काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं स्वास्थ्य मन्त्री गगन कुमार थापाले उपचार खर्च नपाएर आत्महत्या गर्नेको पीडा कुनै विशिष्ठ व्यक्तिको भन्दा सानो नरहेको बताएका छन्। नेपाल इन्जिनियर्स एशोसिएसनको आसन्न कारेयकारिणी परिषदको लागि प्रचारप्रसार गर्ने क्रममा लोकतन्त्रवादी इन्जिनियर्स समुहले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै युवा नेता थापाले विपी जयन्ती मनाईरहँदा विपीकै सिद्धान्तलाई चुनौती दिनेगरी कुनै नेपालीले स्वास्थय उपचार गर्न नसकी गरेको आत्महत्या विपीका अनुयायीको लागि चुनौतीको विषय बनेको धारणा व्यक्त गरे।
उनले विपीले ‘मेरो जस्तै सबै नेपालीको बस्नको लागि घर होस् । दुध खानको लागि एउटा दुहुनो गाई होस् । विरामी हुँदा उपचार गर्ने अस्पताल र औषधी होस्...’ भन्ने परिकल्पना गरेको स्मरण गर्दै विपी जयन्तीको सप्ताह मनाईरहँदा त्रिवि शिक्षण अस्पतालबाट एउटा किशोरले उपचार नपाएर आत्महत्या गर्नु सिंगो विपीका विचारकहरूका लागि चुनौतीको विषय रहेको धारणा पनि व्यक्त गरे ।
पूर्व उपप्रधानमन्त्री तुलसी गिरीको स्वास्थ्य उपचार गराउने निर्णय मन्त्रिपरिषद्बाट अघि बढ्न नदिएको विषयलाई स्मरण गर्दै नेता थापाले आफूले कसैलाई अपमान नगरेको भन्दै तुलसी गिरीप्रति आफ्नो सम्मान रहँदारहँदै पनि उपचार खर्च दिनु अस्पतालमा उपचारको बोझले आत्ममहत्या गर्ने किशोरप्रति अपमान हुर्ने कारणले रोकेको धारणा राखे। जस जसले सरकारी सुविधाको लागि माग गर्छ उसैलाई सरकारले खर्च बेहोर्दै जाने हो भने यो सरासर जनताप्रतिको धोका हुने भएकोले आफूले सो प्रस्ताव मन्त्रिपरिषद्मा नै रोकेको पनि उनले स्पष्ट पारे । ‘म चाहन्छु कुनै पनि जनताको करबाट उठेको पैसा कसैको व्यक्तिगत खर्चको लागि खर्च नहोस् । त्यसैले मैले त्यो प्रस्ताव मन्त्रिपरिषद्मा नै रोकेको हुँ ।’
फरक प्रसंगमा इन्जिनियर्स एशोसिएसनको विषयमा कुरा गर्दै मन्त्री थापाले अहिलेको निर्वाचनमा विजयी भईन्छ भनेर ढुक्क भएर बस्ने समय नरहेको बताए । बरू भारी मतले जित्नको लागि अबका दिनहरू थप प्रचारप्रसारमा खर्च गर्नुपर्ने भन्दै नेता थापाले प्रत्येक इन्जिनियरले थप ५ जना इन्जिनियर आफ्नो पक्षमा पार्ने गरी सबै आफैं उम्मेदवार जस्तो बनेर प्रचारप्रसारमा लाग्न पनि सुझाव दिए।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले यहाँ उपस्थितहरूको लागि नभएर यहाँ उपस्थित नभएकाहरूलाई लोकतान्त्रिक उम्मेदवारको पक्षमा मत हाल्ने व्यवस्था मिलाउनको लागि सबै इन्जिनियरहरू तयार हुनु पर्ने धारणा व्यक्त गरे । फरक प्रसंगमा नेता पौडेलले नेपालमा इन्जिनियरिङ सम्बन्धि छुट्टै विश्वविद्यालय नरहेको भन्दै त्यस्तो विश्वविद्यालय नेपालमा आवश्यक रहको धारणा राखे।
कार्यक्रममा सांसद रञ्जित कर्ण, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, महामन्त्री कुन्दनराज काफ्ले लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए। कार्यक्रम आगामी ३१ भदौमा हुन लागिरहेको नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनको प्रचारप्रसार गर्ने उद्देश्यले गरिएको थियो । उक्त निर्वाचनमा लोकतान्त्रिक प्यानलबाट हरेराम श्रेष्ठको नेतृत्वमा अन्य व्यक्तिहरूले उम्मेदवारी दिएका छन् । यस अघि लोकतान्त्रिक समूहबाटै दुई प्यानलमा उम्मेदवारी दिएको भएपनि लोकतान्त्रिक प्यानलका धुर्व थापा अध्यक्ष निर्वाचित भएका थिए । तर यस पटक लोकतान्त्रिकका तर्फबाट श्रेष्ठ नेतृत्वको एकल प्यानल रहेको छ।