रीज्यूले संविधानको कुन धारा, नियमअनुसार ल्याउनुभएको हो”, उनले भने, ‘बिना बजेट ल्याइएका योजना सपना बाँड्ने काम भएको छ । ल्याइएका योजनाको बजेट कहाँबाट ल्याउने हो ? प्रधानमन्त्रीलाई प्रश्न सोधेका छौँ ।’
नेता रावलले स्थानीय तहको निर्वाचन नगरे सरकारविरुद्ध भन्डाफोर अभियान सञ्चालन गर्ने चेतावनी दिएका छन् । आगामी चैतमा सरकार परिवर्तन र निर्वाचन एकैसाथ हुन नसक्ने ठोकुवा गर्दै उनले अहिलेको गठबन्धन सरकारले चुनाव गर्न नचाहेको जिकिर गरे ।
‘संविधान कार्यान्वयन नै नगरी २०७४ माघ ७ को म्याद सकाउने खेल हुँदैछ’ उनले भने, ‘त्यसपछि डाडुपन्यूँ मेरै हातमा हुन्छ भनेर सपना देख्न थालेका छन्, एमालेले त्यो सपना पूरा हुन दिने छैन ।’
उनले तीनवटै निर्वाचन गरेर जनतालाई सम्पन्न गराउने र उपलब्धिलाई रक्षा गर्न एमाले दृढ भएर लाग्ने उल्लेख गरे । एमालेलाई केहीले भारत विरोधी भनेर आरोप लगाइरहेको भन्दै उनले भने, ‘एमाले कुनै देश र मधेस विरोधी पार्टी होइन । नेपालीप्रेमी पार्टी हो ।’
चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा संविधान निर्माण गरिएको प्रसङ्ग उल्लेख गर्दै उनले केही विदेशी राजदूतले संविधान निर्माण गर्दा संसद् सचिवालयका कर्मचारीलाई धम्काएको बताए । उनले भारत र नेपालबीच भएको सन् १९५० को सन्धि गर्दा नै अव्यावहारिक भएकाले पुनरावलोकन गर्नुपर्नेमा जोड दिए ।